Saturday, August 22, 2015

एउटा बहुलठ्ठी यात्रा

मलाई थाहा छ, यत्तिखेर घन्टाघरको घडीले रातको १० बजाएको छ। मेरो घडी र घन्टाघरको घडीको समय ठ्याक्कै मिल्छ। तर जिन्दगीको समय कुनैपनि घडीसँग कहिल्यै मिलेन।  
फाट्टफुट्ट चलेका ट्याक्सी र मोटरसाईकल बाहेक सडक सुनसान छ। शहिदगेटमा शहिदहरु दिनरात एकतमासले के नियाल्छन् कुन्नि मलाई थाहाछैन। 
हातमा एउटा पेप्सीको जम्बो बोतल छ। बोतलभित्र भने पेप्सीको साटो पानी र भोड्काको कम्बिनेसन छ।
अक्सर म यसरी ठेगाना बिनाको यात्रा हिडीरहन्छु। तर मलाई प्रष्ट थाहा छ कि अन्तिम ठेगाना भनेको आर्यघाट नै हो। यसर्थ मलाई आर्यघाटसँगको लगाब बहुत ज्यादा छ। 
.........
नगरकोटी भन्थे “डेथ ईज अ टोटल वेस्ट अफ टाईम।” तर म मान्दिन। जन्म र मृत्यु दुई शाश्वत सत्य हुन्। कुनै पनि सत्य समयको बर्बादी हुनै सक्तैन। समयको बर्बादी त भ्रमित जीवन हो। हामी फगत आशाहरुमा जेलिएर भ्रमित जीवन बाँच्न अभिशप्त छौ। आजभन्दा भोली केही नौलो र सुन्दर होला कि भन्ने आशा। हरेक दिन मानिस नयाँ आशा जन्माउछ। जुन दिन मानिससँग आशा हुदैन, उ बाँच्नुको सार हुन्न। नमर्नकै खातिर मानिस आशा संगालिरहन्छ। मलाई थाहाछैन कुमार दाई मेरो कुरा मान्छन् कि नाई ? एनीवे, उनको कुरा म केयर गर्दिन। मेरो कुरा उनी केयर गर्दैनन। मजा यसैमा छ। 
मेरो मोबाईलमा नुसरत एकसुरमा कवाली गाईरहेछ। 
“दिल लेके मेरे हातमे केहेते हे मुझ्से ओ
क्या लोगे ईस्के दाम बताना सही सही”
यस्तो लाग्छ नुसरतले गाईरहँदा दर्शकभन्दा बढी मज्जा उ आफै लुट्छ। 
..........