एकमन उघारेर पर्दा – चियाउन भन्दैछ झ्याल
कतै जल्यो कि सडकछेउ – एक झिल्को लालीगुराँस ?
“लालीगुराँस अजम्बरी चम्पा चमेली, जे भनेनी हुन्छ हजुर म त नेपाली .. ” पल्लो कोठामा रोमी, लक्ष्मी, सोबिता र देवी नाच्नका लागि ताल मिलाउन खोजिरहेथे । यता प्रिन्स गितारमा “रातो र चन्द्र सूर्य” बजाउनको लागि लिड ट्युन गर्न खोजिरहेथ्यो । शिशिर ड्रमसेटको लेग बास मिलाउदैथियो । सन्जीव रातो र चन्द्र सूर्यको रिदम म्याच अप गर्न खोजिरहेथ्यो । कुमार मादलमा ताल मिलाउन खोज्दैथ्यो । अनिल भोकल प्राक्टिस गर्दैथियो । म भने बास गितारको स्ट्रिङ्गस मिलाउदैथिए ।
कहिले पल्लो कोठाको गीतले हामीलाई डिस्टर्व गथ्र्यो त कहिले हामीले बजाएको गितार र ड्रमको भोल्युमले उनीहरुलाई । सानो कक्षाकोठामा हामी रातो र चन्द्र सूर्यको धुन खोजिरहेथ्यौ । केटीहरु लालीगुराँसलाई अझ अजम्बरी बनाउन आफ्नो हात र खुट्टाको चाल मिलाउन खोजिरहेथे । हामी त्यसबेला कक्षा ८ मा पढ्थ्यौ ।
हामी प्राक्टिस गरिरहेको कक्षाकोठाको ढोका बिस्तारै खुल्यो र एउटा मान्छे चुपचाप भित्र छिरेर सर बस्ने चेयरमा बस्यो । त्यो मान्छेले आफ्नो मैलो ज्याकेटको खल्तीबाट बाँसुरी निकाल्यो र बाँसुरीमा “रातो र चन्द्र सूर्य” को धुन मस्त भएर फुक्न थाल्यो । हामी दङ्गदास परेर उस्लाई हेरिरह्यौ ।
“यो प्रेम भरिया हो ।” साथीहरु मध्ये कसैले त्यसो भने । मैले प्रेमलाई पहिलोपटक देखेको त्यही हो ।
खासै धेरै बोल्दैनथ्यो प्रेम । कुमारको छेउमा गएर उस्ले कुमारले बोकिराखेको मादल लियो र झ्याउरे भाकाका केही गीतहरु बजाउदै गाउन लाग्यो । पल्लोपट्टि बजिरहेको लालीगुराँस अजम्बरीको धुन पनि रोकियो ।
हामीलाई प्रेम रमाईलो मान्छे लाग्यो ।
– प्रेमको घर जिलु हो रे । उस्की श्रीमति अर्कैसँग पोईल गएपछि उस्को मगज हल्का सट्किएको छ रे ।
– हैन हैन । प्रेम त सिन्धुपाल्चोकतिरबाट माओवादीले लखेटेपछि यता आएको हो रे ।
– माओवादीहरुले भारतीय आर्मी भएको कारण उस्को घर जलाईदिएपछि उ फर्केर आयो रे । फर्केर आउदा श्रीमति पनि गायब । अनि उस्ले भारी बोक्न थालेको हो रे ।
यसरी स्कूलमा प्रेम बारे भोलीपल्टबाटै अनेक किस्साहरु सुनिन थाल्यो । उस्को थर भन्दा पहिला उस्को सिङ्गो नाम प्रेम भरिया भनेर बुझ्न थालिसकेका थियौ हामीले । उ कहाँ बस्थ्यो ? उस्को घर कहाँ हो ? हामीले कहिल्यै थाहापाएनौ ।
सदरमुकाम चरिकोटको मुटु, सातदोबाटोको प्रतिक्षालयमा भारी कुरिरहँदा प्रेम बाँसुरी बजाउथ्यो । मलाई भने उस्को छेउमा बसेर बाँसुरीको धुन सुनिरहु झै लाग्थ्यो ।
.... .... .... .... .... .... .....
चकमन्न छैन आज सडक
निहुरीमुन्टि ‘न’ उभिएका – सडकबत्तीहरु
बाँचून कि नबाँचून लोडसेडिङ ?
चाहे लागोस् कि नाई जून ?
अब त बस्
उठ्नु छ सदियौदेखिको भोको – पागल ‘प्रेम भरिया’
सल्काउनु छ उसले – सडकछेउ मिल्काईएको पुरानो गणतान्त्रिक चुरोट ।
र फाल्नु छ उसले – एक फाँको धुवा ।
एकमन उघारेर पर्दा – चियाउन भन्दैछ झ्याल
कतै दौडिई पो सके कि – ‘प्रमिथस’हरु – बोकेर आगो छातीमा ?
हामी कक्षा १० पढ्दासम्म चरिकोटभरिमा प्रेम भरिया पागल हो भनेर दरिईसकेको थियो । उ सातदोबाटोको प्रतिक्षालयमा सुत्थ्यो । मानिसहरुले फालेको ठूटो चुरोट टिपेर खान्थ्यो । अनि एकसुरले बाँसुरीमा अनौठो धुनहरु बजाईरहन्थ्यो ।
सायद उ बाँसुरीमा आफ्नो जीवनको लय बजाउथ्यो जो कसैले बुझ्न सक्दैनथे ।
प्रेम भरियाको बारेमा थप अनेक किस्साहरु सुनिन थालिसकेको थियो ।
– थाहा छ, प्रेम भरिया त भित्ताहरुमा “प्रेम” लेख्दै हिड्छ नि ।
– प्रेम भरिया त राम्रो अंग्रेजी बोल्छ रे ।
– त्यसले त कुनै केटी देख्नैहुन्न । समात्न खोजिहाल्छ ।
– प्रेम भरिया २० र १०० को नोट मात्र चिन्छ । भारी बोकिसकेपछि कसैले उस्लाई अरु नोट दियो भने लिन मान्दैन । २० र १०० को मात्र लिन्छ ।
यी मध्य केही किस्साहरु सत्य पनि थिए । उ अंगार र चकहरुले घर र सडकका भित्ताहरुमा प्रेम लेखेर हिड्थ्यो । कतै कतै खम्बातिर प्रेमवाद लेखेको देखिन्थ्यो । तर त्यो प्रेमवाद प्रेमले लेखेको थिएन । उ त मात्र आफ्नो नाम कोथ्र्यो । कहिलेकाँही आई लभ यु भनेर पनि लेख्थ्यो प्रेम । चक वा अंगार भेट्यो कि उस्लाई पसल तिरका भित्ताहरुमा प्रेम लेख्दैगरेको भेटिन्थ्यो । बढो कमलोेसँग भित्तो सुम्सुम्याउदै उ आफ्नो नाम ती भित्ताहरुमा कोरिरहन्थ्यो । उस्लाई त्यसबखत कसैले भारी बोक्न बोलाएपनि उ जाँदैनथ्यो ।
ठूलाबडाहरुले साना बच्चाहरुको मगजमा प्रेम भरिया पागल हो भनेर भरिदिईसकेका थिए । बच्चाहरु सकेसम्म उस्को छेउमा पर्दैनथे । केही उरन्ठेउला बच्चाहरु भने परैबाट ढुङ्गा हान्न थाल्थे । प्रेम कहिले चुपचाप हिड्थ्यो त कहिलेकाही बच्चाहरुलाई गाली गथ्र्यो । तर ढुङ्गा फर्काएर कहिल्यै हानेन ।
कुकुरहरु प्रेमलाई देखेर यसरी भुक्थे कि सायद कुकुरहरु पनि चाहन्थे कि उ छेउ नपरोस । मानिसहरु उस्लाई देख्नेबित्तिकै छिछि दुरदुर गर्न थाल्थे । बढो अचम्मको कम्बिनेसन थियो चरिकोटका मानिसहरु र कुकुरहरुबिचको – प्रेम भरियाप्रति ।
स्कुले केटीहरु र कलेज पढ्ने युवतीहरु सकेसम्म उस्को छेउमा पर्न खोज्दैनथे । उस्लाई देखेपछि टाढैबाट रोडको अर्को कुना हिड्न थाल्थे । जस्तो कि प्रेम हजुरआमाले सुनाउने कथाको भूत हो, उनीहरु उस्लाई देख्दा तर्सिन्थे । थाहैनपाई कतैबाट प्रेम छेउमा आईपुगेको रहेछ भने सातदोबाटो बजार नै उचाल्ने गरी चिच्याउथे । प्रेम त्यस्तो ब्यवहार गर्न खोज्ने केटीहरुलाई देख्नेबित्तिकै झन् उनीहरुको नजिक गएर उनीहरुलाई तर्साउन खोज्थ्यो ।
गरिबी वा चोट, यकिन त भन्न सक्तिन तर समयक्रमसँगै प्रेम, भरिया बाट पागल प्रेम भरिया बनिसकेको थियो । चरिकोट बजारले अघोषित रुपमा प्रेम भरियालाई पागल को उपमा दिईसकेको थियो ।
उ भने कहिलेकाही मानिसहरुलाई ब्यंग गथ्र्यो ः
– “यत्रो भारी बोकेको पनि जम्मा १० रुप्पे दिन्छन् । अनि उल्टो म पो पागल अरे ।”
– “यस्तो मीठो खाना पनि फाल्छन् मान्छेहरु । अनि उल्टो म पो पागल अरे ।” यति भनिसकेपछि उ त्यो प्लाष्टिकको खाना टिप्थ्यो र प्रतिक्षालयमा बसेर खान थाल्थ्यो ।
.... .... .... .... .... .... .....
यो त्यही सडक हो
जहाँ धेरैपटक डराउदै हिडेको छु म ।
आज यही सडक गाउदैछ – आफ्नै सन्नाटाको – आफ्नै लय
चिनाउदैछ – आफ्नै त्रासको – सनसनीपूर्ण आवेग
उठाउन खोज्दैछ – एउटा युग निदाएको ‘प्रेम भरिया’ ।
एकमन उघारेर पर्दा – चियाउन भन्दैछ झ्याल
कतै फुक्यो कि ‘प्रेम भरिया’ले बाँसुरीमा – नयाँ क्रान्तिको विगुल ?
कक्षा १० को परिक्षा सकेपछि मैले थप पढ्नको लागि दोलखा छोडे । काठमान्डौ आए । बिदामा कहिलेकाँही चरिकोट जाँदा प्रेम भरियालाई सातदोबाटो चोकतिर देख्थे । उस्को दिनचर्या उस्तै थियो । चरिकोट आउने जाने मानिसहरु बदलिरहन्थे तर प्रेम भरियाको नाममा लागेको पागलको ट्याग हटेन । मैले पहिलोपटक भेट्दा शालिन बस्न रुचाउने प्रेम केही सन्काहा जस्तो भईसकेको थियो ।
१२ कक्षाको पढाई सकेपछि म फेरी चरिकोट फर्किए । चरिकोट पनि सिङ्गो देश जस्तै ६२÷६३ को जनआन्दोलनमा आन्दोलित थियो । आन्दोलनमा प्रेम भरिया पनि देखिन्थ्यो ।
आन्दोलनकारीलाई पुलिसले लाठी बजाउदा आन्दोलनकारीहरु आफूले हातमा बोकेको पार्टीको झन्डा फालेर दौडिन्थे । प्रेम भरिया ती झन्डाहरु बटुल्थ्यो । यसरी हरेक दिन प्रेम भरिया भुईमा झरेका झन्डाहरु बटुल्थ्यो र भोलिपल्ट बिहानै ती झन्डाहरु आन्दोलनकारीलाई दिन्थ्यो । पुलिसले अघिल्ला दुई चार दिन त प्रेम भरियालाई केही गरेन । तर पछि पछि भने प्रेम झन्डा बटुल्न जाँदा पुलिसहरु लठ्ठी लिएर उस्लाई पनि खेद्न खोज्थे । कत्तिपटक त हिर्काउथे पनि । तर पनि प्रेम भरियाले ती झन्डाहरु बटुल्न छोडेन ।
सातदोबाटोको प्रतिक्षालय छेउमा केही कार्टुनहरु जम्मा पारेर सुत्ने ओछ्यान र केही कपडाले बेरबार पारेर आफ्नो एउटा कोठाजस्तो तयार पारेको थियो प्रेम भरियाले । हरेक बेलुकी आफूले जम्मा पारेको झन्डाहरु बढो जतनसाथ उ आफू सुत्ने ओछ्यान छेउमा राख्थ्यो र भोलिपल्ट बिहान ती झन्डाहरु आन्दोलनकारी लाई दिन्थ्यो ।
यसरी ६२÷६३ को जनआन्दोलनमा उस्ले पनि आन्दोलनलाई सघायो । बैशाख ११ गतेको बिजयी जुलुस निस्कने बेला प्रेम भरियाको अनुहारमा अबिर रातै पोतिएको थियो । उ बढो उन्मादका साथ बिजयी जुलुसको सबैभन्दा अग्रपंक्तिमा नेपालको झन्डा बोकेर नाचेको थियो । चरिकोटले घोषणा गरिदिएको पागललाई चरिकोटले नै लोकतन्त्रको उन्मादमा बढो उमङ्गका साथ नाचेको देख्यो । मान्छेहरु कहिले प्रेमकै तालमा ताल मिलाउदै नाच्थे त कहिले उ नाचेको देखेर बढो हर्षले ताली पिट्थे ।
साँझपख प्रेम भरियाले आफूले बटुलेको बिभिन्न पार्टीका झन्डाहरुलाई तहतह मिलाएर कुनामा राख्यो । र त्यो तहको सबैभन्दा माथिपट्टि उस्ले नेपालको झन्डा राख्यो । उस्ले त्यो रात अबेरसम्म प्रतिक्षालयमा बसेर बाँसुरी बजायो ।
त्यसपछिका रातहरु जत्तिसुकै चिसो किन नहोस् उस्ले ती झन्डाहरुको ओछ्यान कहिल्यै बनाएन । झन्डा ओढेर पनि कहिल्यै सुतेन ।
.... .... .... .... .... .... .....
आज बिहानैदेखि ‘प्रेम भरिया’
बटुलिरहेथ्यो सडककुना फालेको च्यातिएका कपडाहरु
र बोलिरहेथ्यो उ एक्लै एक्लै
“साला मान्छेहरु
उपहास गर्दै मेरो नाङ्गो छातीको
फाल्छन् यत्ति राम्रा कपडाहरु
उल्टो म पो पागल अरे !
म बटुल्छु – यी सारा कपडाहरु
र बनाउछु – अब यसको एउटा स्वरुप
यो कपडा अब एउटा कुरुप मान्छे बन्नेछ ,
जो – जसले फाल्यो उसैको प्रतिमुर्ति बन्नेछ ।
हो, आजको रात अलिक ज्यादा चिसो हुन सक्छ ।
बरु उदाङ्गै रहोस् मेरो यो छाती
म यो प्रतिमुर्ति जलाउनेछु ।
र युगौगुग त्यसैको न्यानो ताप्नेछु ।
आहा !
सातदोबाटो आज रातैभर उजेलो हुनेछ ।
हो म बाल्नेछु कुरुपहरुको अनुहार
अझ उल्टो म पो पागल अरे !”
आज दिनैभरि ‘प्रेम भरिया’
एक्लै एक्लै मुस्कुराईरह्यो ।
२०६५ जेठ १५ ।
प्रेमले एकाबिहानै पशुपति डाँडादेखि सातदोबाटो चोकसम्म बेसुरको गीत गाउदै, सडक किनारमा मिल्काईएका काम नलाग्ने भनिएका कपडाहरु बटुलिरह्यो । त्यो दिनभरि उस्ले भारी पनि बोकेन ।
गणतन्त्र घोषणा गरिएको दिन, चरिकोटमा पनि सिंगो देशजस्तै खुसीमा झुमिरहेथ्यो । सातदोवाटोको मुटुमा मानिसहरु गणतन्त्रलाई स्वागत गर्न सातदोबाटोलाई गणतान्त्रिक चोक घोषणा गर्दै राता राता अक्षरहरुमा "गणतान्त्रिक नेपाल २०६५ जेठ १५" लेखिरहेका थिए ।
बिभिन्न राजनैतिक दलका नेताहरु भाषण गर्दैथिए । जनताहरु ताली बजाउदैथिए । प्रेम भरिया भने प्रतिक्षालयमा चुपचाप मुस्कुराईरहेथ्यो ।
सातदोबाटोको भाषण सकिईसकेपछि मानिसहरु घर तर्फ लागे । चोकमा गणतन्त्रलाई स्वागत गरेर पोतिएको रातो अक्षर टाढाटाढाबाट पनि स्पष्ट देखिन्थ्यो । प्रेम भरिया त्यो रातो अक्षर को छेउमा गयो र निकैबेर एकसुरले घोरिएर बस्यो । र प्रतिक्षालयमा आएर निकैरातिसम्म बासुरीमा अनौठो धुनहरु फुकिरह्यो ।
रात निकै छिप्पिसकेको थियो । त्यसपछि के सुर चलेर हो कुन्नि, प्रेम भरियाले आफूले बटुलेको कपडाहरु गणतान्त्रिक नेपाल २०६५ जेठ १५ लेखिएको ठाउँमा लगेर राख्यो । तहतह मिलाएर राखिएको पार्टीको झन्डा र देशको झन्डा पनि बोकेर आयो । सबै पार्टीको झन्डालाई कपडाहरु राखिएको ठाँउमाथि राख्यो र सबैभन्दा माथि देशको झन्डा राख्यो । त्यसमाथि आफूले सँधै बजाउने गरेको बाँसुरी पनि राख्यो र सलाई कोरिदियो ।
चिसो रात, आगोको रापभन्दा तातो हल्ला हावाभन्दा चाँडो फैलियो ः
– सातदोबाटो चोकमा त आगो लागेको छ रे ।
– प्रेम भरियाले चोकमा आगो लगायो रे ।
मानिसहरु घरघरबाट दौडिन थाले । अगिसम्म चुपचाप बसिरहेका प्रहरीहरु पनि दौडिदै त्यहाँ आईपुगे । आगोको लप्का ठूलो थिएन । मानिसहरुले आगोको राप केहीबेर मुकदर्शक बनेर हेरे । त्यसरी मुकदर्शक बन्नेमा अग्रपंक्तिमा अगि दिउसो यही चोकमा भाषण गरेर गएका बिभिन्न पार्टीका नामचलेका नेताहरु पनि देखिन्थे ।
मानिसहरु गलल्ल हाँसे ः
– पागलले आगो लगाएछ भनेको त कपडा पो जलाएको रहेछ ।
– पागलको त नौटंकी ... !
फेरी एक्कैछिनमा आक्रोशको साथ भीडबाट कोही करायो ः
– साला प्रेम देशको झन्डा जलाउछस् ?
– यो पागलले त हाम्रो पार्टीको झन्डा पनि पो जलाएछ । – अर्को करायो ।
– हो रहेछ, हाम्रो पनि पो पार्टीको झन्डा जलाएछ । – अर्को करायो ।
– हामीले लेखेको गणतान्त्रिक नेपालमाथि यस्ले जलाएको कपडाको कालो बस्नेभयो अब । साला पागलले गणतान्त्रिक नेपालमाथि कालो दलेछ । – फेरी अर्को करायो ।
एक्कासी केही मानिसहरु प्रेम भरिया टुसुक्क बसेर तमाशा हेरिरहेको प्रतिक्षालयमा गएर उस्लाई भकुर्न थाले ।
प्रेम भरियाले आईया आत्था भनेको पनि सुनिएन ।
भोलिपल्टदेखि प्रेम भरिया बजारमा देखिएन ।
.... .... .... .... .... .... .....
एकमन उघारेर पर्दा – चियाउन भन्दैछ झ्याल
कतै बल्यो कि सडकछेउ – निमुखाहरुमाथिको अत्याचार दनदनी
ओ प्रिय चरिकोट, मलाई थाहाछैन आजकाल प्रेम भरिया कता छ ? आजकाल प्रेम बाँसुरी बजाउछ कि बजाउदैन, त्यो पनि मलाई थाहाछैन । बरु हिजो राति सपनामा मैले प्रेमलाई देखेको थिए । मेरो सपनामा प्रेम, चरिकोटको मुटु सातदोबाटोको भत्किएको प्रतिक्षालयछेउ डिलमा बसेर बाँसुरीमा अनौठो शोक धुन बजाईरहेथ्यो !
के उस्ले त्यो दिन हाम्रो सपनाहरुको चिहान बनाएर जलाएको थियो सातदोबाटोमा ? ओ चरिकोट .... !!!
Twitter : @canvassss
मिति २०७३ असोज २२ गते नागरिक दैनिकको "अक्षर"मा प्रकाशित ।
:)
ReplyDeleteExpecting More...!
https://sabdasansar.com