Saturday, December 26, 2015

सकस

उनको मन
मेडुसाको टाउको जस्तै रहेछ ।
छुन खोजेथेँ
म पत्थर भईदिएँ ।

अझै याद छ उनको अट्टहास ।

उनको मन
मेडुसाको टाउको जस्तै रहेछ ।
मुस्कुराउदा मुस्कुराउदैको मलाई पत्थर बनाईदियो ।

– – – – – – – – – – – –

Monday, October 26, 2015

जन्म दिनको शुभ–कामना

जिन्दगीका यी छरपष्ट बाटोहरुमा
म आएर के अड्किएको थिए
तिमी त कत्ति चाँडो
सपनाहरुको लाम बोकेर आईपुगिसकेछौ ।

म पनि कस्तो बुद्धु
सपनाहरु डोकोमा हालेर हिडेछु
कत्ति ठाउमा चुहिए होलान् हगि !!!
धन्य,
भेटेको जति तिमीले संगालेर ल्याईदियौ ।

Thursday, September 3, 2015

मालिकहरुका बिरुद्ध


मेरो बुबाको, हजुरबुबाको, हजुरबुबाको पनि हजुरबुबाले
मालिकको रिन खाएका थिए अरे
त्यही रिन तिर्नका खातिर
हाम्रो सिंगो पुस्ता मालिकको मा कमैया बस्यो
हामी बँधुवा मजदुर भयौ

मैले
मालिकको छोरोको झोला बोकेर
स्कूलसम्मको बाटो हिडेको छु
त्यही झोला बोकेर सँधै स्कुलबाट फर्किएको छु
तर मैले त्यो झोलाभित्र के कहिल्यै थाहापाईन

Saturday, August 22, 2015

एउटा बहुलठ्ठी यात्रा

मलाई थाहा छ, यत्तिखेर घन्टाघरको घडीले रातको १० बजाएको छ। मेरो घडी र घन्टाघरको घडीको समय ठ्याक्कै मिल्छ। तर जिन्दगीको समय कुनैपनि घडीसँग कहिल्यै मिलेन।  
फाट्टफुट्ट चलेका ट्याक्सी र मोटरसाईकल बाहेक सडक सुनसान छ। शहिदगेटमा शहिदहरु दिनरात एकतमासले के नियाल्छन् कुन्नि मलाई थाहाछैन। 
हातमा एउटा पेप्सीको जम्बो बोतल छ। बोतलभित्र भने पेप्सीको साटो पानी र भोड्काको कम्बिनेसन छ।
अक्सर म यसरी ठेगाना बिनाको यात्रा हिडीरहन्छु। तर मलाई प्रष्ट थाहा छ कि अन्तिम ठेगाना भनेको आर्यघाट नै हो। यसर्थ मलाई आर्यघाटसँगको लगाब बहुत ज्यादा छ। 
.........
नगरकोटी भन्थे “डेथ ईज अ टोटल वेस्ट अफ टाईम।” तर म मान्दिन। जन्म र मृत्यु दुई शाश्वत सत्य हुन्। कुनै पनि सत्य समयको बर्बादी हुनै सक्तैन। समयको बर्बादी त भ्रमित जीवन हो। हामी फगत आशाहरुमा जेलिएर भ्रमित जीवन बाँच्न अभिशप्त छौ। आजभन्दा भोली केही नौलो र सुन्दर होला कि भन्ने आशा। हरेक दिन मानिस नयाँ आशा जन्माउछ। जुन दिन मानिससँग आशा हुदैन, उ बाँच्नुको सार हुन्न। नमर्नकै खातिर मानिस आशा संगालिरहन्छ। मलाई थाहाछैन कुमार दाई मेरो कुरा मान्छन् कि नाई ? एनीवे, उनको कुरा म केयर गर्दिन। मेरो कुरा उनी केयर गर्दैनन। मजा यसैमा छ। 
मेरो मोबाईलमा नुसरत एकसुरमा कवाली गाईरहेछ। 
“दिल लेके मेरे हातमे केहेते हे मुझ्से ओ
क्या लोगे ईस्के दाम बताना सही सही”
यस्तो लाग्छ नुसरतले गाईरहँदा दर्शकभन्दा बढी मज्जा उ आफै लुट्छ। 
..........

Thursday, July 16, 2015

..... र एउटा एष्ट्रे

भोलि त सबेरै छाडेर जानु छ ।

सल्काउँछु एस्ट्रेमाथिको ठूटो चुरोट
सोच्छु खाटमाथि टुसुक्क बसेर
भोली त सबेरै छोडेर जानु छ ।

Thursday, April 2, 2015

हाचिको (नेपाली अनुवाद)

पार्कर,
म अझै तिमीलाई पर्खिरहेछु
त्यही स्टेशनमा ।
उहि पुरानो ठाँउमा ।
मलाई यत्ति भन पार्कर
फर्केर तिमी कहिले आउछौ ?
र अँगाल्छौ उस्तै मीठो ?

Hachiko

Parker,
Still am in wait of you !
On the same station.
On the same place.
Just Tell me Parker
when will you be back to me  ?
and when will you hug me good ?

Thursday, January 29, 2015

एउटा नमीठो कविता

रातभर आफ्नै कविता पढे 
र सोचे भोली चै म जीवनको कविता लेख्छु ।

सबेरै सूर्य दाईको चियापसल
चियाभन्दा पनि बढी तात्तिएर बसेको रैछ ।
“उ त मरिछे नि ।”

छि कस्तो नमीठो झस्को पस्यो 
सोधे — “सूर्य दाई के पो थियो रे उस्को नाम ?”

Thursday, January 1, 2015

धुब्रेसँग आधा रात

त्यो साँझ मैले धुब्रेलाई उसैले भनेअनुसार उसैको जन्मदिनमा भेटेको थिए । चिम्सा पारेर आफ्ना आँखा र आकाशतिर उचालेर आफ्नो सुँढ, उसले भनेको थियो – “तँलाई थाहा छ, कम्तीमा यो बर्षभरि मैले गोली खानुछ । आखिर आज जन्मदिनमै सेनाको गोली जो लागेको छ मलाई । हाहाहा ......”
...................
ऊसले आफू रन्थनिएर ढलुन्जेल पनि मलाई आँखा तर्न छाडेको थिएन । म पनि नरन्थनिएकोे कहाँ थिए र ? एउटा सजीव जङ्गली हात्तीलाई आफ्नै आँखाअगाडी देख्नु र भोड्काको हाफ बोतल भर्खरै सकिन आँट्नु, यी दुवै काफी थिए मलाई रन्थन्याउनका लागि । 

राप्ती किनारछेउ भोड्का पिउदै अस्ताउदो सूर्यको परावर्तन हेरिसकेर फर्किन के आँटेको थिए, एउटा हात्तीे मेरो छेवैमा आएर रन्थनिदै ढलेको थियो । ढल्नुअगाडी उसले मलाई आँखा तरेको थियो र एकचोटी आफ्नो दाहिने खुट्टो मज्जाले भुईमा बजारेको थियो । सायद त्यसरी खुट्टा बजार्नु र आँखा तर्नुको मेरानिम्ति कुनै किसिमको चेतावनी हुनसक्थ्यो । उ नढलुन्जेल मलाई डर लागेपनि ढलेपछि भने आफैलाई हाँसो उठ्यो । आफू नढलुन्जेल धुब्रेले मलाई आँखा तरेको सम्झिएर खित्खिताए मनैमन एकचोटी । 

र उ ढलेपछि म केही ढुक्क भए ।