Saturday, February 13, 2016

जिवनको आश मारेको एउटा यात्रा

कुरीमा रात बिताएपछि अहिले हामी कालिञ्चोक भगवतीको सामुन्नेमा छौ । आठघन्टाको पैदल यात्रा पछिको रात थियो, त्यसको आफ्नै तस्विर छन् । तर, अहिले मन्दिरको वरपर भएका घन्टको आवाजले त्यसलाई बिर्साउँदै छ ।
साथीहरु सेल्फी खिच्नमा मस्त छन् । कोही मन्दिरमा फुलअक्षता चढाउनतिर लागेका छन् । हिउले ढाकिएका डाँडा क्यामेरा र मनमा कैद पनि भइरहेको छ ।
 .........
सिरेटो चलिरहेको छ । डाउन ज्याकेटले भने सिरेटोको तेज छेकिरहेको छ । वरिपरि गुराँसका केही बोटहरु छन्। गुराँसका कोपिला बोटहरु सायद हिउबाट निस्कने प्रयासमा छन्।
कालिञ्चोकको डाँडाबाट परसम्म हिउँले ढाकिएका डाँडा र मुटु काम्ने भीरमात्रै देखिएका छन् । क्षितीजनजिकै भने जस्ताका छानाहरु टल्किउका छन् । साथी चने भन्छ– ऊ त्यही हो, बिगु गाविस जहाँ हामी पुग्दैछौँ ।
चने आत्तिएको छ, हिजोको हिडाइँ र हाम्रो गन्तव्य देखेर । तर, यात्रामा कोही आत्तिएन र कोही रमाएन भने त्यसको मीठास नै हुँदैन । मीठास त यहाँ गौरीशंकर हिमाल र रोल्वालिंग रेन्जलाई बादलले छेकेकोमा पनि देखिएको छ । म कल्पना गर्छु, बादलले नछेकेको भए त्यहाँनेर गौरीशंकर देखिन्थ्यो, त्यहाँनेर सगरमाथा देखिन्थ्यो ।
........