Thursday, April 2, 2015

हाचिको (नेपाली अनुवाद)

पार्कर,
म अझै तिमीलाई पर्खिरहेछु
त्यही स्टेशनमा ।
उहि पुरानो ठाँउमा ।
मलाई यत्ति भन पार्कर
फर्केर तिमी कहिले आउछौ ?
र अँगाल्छौ उस्तै मीठो ?



हेर त
त्यो “हट डग” बेच्ने बुढो मान्छे
अझै उस्तै छ ।
किताबपसलकी आईमाई
त्यो पनि उस्तै छे ।
मैले उनीहरुले आफ्नो दिनचर्या परिवर्तन गरेको कहिल्यै देखेको छुईन ।
अनि उसको त्यो आरिसे बिरालो
जस्ले पहिलोपटक मेरो नाकमा झापड हानेको थियो – त्यो पनि त अझै उस्तै छ ।

मानिसहरु आउछन्
मलाई “गुडमर्निङ” भन्छन् ।
घाम मेरो टाउकोमाथि आएको बेला
मलाई “गुडआफ्टरनुन” भन्छन् ।
र जब त्यो घाम डाँडापारी अस्ताउछ
मलाई “गुडनाईट” भनेर जान्छन् ।
यत्तिखेरसम्म त तिमी आईपुग्नु पर्ने हो ।

कि तिमी पनि त्यै डाँडाको बाटो भएर गयौ पार्कर ?
जहाँबाट अस्ताएको सूर्य मेरो निम्ति फेरी कहिल्यै उदाएन ।
जहाँबाट बहेको हावाले मलाई कहिल्यै छोएन ।
जहाँबाट .......

के तिमीलाई थाहा छ पार्कर
जुनबेलादेखि तिमी गएथ्यौ
र बन्द भएथ्यो ढोका
ठीक त्यहीसमयबाट त्यो ढोका मेरो निमित्त कहिल्यै खुलेको छैन ।

यी मानिसहरुले मेरा निम्ति गर्ने सबै प्राथना र कामनाहरु
सबै सबै गलत भएका छन् ।
पार्कर म तिमीलाई अन्तिमसम्म अँगाल्न चाहन्छु ।
ठीक पहिलेको जस्तै म तिम्रो गालामा चुम्न चाहन्छु ।
पार्कर म तिमीलाई प्रेम गर्न चाहन्छु
र तिम्रो प्रेम पाउन चाहन्छु ।

केही फरक छैन पार्कर ।

त्यो ढोका उसैगरी खुल्छ र उसैगरी बन्द हुन्छ ।
त्यो रेल आफ्नै लयमा उस्तै धुन लिएर कुदिरहन्छ ।
तर मलाई थाहाछैन त्यो कहाँ जान्छ ।
कि यस्तो पो हो कि – त्यो रेल तिमीलाई लिनै गएन ?
कतै तिमीले आफ्नो बाटो परिवर्तन पो ग¥यौ कि ?
र गयौ अर्कै रेलमा ?

त्यो मोटो मान्छे कहिलेकाँही मेरो छेउ आउछ र के के भनिबस्छ ।
किन पार्कर ? म तिम्रोभन्दा अरु कसैको भाषा बुझ्दिन ?
अनि तिमीबाहेक अर्को कोही मेरो भाषा बुझ्दैन ?

के तिमी हिउ झरेको देखिरहेछौ ?
हिउसँगसँगै झरिजाने रुखका पातहरु देखिरहेछौ ?
उनीहरु हावाको लय बोलिदिन्छन् ।
बसन्त ऋतुमा पातहरु फेरी फर्किआउछन् ।
तिनीहरु कहाँबाट फर्किआउदाहुन् ?

तर मलाई यी सब बकवास कुराहरुको के अर्थ र ?
हो पार्कर,
म बाँच्नुपर्छ तरपनि मलाई त्यो मासुपसलले कुनै अर्थ राख्दैन ।
जिन्दगी ! अनि तिमीबिना ?
ओहो यो सब म कसरी सोच्न सक्छु र ?
त्यो त तिमी हौ जस्ले मेरो लागि अर्थ राख्छ ।
र त्यो तिम्रो माया हो जो मेरो लागि अर्थपूर्ण छ ।

अब त बर्षौ बितिसक्यो पार्कर ।
यद्यपी मलाई थाहाछैन कति बर्ष ?
तर मलाई थाहा छ कि अब म बूढो भईसकेको छु ।
मलाई थाहा छ कि मेरा गोडाहरु दुख्न थालेका छन्
र म तिमीलाई अन्तिमचोटी अँगाल्न चाहन्छु ।
मलाई थाहा छ मेरा आँखाहरु कमजोर भएका छन्
र म तिमीलाई अन्तिमचोटी हेर्न चाहन्छु ।
हो पार्कर म तिमीलाई अन्तिम चोटी प्रेम गर्न चाहन्छु ।
आजको रात बहुतै चिसो छ ।
हिउले मलाई पुर्न आँटेको छ ।
म यत्ति जान्न चाहन्छु, के तिमी आज आउछौ पार्कर ?
आजको साँझ ?


फिल्म “हाचिको–माई हिरो” बाट प्रभावित ।
 

5 comments:

  1. यसले छाेयाे भित्र !

    ReplyDelete
  2. यसले छाेयाे भित्र !

    ReplyDelete
  3. साच्चैनै शुन्दर लाग्यो अनि उत्त्तिकै कता कता च्वास्स दुखे जस्तो l

    ReplyDelete
  4. Unspoken part of movie ����

    ReplyDelete