Saturday, August 22, 2015

एउटा बहुलठ्ठी यात्रा

मलाई थाहा छ, यत्तिखेर घन्टाघरको घडीले रातको १० बजाएको छ। मेरो घडी र घन्टाघरको घडीको समय ठ्याक्कै मिल्छ। तर जिन्दगीको समय कुनैपनि घडीसँग कहिल्यै मिलेन।  
फाट्टफुट्ट चलेका ट्याक्सी र मोटरसाईकल बाहेक सडक सुनसान छ। शहिदगेटमा शहिदहरु दिनरात एकतमासले के नियाल्छन् कुन्नि मलाई थाहाछैन। 
हातमा एउटा पेप्सीको जम्बो बोतल छ। बोतलभित्र भने पेप्सीको साटो पानी र भोड्काको कम्बिनेसन छ।
अक्सर म यसरी ठेगाना बिनाको यात्रा हिडीरहन्छु। तर मलाई प्रष्ट थाहा छ कि अन्तिम ठेगाना भनेको आर्यघाट नै हो। यसर्थ मलाई आर्यघाटसँगको लगाब बहुत ज्यादा छ। 
.........
नगरकोटी भन्थे “डेथ ईज अ टोटल वेस्ट अफ टाईम।” तर म मान्दिन। जन्म र मृत्यु दुई शाश्वत सत्य हुन्। कुनै पनि सत्य समयको बर्बादी हुनै सक्तैन। समयको बर्बादी त भ्रमित जीवन हो। हामी फगत आशाहरुमा जेलिएर भ्रमित जीवन बाँच्न अभिशप्त छौ। आजभन्दा भोली केही नौलो र सुन्दर होला कि भन्ने आशा। हरेक दिन मानिस नयाँ आशा जन्माउछ। जुन दिन मानिससँग आशा हुदैन, उ बाँच्नुको सार हुन्न। नमर्नकै खातिर मानिस आशा संगालिरहन्छ। मलाई थाहाछैन कुमार दाई मेरो कुरा मान्छन् कि नाई ? एनीवे, उनको कुरा म केयर गर्दिन। मेरो कुरा उनी केयर गर्दैनन। मजा यसैमा छ। 
मेरो मोबाईलमा नुसरत एकसुरमा कवाली गाईरहेछ। 
“दिल लेके मेरे हातमे केहेते हे मुझ्से ओ
क्या लोगे ईस्के दाम बताना सही सही”
यस्तो लाग्छ नुसरतले गाईरहँदा दर्शकभन्दा बढी मज्जा उ आफै लुट्छ। 
..........

जिन्दगीमा धेरै कुरा एक्कासी हुन्छ। जस्तो कि अहिले मलाई एक्कासी भाउन्न भएर आयो। आँखैअगाडी हुनुपर्ने थियो धरहरा। तर मैले धरहरा देखिन। मन अमिलो भयो। 
मलाई आफू हिडेको बाटोमाथि शंका लाग्यो। वरिपरि हेरे। टुँडिखेल, शहीदगेट, शहीदगेट पछाडीको भद्रकाली मन्दिर, नेपाल टेलिकमकोे ठूलो कार्यालय, रत्नपार्क र त्रिपुरेश्वर तिर जाने दुबैपट्टि आकाशे पुल ........ सब्बै त छ। अनि पर कतै दोहोरी रेष्टुरेन्टमा दोहोरी घन्किरहेछ। तर धरहरा छैन। 
कुद्दै गए त्रिपुरेश्वरपट्टिको आकाशे पुलमाथि। तर मैले धरहरा देखिन। कतै म एम्लोफोबियाको शिकार त भईन ? बेतोडले कतै कुद्ने मन भयो। चुपचाप त्यही ठिंग उभिने मन पनि भयो। म किंकर्तव्यबिमूढ भए। के गर्ने÷के नगर्ने पहिल्याउन सकिन। मलाई भमिट आउला जस्तो भयो। आकाशे पुलबाट निस्फिक्री छाद्न पनि सकिन। म ठूलो स्वरले चिच्याउदै रोए “कहाँ गयो धरहरा ?”
छेउमा एउटा जड्याँहा सुतेको रहेछ। उ लड्खडाउदै उठ्यो। “को हो मु.. ?” आफूलाई सुनिदिने कोही भयो भने मानिस बोलिरहन्छ। रुवाई पनि त्यस्तै हो सायद। म रोईरहे।
“यत्तिखेर यहाँ आएर किन रुन्छस् ए जाँ.. ? के भो भन्छस् कि डुक्राउ तँलाई लात्तीले ?” उ चिच्यायो।
म अचाक्ली कष्ट महसुस गरिरहेछु। मलाई धरहरा हराएको भन्दा पनि आफ्नो दृष्य कमजोर भएकोमा बहुत पीडा भइरहेछ। यस्तो लागिरहेछ कि म निरीह भईसकेको छु। मसँग तागत छैन। हिम्मत पनि छैन। मैले रुदै सोधे “धरहरा खोई ?”
“ई यहाँ छ धरहरा।” उस्ले आफ्नो दुबै हात सोरेर आफ्नो कम्मरमुन्तिर देखायो। र त्यसपछि बेतोडले हाँस्न थाल्यो। म झन् रुन थाले। 
जड्याँहाले मेरो हातबाट बोत्तल लियो र तनतनी पियो। “आईज मुत्न जाम्। म देखाउछु धरहरा तलाई।” हामी लड्खडाउदै सिढी ओर्लियौ। र रोडको बिचमा शहीदगेटपट्टि फर्किएर पिसाब फेर्न लाग्यौ।
सिंगो सहरको चकमन्नताले मैले फेरेको पिसाबको आवाज सुन्यो। जून र ताराहरुले मैले पिसाब फेरेको हेरे। शहीदहरुले हेरे। स्व. त्रिभुवनले पनि हेरे। मलाई यसरी रातमा आकाशका ताराहरु हेर्दै पिसाब फेर्न बहुत टेस पर्छ।
प्यान्टको जिप्पर लगाउन खोज्दा आँखाअगाडी देखे धरहरा। होचो म भन्दा सानो धरहरा जस्को फेद मेरो पिसाबले निथ्रुक्क भिजेको थियो। अब झनै रिंगटा लागेर आयो। आकाश सिंगै घुमेको जस्तो लाग्यो। शहीदहरु हाँसिरहेझै देखिए। र देखिए स्व. त्रिभुवन पनि त्यही हाँसोमा हाँसो मिलाईरहेको। 
म एकदमै जोडले चिच्चाए “धरहरा कसरी सानो भयो ?” तर मलाई उत्तर दिन त्यो अगिको जड्याँहा मेरो छेउमा थिएन। र म बेतोडले कुदे। कता मलाई थाहाछैन तर मैले कुदुन्जेल पछाडी फर्किएर हेरिन। 
..........
बसन्तपुर आईपुगेको रहेछु। 
लगभग रातको ११÷१२ सम्म जाग्ने बसन्तपुरमा मैले ६–७ बर्षअगाडी एउटी बालिकालाई थर्मसमा चिया बेचिरहेको देख्थे। त्यो बेला म कलेज पढ्थे र साँझपख प्राय बसन्तपुर आउथे। 
“दिप्ती।” उस्ले आफ्नो नाम लजाउदै मुस्कुराएर भनेकी थिई। त्यसबेला उस्को लज्जामा सिंगो बसन्तपुर शान्त भएझै लागेथ्यो। सिंगो बसन्तपुर उस्को मुस्कानमा हराएझै लागेथ्यो। 
म धेरैपटक त्यो अबोध हाँसो हेर्न बसन्तपुर पुगेको छु। मलाई कताबाट देख्थी कुन्नि, उ हुर्रिएर म भएठाँउमा आउथी। मलाई चिया दिन्थी। म उस्लाई १० रपिया दिन्थे। उ उसैगरी मुस्काउथी अनि म उस्को मुस्कानमा हराउथे।
एकदिन सोचे, दुईचारदिन आएर दिप्तीसँग गफिनेछु। तर केहीसमयपछि दिप्ती एक्कासी हराएकी थिई। म पनि जागिर खान झापातिर गए। 
र यसबेला बसन्तपुरमा जोडीहरु छैनन्। टुँडालमुनि कोही बसिरहेका छैनन्। परेवाहरु सायद निदाईसकेका छन्। कतै कुनै कन्सर्ट भईरहेको छैन। दरबारहरु कुरुप देखिएका छन्। बसन्तपुर फलामको जेलभित्र राखिएझै देखिन्छ। आज पूर्णिमाको दिन जूनले आफ्नो धर्म छाडेको छ। हो, बसन्तपुरमा चुक पोखिएको अधेरो छ।
...........
कान फुट्नेगरी हनि सिंह ‘लभ डोज’ भन्दै चिच्चाईरहेछ। स्टेजजस्तो ठाउँमा एकहुल अर्धनग्न युवतीहरु केटाहरुको हात समातेर नाचिरहेका देखिन्छन्। कोही मस्त रक्सी पिईरहेका छन्। कोही हाँसिरहेका छन्। अनि मेरो अगाडी भने एउटा काल्सबर्ग बियर छ। ‘के म यहाँ बियर पिउदैछु ?’ मलाई बेहद अचम्म लाग्छ।
म कसरी त्यहाँ आईपुगे मलाई केही थाहाछैन। मैले आफ्नो झोला र ज्याकेट कतै फालिसकेको रहेछु। मेरो टिसर्ट पसिनाले पूरै भिजेको थियो। हत्तपत्त पर्स छामे धन्न पर्स मैसँग रहेछ अनि मोबाईल पनि। मोबाईल झिकेर कसैलाई फोन गर्न मन लाग्यो। तर कस्लाई फोन गर्ने निक्र्यौल काट्न सकिन। 
म चुपचाप उठेर काउन्टर तिर गए। 
सोधे: “मेरो टेबलमा बियर कस्ले राखिदियो ?” काउन्टरको मान्छे केही बोलेन। मैले फेरी नम्र भएर सोही प्रश्न सोधे, अनि उस्ले भन्यो: “तपाईलाई अलि बढीनै लागेजस्तो छ। अगिनै तपाई आफैले यहाँबाट लिएर जानुभएको हो।” 
“अनि पैसा ?”
“बिल त तपाईले तिरिसक्नुभयो।” उ हाँस्यो। म हासिन। म चुपचाप बाहिर निस्किए। गेटको पालेले मलाई केही भनेन। मैले पनि भनिन। छेवैको एउटा झिलिमिली बोर्डमा लेखेको रहेछ ः नासा डान्स बार, ठमेल।
..........
अब भने म पूरा होसमा थिए र ट्याक्सीभित्र थिए। मेरो छेउमा एउटी केटी मलाई सुम्सुम्याउदै थिई। 
उस्ले निलो खालको वानपिस लगाएकी थिई र उस्का पोटिला स्तन बाहिर निस्केला झै देखिरहेका थिए। उस्को तिघ्रा अचाक्ली सेतो थियो जो ट्याक्सीभित्र सडकबत्तीको मन्द प्रकाशमा पनि टल्किरहेको थियो। उस्ले आफ्नो शरीरमा यत्ति धेरै पफ्र्यम छर्केकी थिई कि मलाई त्यसको गन्धले नराम्ररी दुईपटक हाच्छिउ आयो। 
“यो ट्याक्सी कता जाँदैछ ?” सोधे। 
“मेरो कोठामा।” बडो अजिवको केटाको स्वर थियो उस्कोे। मलाई भने आफैदेखि उदेक लाग्यो।
...........
दिमागको मेमोरी रिवाईन्ड गरे। म नासा बारमा थिए। 
त्यसपछि म बाहिर निस्केको थिए। ठमेल एक चौथाई निदाईसकेको थियो। केही डान्स बार र होटेल खुलेका थिए। मानिसहरु प्राय ग्रुपमा ओहोरदोहोर गरिरहेका थिए। परबाट आएको ट्याक्सीको प्रकाश एउटी केटीको सेतो खैरो स्ट्राईपवाला वानपिसभित्र छिरेको थियो। बत्तीले पारदर्शी बनेको कपडाभित्र मैले आँखा घुसाउने बहुत प्रयास गरेको थिए। 
त्यसपछि म त्यहाँबाट हिड्दै दरबारमार्गमा पुगेर ८० प्रतिसत डिस्काउन्टमा रु १४० रुपिया प्लेटको मम खाएको थिए। त्यही बसेर एउटा क्यान बियर पनि खाएको थिए। र त्यसपछि अर्को क्यान बियर बोकेर म कता जाने भन्ने असमन्जसमा हिडेको थिए। एउटी केटी फटाफट पाईला चालेर मेरो अगाडी हिड्न थाली। 
“कहाँ जान लागेको ?” के सुर चलेर हो कुन्नि मैले जिस्काएथे।
“घर।” छोटो उत्तर दिदै उस्ले छिटोछिटो पाईला चालेकी थिई।
“पख म पुर्र्याईदिम्ला नि।” उस्ले केही बोलिन। उस्को फोन आयो र उ फोनमा गफ गर्न थाली।
“तपाई चिन्ता नगर्नु के, म ट्याक्सीमा छु।” ............। “म भ्याउदिन। कस्तो नबुझ्नुभएको मेरो भोलीको लागि प्याकिंग गर्नु छ।” .............। “म घर पुगेर कल गर्छु। म साथीहरुसँग छु।” ..........। “ह्या अत्ति त नगर्नु के।” यसो भन्दै उस्ले फोन राखेकी थिई।
“प्याकिंग गर्न म सघाउला नि।” मैले यसो भनिसकेपछि उस्ले मतिर एकनजर फ्याँकेकी थिई। 
“भोली कहाँ जाने हो र ?” मैले फेरी कोट्याए। 
“पोखरा।” उस्ले भनी। 
बिस्तारै कुरा लम्बिएको थियो। उस्ले आफ्नो ठेगाना गोलढुङ्गा, पोखरा बताएकी थिई। पोखरामा आफू पढ्ने कलेजको नाम पनि भनेकी थिई। हामी सञ्चय कोष भवन अगाडी आईपुगेका थियौ। 
मैले उस्को फोन नं मागे र नं सेभ गर्न उस्को नाम सोधेको थिए। “दिप्ती।” र उ मुस्कुराएकी थिई। आहा ! उस्को मुस्कान। मैले आफू कहाँ छु बिर्सिदिए। उस्को नाम सुनेपछि, चलिरहेका गाडीहरु एकपटक रोकिए। हिडीरहेको भीड रोकियो। यस्तो लाग्यो सिंगो ठमेल उस्को मुस्कानमा हरायो। म फेरी एकपटक नमज्जाले रन्थनिए। उस्को हाँसोबाट मुर्छित मैले आफूलाई सम्हाल्दा उ त्यहाँ थिईन। प्रहरीहरु सिठ्ठी बजाउदै लठ्ठी बोकेर आउदैथिए। सिंगै हुल भागिरहेको थियो। म पनि भागे र एउटा ट्याक्सीभित्र छिरे। किन भागे त्यो चै मलाई थाहाछैन। 
..........
मैले दिप्तीको फोन नं खोजे। तर भेटिन। आँखा तिर्मिराईरहेथ्यो। अँ मैले उस्लाई उस्को घरसम्म पो छोडे कि छोडिन ? मैले बिर्से। 
घर भन्दा याद आयो। अहिले म जो सँग थिए म उस्को कोठामा छु। किन म चुपचाप उस्को पछिपछि लागेर आए मलाई थाहाछैन। कोठा बहुत सुसज्जित छ। एउटा लो बेड। दराज अनि कपडा राख्ने र्याक। एउटा डेक्सटप कम्प्युटर। टि टेबलमा पल्टिएको छ ओह्रान पामुकको स्नो। यस्तो लागिरहेछ मसँग आश्चर्यका सेरिजहरु घटित भईरहेछन्।
उस्ले मेरो गालामा चुमी। म हच्किएर पछाडी सरे। “म जान्छु” मैले भने।
“लौ किन यहाँ आएको त।” सोधी।
“मलाई थाहाछैन।” म जुरुक्क उठे अनि हिडे। 
उ ट्वाँ परि। केही कुरा सम्झिएर म फेरी फर्किए। “कति रुपिया हो तिम्रो ?” सोधे।
“१५००।” म हाँस्न सकिन। खोकी लागेझै भयो। “त्यत्रो महङ्गो ?”
“मैले त झन् स्टुडेन्ट भनेर डिस्काउन्ट दिएको।” मेरो पातलो सानो काँठीको शरीरलाई उस्ले नमज्जाले गिज्याई। म चुप लागे। मसँग बोल्न केही शब्द थिएन। खुरुक्क पैसा निकालेर दिए अनि म हिड्नै लाग्दा उ बोली “केही नगर्ने ?” मैले सोधे “के ?” 
उस्ले ५०० आफूसँग राख्दै भनी: “केही नगर्ने भए यो पैसा फिर्ता लिउ। ५०० चै ट्याक्सी भाडा लिए मैले।” अनि उ एक्लै फत्फताई, “क्या अचम्मका मान्छेहरु आउछन् यार।” मलाई भने आफूभन्दा बढी उ अचम्मकी लाग्यो। म फेरी हिड्दै आए। पुनः ठमेल नै आईपुगेछु। 
..........
गोजी छामे। चुरोट रहेनछ। छेउको नाङ्लो पसलमा एक बट्टा चुरोट किने। सल्काए र हिड्न थाले। थाहाभयो ठमेल यौवन मात्र किनबेच नगर्दोरहेछ, सानापसलेहरुको खुसी पनि संगाल्न प्रयासरत रहेछ।  
नारायणहिटी अगाडी आएपछि राजा ज्ञानेन्द्रको ‘कु’ सम्झिदै नारायणहिटी फर्केर पिसाब फेर्ने मन भयो। उ बेला हिम्मत गर्न सकिन। आज भएपनि पिसाब फेरौ लाग्यो। प्यान्टको जिप्पर खोल्न मात्रै आँटेथे तल्लोपट्टि युएस एम्बेसीमा गार्ड बस्ने पुलिसले सिठ्ठी बजायो। बजाईरहोस। मैले आफ्नो कर्म सकेर मात्र त्यहाँबाट हिडे। 
.........
म हिड्दैहिड्दै आर्यघाट आईपुगेको छु। एउटा लास जलिरहेको छ। केही मानिस त्यो निस्पट्ट अध्यारोमा पनि सो लासको फोटो खिच्दैछन्। मोबाईलको फ्ल्यास झिलिकझिलिक गर्यो अनि सकियो। सोचेर ताज्जुब लाग्यो, ‘मृत्युको क्याप्सन के हुँदो हो कुन्नि ?’ 
माथि ग्रीनबेन्चमा गएर बसे। बाँदरहरुको होहल्ला थिएन। गाडीको चर्को आवाज थिएन। चराहरुको सुसेली पनि सुन्दिन। बरु दिउसो कहिल्यै नसुनिने बाग्मतीको सुसाई सुनिरहेछु। एकान्तलाई महसुस गर्न र एकान्तको आवाज सुन्न पनि त एकान्त नै चाहिनेरहेछ। मोवाईलमा अगिदेखि गीत बजिरहेकै थियो। संयोग भनौ वा के, मोवाईलमा कविरको दोहा बज्न लाग्यो :
“जिए भी लकडी, मोहे भि लकडी, देख तमासा लकडीका
क्या जीवन क्या मरण कविर, खेल रचाया लकडीका”
तल घाटमा देखिरहेछु, ९ जना जति मलामीले ब्रह्मनालमा ल्याएर बाग्मतीतिर मुख फर्काएर एउटा लास राखे। एउटा मानिस चिता तयार गर्न दाउराहरु मिलाउदै छ। अर्को मानिस माथिपट्टि पुलमा बसेर सो चिता तयार गरिरहेको हेर्दै छ। दिमाग फेरी चिलायो, ‘त्यो चिता तयार गर्ने मानिस, त्यो माथिपट्टि पुलमा बस्ने मानिस र लास बोकेर आएका मलामीहरु के सोच्दाहुन कुन्नि ?’ 
सायद म बकवास कुरा सोचिरहेछु। धेरै पटक सोचेको छु कि अब सोच्नै छोडिदिनेछु। तर लुतो लागेको छ मेरो मगजमा। बेलानकुबेला चिलाईरहन्छ। मैले नसोच्न कहिल्यै सकिन।
.........
झिसमिसे उज्यालो हुन लागेको थियो। पानी पर्न आँटेझै लाग्दैथ्यो तर परिसकेको थिएन। मलाई हिजोको जाँडले पूरै छोडिसकेको थियो। चिया पिउन मन लाग्यो। कुनै पसल खुलेका छन् कि भनेर पशुपतिको पश्चिम गेटतर्फ आए। कसैले भन्यो “बेलपत्र पनि कत्ति धेरै महंगो भएको ? एक भारीको तीन हजार अरे।” 
मीठो स्वरले छेवैमा एउटी केटी बोली, “दाई मन्दिर दर्शन गरेर जानुन। यी हेर्नुस्त कस्तो ताजा फूल ल्याएकी छु।”
सायद मलाई भनेको हुनुपर्छ। फर्केर हेरे। उ फूलजस्तै सुन्दर थिर्ई। मैले उस्लाई देखेदेखेजस्तै लाग्यो। आफ्नो भुलक्कड बानी सम्झेर आफैलाई रिस उठ्यो। 
छेउमै पुगेर सोधेः “मैले तिमीलाई यहाँ भन्दा अगाडी कतै देखेको छु ?”
“म सँधै यही फूल बेचिरहेकी हुन्छु। तपाई पशुपति आईरहनुहुन्छ भने यतै देख्नुभएको होला।” 
म अझै आफ्नो सम्झनामा बिश्वस्त हुन सकिन। सोधेः “तिम्रो नाम के हो भनत।” 
“दिप्ती।” उस्ले लजाउदै मुस्कुराएर बोली। उ यसरी मुस्कुराई कि फूलहरु पनि लाजले मूर्झाए। बास बसेका चराहरु ब्युतिएर पनि चिर्बिराएनन्। एकक्षण वाग्मतीले पनि बग्न बिर्सियो सायद र सायद बिर्सियो हावाले बहन। यस्तो लाग्यो कि पशुपति दर्शन गर्न आएका भक्तजनहरु एकटक उस्ले लजाउदै आफ्नो नाम भनेको सुनिरहे र पशुपतिनाथले पनि उस्को हाँसोको डाह गरे। 
कसैले झस्काउदै मलाई फेरी सोध्यो, “भाई फूल नलाने ?” 
म चुपचाप हिडे। मसँग फर्काउनका लागि कुनै उत्तर पनि थिएन। अलिकति पर पुगेपछि कोही बोलिरहेझै सुनियो “बिहानैको बोनी खराब गर्दियो। नकिन्नेले त नसोध्नु नि।” फूलको व्यापार गर्नेको कस्तो काँडाजस्तो रुखो बोली। सम्झिएरै नराम्रो लाग्यो।
मागेर गुजारा चलाउनेहरु पनि खाली थाल लाईन लागेर बस्न थालेका देखिए। बिस्तारै ठेलाहरुको बाक्लो उपस्थिति देखिन लागेको थियो। फूलको ब्यापार गर्नेहरु थपिदै थिए। 
म भने आर्यघाटबाट फर्किदै छु। यसैगरी धेरैपटक फर्किएको छु आर्यघाटबाट तर कुनै एकदिन मलाई आर्यघाट ल्याईनेछ र म कहिल्यै फर्कनेछैन। 
पर कतै मन्दिरभित्रबाट कोही ठूलो स्वरले चिच्यायोः जय शम्भो। 
twitter: @canvassss


6 comments:

  1. गज्जप रछ । बडा टेसिलो लेखाइ । निरन्तरताको शुभकामना

    ReplyDelete
  2. साँच्चिकै बहुलठ्ठी यात्रा ! लेखनको यो यात्रा जारी रहोस् !

    ReplyDelete