Saturday, October 8, 2016

‘प्रेम भरिया’


एकमन उघारेर पर्दा – चियाउन भन्दैछ झ्याल 
कतै जल्यो कि सडकछेउ – एक झिल्को लालीगुराँस ?

“लालीगुराँस अजम्बरी चम्पा चमेली, जे भनेनी हुन्छ हजुर म त नेपाली .. ” पल्लो कोठामा रोमी, लक्ष्मी, सोबिता र देवी नाच्नका लागि ताल मिलाउन खोजिरहेथे । यता प्रिन्स गितारमा “रातो र चन्द्र सूर्य” बजाउनको लागि लिड ट्युन गर्न खोजिरहेथ्यो । शिशिर ड्रमसेटको लेग बास मिलाउदैथियो । सन्जीव रातो र चन्द्र सूर्यको रिदम म्याच अप गर्न खोजिरहेथ्यो । कुमार मादलमा ताल मिलाउन खोज्दैथ्यो । अनिल भोकल प्राक्टिस गर्दैथियो । म भने बास गितारको स्ट्रिङ्गस मिलाउदैथिए ।

कहिले पल्लो कोठाको गीतले हामीलाई डिस्टर्व गथ्र्यो त कहिले हामीले बजाएको गितार र ड्रमको भोल्युमले उनीहरुलाई । सानो कक्षाकोठामा हामी रातो र चन्द्र सूर्यको धुन खोजिरहेथ्यौ । केटीहरु लालीगुराँसलाई अझ अजम्बरी बनाउन आफ्नो हात र खुट्टाको चाल मिलाउन खोजिरहेथे । हामी त्यसबेला कक्षा ८ मा पढ्थ्यौ ।

हामी प्राक्टिस गरिरहेको कक्षाकोठाको ढोका बिस्तारै खुल्यो र एउटा मान्छे चुपचाप भित्र छिरेर सर बस्ने चेयरमा बस्यो । त्यो मान्छेले आफ्नो मैलो ज्याकेटको खल्तीबाट बाँसुरी निकाल्यो र बाँसुरीमा “रातो र चन्द्र सूर्य” को धुन मस्त भएर फुक्न थाल्यो । हामी दङ्गदास परेर उस्लाई हेरिरह्यौ ।

“यो प्रेम भरिया हो ।” साथीहरु मध्ये कसैले त्यसो भने । मैले प्रेमलाई पहिलोपटक देखेको त्यही हो ।