Thursday, January 29, 2015

एउटा नमीठो कविता

रातभर आफ्नै कविता पढे 
र सोचे भोली चै म जीवनको कविता लेख्छु ।

सबेरै सूर्य दाईको चियापसल
चियाभन्दा पनि बढी तात्तिएर बसेको रैछ ।
“उ त मरिछे नि ।”

छि कस्तो नमीठो झस्को पस्यो 
सोधे — “सूर्य दाई के पो थियो रे उस्को नाम ?”

Thursday, January 1, 2015

धुब्रेसँग आधा रात

त्यो साँझ मैले धुब्रेलाई उसैले भनेअनुसार उसैको जन्मदिनमा भेटेको थिए । चिम्सा पारेर आफ्ना आँखा र आकाशतिर उचालेर आफ्नो सुँढ, उसले भनेको थियो – “तँलाई थाहा छ, कम्तीमा यो बर्षभरि मैले गोली खानुछ । आखिर आज जन्मदिनमै सेनाको गोली जो लागेको छ मलाई । हाहाहा ......”
...................
ऊसले आफू रन्थनिएर ढलुन्जेल पनि मलाई आँखा तर्न छाडेको थिएन । म पनि नरन्थनिएकोे कहाँ थिए र ? एउटा सजीव जङ्गली हात्तीलाई आफ्नै आँखाअगाडी देख्नु र भोड्काको हाफ बोतल भर्खरै सकिन आँट्नु, यी दुवै काफी थिए मलाई रन्थन्याउनका लागि । 

राप्ती किनारछेउ भोड्का पिउदै अस्ताउदो सूर्यको परावर्तन हेरिसकेर फर्किन के आँटेको थिए, एउटा हात्तीे मेरो छेवैमा आएर रन्थनिदै ढलेको थियो । ढल्नुअगाडी उसले मलाई आँखा तरेको थियो र एकचोटी आफ्नो दाहिने खुट्टो मज्जाले भुईमा बजारेको थियो । सायद त्यसरी खुट्टा बजार्नु र आँखा तर्नुको मेरानिम्ति कुनै किसिमको चेतावनी हुनसक्थ्यो । उ नढलुन्जेल मलाई डर लागेपनि ढलेपछि भने आफैलाई हाँसो उठ्यो । आफू नढलुन्जेल धुब्रेले मलाई आँखा तरेको सम्झिएर खित्खिताए मनैमन एकचोटी । 

र उ ढलेपछि म केही ढुक्क भए ।