चिच्याउदै बितेकी सुत्केरीको
जीउको रंग कस्तो हुन्छ ?
स्याहार नपाएर
बादी आईमाईले मृत जन्माएकी
बाउ थाहानभएको बच्चाको रंग कस्तो हुन्छ ?
भर्खरै ढुन्मुन्निदै भट्टीबाट निस्किएका
एकहुल नेताजीहरुको आखाको रंग कस्तो छ ?
कस्तो छ
यो देशका मजदुरहरुको
आखामुनिको छालाको रंग ?
हातमा उठेको ठेलाको रंग के हो ?
के हो पसिनाको रंग ?
उसो त लालीगुरासको पो रंग कस्तो हुन्छ होला ?
त्यै गुरास शिरमा सिउरेकी
नवयौवनाको गालाको रंग चै कस्तो हुन्छ ?
कस्तो हुन्छ सिन्दुरको रंग ?
त्यै सिन्दुर उजाडिएकी
बिधवाको कलेटी ओठहरुले
गाउने गीतको रंग चै के हो ?
कस्तो छ
हामीले हर दिन देख्ने गरेको सपनाको रंग ?
कस्तो छ हाम्रोे ह्रृदयको रंग ?
किन कसैले मलाई उत्तर दिदैन ?
कि कस्तो हुन्छ
शहीदहरुको रगतको रंग ?
अथवा एकाविहानै
सेतो नं प्लेटको गाडीले
सडकबिच मारेको
भुस्याहा कुकुरको रगतको रंग कस्तो थियो ?
धन्य हामी सबैलाई थाहा छ,
हाम्रोे देशको झन्डाको
भित्ताभरि पोतिएको रंग रातो छ ।
र नीलो छ
हाम्रोे झन्डाको किनार ।
मन छुने कविता :)
ReplyDeleteजातिय पहिचानका मुद्दाहरुको समुल उत्तर दिएका प्रश्नहरुको सस्लेशण - कविता ।
ReplyDeleteNice poem.....Outstanding collaboration of images, diction,metaphors and connotation.
ReplyDeleteसबै रंगिन जिवनहरुर तिनका रङ छन् कवितामा
ReplyDeleteयध्यपि कविता प्रश्नहरुले भरिएको छ