Thursday, July 16, 2015

..... र एउटा एष्ट्रे

भोलि त सबेरै छाडेर जानु छ ।

सल्काउँछु एस्ट्रेमाथिको ठूटो चुरोट
सोच्छु खाटमाथि टुसुक्क बसेर
भोली त सबेरै छोडेर जानु छ ।



भुईभरि देखिरहेछु
सर्बत्र छरिएको आफैलाई
बाकसभरि भर्खरै कोचेको — पुराना केही कपडाहरु
साना दुई कार्टुन — किताबका ठेलीहरु
खट्खट् गर्दै रातभरि काप्ने — पुरानो चाईनिज फ्यान
र यत्रतत्र छरिएका — अपुरा टुक्रा कविताहरु ।

सम्झिन्छु —
सँगालेर के के पो लानुहोला आफूसँगै
यहीको बतास ?
वा आँखाले हेरेर कहिल्यै नसकिने समथर फाँट
वा बासझ्याङग र चराहरुको युगल गीत ?
प्रियतमासँग हात समाउदै डुलेको — चियाबारी
वा उनको सम्झनामा एक्लै बिताएका चिसा रात ?
आकाशभरि छरिएका ताराहरुझै — सिलिङगभरिका आफ्नै सपना
या त कैयनपटक यही ठाँउमा हराएको म आफू
सँगालेर के के पो लानुहोला र खै ?

सोच्छु
हिजोअस्ति कहिल्यै नबहेको यो चिसो हावा
आज किन चाल मार्न खोज्दैछ सुस्तरी मेरो कोठाभित्र ?

निभाउछु उही एष्ट्रेमा ठूटो चुरोट
र सोच्छु फेरी –
मनभित्र एकान्तमा कोही किन गाईरहेछ ?
“टाढा टाढा जानु छ साथी, एकफेर हाँसीदेउ .... ।”

भोलि त सबेरै छोडेर जानु छ ।

2 comments:

  1. शब्द सौरभको ,

    भोगाइ मेरो !

    ReplyDelete
  2. शब्द सौरभको ,

    भोगाइ मेरो !

    ReplyDelete