Saturday, February 13, 2016

जिवनको आश मारेको एउटा यात्रा

कुरीमा रात बिताएपछि अहिले हामी कालिञ्चोक भगवतीको सामुन्नेमा छौ । आठघन्टाको पैदल यात्रा पछिको रात थियो, त्यसको आफ्नै तस्विर छन् । तर, अहिले मन्दिरको वरपर भएका घन्टको आवाजले त्यसलाई बिर्साउँदै छ ।
साथीहरु सेल्फी खिच्नमा मस्त छन् । कोही मन्दिरमा फुलअक्षता चढाउनतिर लागेका छन् । हिउले ढाकिएका डाँडा क्यामेरा र मनमा कैद पनि भइरहेको छ ।
 .........
सिरेटो चलिरहेको छ । डाउन ज्याकेटले भने सिरेटोको तेज छेकिरहेको छ । वरिपरि गुराँसका केही बोटहरु छन्। गुराँसका कोपिला बोटहरु सायद हिउबाट निस्कने प्रयासमा छन्।
कालिञ्चोकको डाँडाबाट परसम्म हिउँले ढाकिएका डाँडा र मुटु काम्ने भीरमात्रै देखिएका छन् । क्षितीजनजिकै भने जस्ताका छानाहरु टल्किउका छन् । साथी चने भन्छ– ऊ त्यही हो, बिगु गाविस जहाँ हामी पुग्दैछौँ ।
चने आत्तिएको छ, हिजोको हिडाइँ र हाम्रो गन्तव्य देखेर । तर, यात्रामा कोही आत्तिएन र कोही रमाएन भने त्यसको मीठास नै हुँदैन । मीठास त यहाँ गौरीशंकर हिमाल र रोल्वालिंग रेन्जलाई बादलले छेकेकोमा पनि देखिएको छ । म कल्पना गर्छु, बादलले नछेकेको भए त्यहाँनेर गौरीशंकर देखिन्थ्यो, त्यहाँनेर सगरमाथा देखिन्थ्यो ।
........

समयले हामीलाई त्यहाँ लामो समय रहन दिदैंन । बिगु जाने बाटो थाहा पनि थिएन । म पुजारीलाई सोध्छु, ‘बा, बिगु गुम्बा जाने कताबाट हो, कति समय लाग्छ ?’
‘यहाँबाट १ घन्टा ओरालो हिडेपछि आईपुग्छ । त्यहाँबाट एउटा भिड छिचोलेपछि करिब ४ घन्टा जत्तिमा पुगिन्छ बिगु गुम्बा ।’
त्यो उनीहरु हिड्ने बाटो रहेछ । हामीले छलफल ग¥यौँ, ‘बरु कालिन्चोककै रेन्जमा भइएका डाँडा एक्स्प्लोर गरौँ ।’
छलफल अनुसार हामी अगाडि बढ्छौँ । बाटोभरि छापिएका ढुंगाहरु हिउले गर्दा चिप्ला छन् । झन्डै चिप्लिएको । सोच्छु– जीवनका सजिलै बाटोमा पनि कयौपटक चिप्लिएको मान्छे म, अहिले त बरु साथीहरुले उठाउलान् ।
कुरीमा हिउँ खेल्दा साथीहरु रमाएका थिए । तर, अहिले हिउँकै बाटो हिड्नुपर्दा सबैको अनुहारमा दिग्दारी देखिन्छ । अब त हिउँमा खेल्ने होइन, चनाखो हुनुपर्ने भएको छ । लडियो भने कहाँ पुगिन्छ भन्ने अनुमान पनि गर्न नसकिने भूत पनि लड्ने भीरमा हिडिरहेका छौँ हामी । ‘भित्तो है भित्तो’ सबै साथीहरु पालैपालो कराउँछौँ ।
बाटोमा अनौठो छाप देखियो । अन्दाज गछौ, हिमचितुवाको पैताला होला । अघिसम्म लडिनेमात्र त्रास थियो, अब हिमचितुवा आउला कि भन्ने पनि त्रास थपियो । आखिर जीवन पनि त्रासैत्रासैबीच चल्ने न रहेछ । एउटा सकिदैंन, अर्को सुरु हुन्छ ।
.........
भन्ज्याङ्ग आईपुग्यो। भन्ज्याङ्गबाट दाहिने तेर्सिने कि देब्रे हामीलाई थाहा भएन । ‘ईफ नोथिंग ईज लेफ्ट देन गो राईट,’ तोपे भन्छ । उसैपनि सबैले यही सोचेका थियौँ । देब्रेपट्टि त बाटो कम भीर ज्यादा देखिन्छ त्यो पनि हिउले पुरै ढाकेको।
कत्तिखेर थिन्साङ्ग पुग्ने, कहिले खाना बनाउन लगाएर खाने अत्तोपत्तो छैन। अगिनै कालिञ्चोकमा खाएर आएको अन्डाचनाले जेनतेन थेगिरहेको छ। एकैछिन यहाँ रोकिएर चाउचाउ खान्छौ। अनि घरदेखि भुटेर ल्याएको मकै भटमास र बदामको पोकोबाट सबैले दुईदुई मुठी झिकेर आ–आफ्नो गोजीमा राखेर कुटुकुटु चपाउँदै हामी फेरी बाटो नाप्न थाल्छौ।
.........
कालिञ्चोकबाट हिडेको ७ घन्टा बढी भईसकेको छ। यत्तिखेर हामी सायद ४००० मिटरभन्दा बढी उचाइमा छौँ । आँखाअगाडी कि त अर्को टाकुरा छ, कि तुवाँलो कि त भीर। साथीहरु ५ मिनेट पनि हिड्न नपाई बस्न थालेका छन्। आत्तिएर हो कि चिसोले टाउको फुट्लाजस्तो गरि दुख्न थालेको छ । फस्ट एड बक्सबाट निकालेर निम्स खान्छु।
‘यता त बाटो छैन पिले,’ म चिच्याउँछु, ‘तल्लो बाटो  होला ।’ म बाटो फेला पार्न अलिक अगाडि बढेको थिएँ ।
चनमते बड्कौला पछ्याउदै मुनिपट्टिको अर्को बाटो हिड्न थाल्छ। हामी उसैलाई पछ्याउछौ। तर त्यो बाटो पनि पो डाँडाको टुप्पोमा पुगेर सकियो। हिँउ अझै उस्तै छ।
अब भने हामी पुरानै बाटो होला भनेर फेरी आधि घन्टा जस्तो वर फर्कियौ।
घडी हेरे। हामी हिडेको ८ घन्टा भईसकेछ। साँझको ४ बजेको छ। वरिपरि तुवाँलो छ। गाँउ कतै केही देखिदैन। हिडाईले भन्दा अब हामी हरायौ भन्ने मानसिकताले बढी थकाएको छ।
फर्किदै गर्दा चिर्पट दाउरा बाँधेर राखेको एउटा ओढार देखियो। मनमनै सोचे यदि हामीले बाटो हराएका नै हौ भनेपनि यो ओढारमा रात बिताउन सकिन्छ। यहाँ कमसेकम दाउरा छ। एकरातलाई खान पुग्ने सामाग्री त हामीसँगै छ। पक्कै भोलीपल्ट उज्यालो भएपछि गाँउ देखिएला ।
........
कम्मरसम्म आउने हिउ छ। जिपिएस डिभाईस र मोवाईल सबैको ब्याट्री सकिएर अफ छ। अन भएपनि नेटवर्क टिप्नेवाला छैन। अन भएको मोबाईल सन्जयको हो जहाँ उ गुगल म्याप हेरिरहेछ। तर त्यो म्याप पनि यकिनका साथ हामी कहाँ छौ भन्न सक्दैन ।
“के गर्ने अब?”
“हैन दाई, बाँच्ने हो भने अल्टिच्युड लुज गर्नैपर्छ। तल झरौ।” निर्मल भन्छ।
सबैको अनुहार अँध्यारो भयो । लाग्थ्यो, सबैजना सोचिरहेका छन्– अब बाँचिन्छ त हामी ?
कालिञ्चोक फर्किने भनेपनि हामीलाई ८ घन्टा लाग्छ । ४ बजिसकेको छ । तर, फर्किने बाटो पनि त हामी एकिनसाथ पहिल्याउन सक्दैनौँ । अघिकै ओडारमा पो बस्ने कि ? तर्कहरु हुन थाल्छन् । तर, निर्मल मान्दैन । उ अझ बढी चिन्तित छ, ‘भोलीको मौसमको के ग्यारेन्टी? हामीले अल्टिच्युड लुज गरेनौ भने जो कोहीलाई जे पनि हुनसक्छ । ६ बजेसम्म उज्यालो हुन्छ । दुई घन्टामा हामी धेरै तल झर्न सक्छौ।’
‘विस्तारै है केटाहरु हो, मैले चितुवा देखे,’ लन्द्रे भन्छ । यतिबेला हामी निकै तल झरिसकेका छौँ ।
हामी फेरी अर्को भीर झ¥यौं। त्यो भन्दा धेरै तल दाहिनेपट्टि हिउ नै हिउको बिचमा एउटा अर्को चौरीगोठ देखियो, जुन टाढैबाट चकमन्न देखिन्छ। त्यहाँ पुग्न हामीले छोडेर आएको डाँडामुनि जानुपर्छ जुन असम्भव त छैन तर गाह्रो अवश्य छ। हामीले त्यहाँ नजाने बिचार गर्यौ।
साँझ छिप्पिएको हो वा तुवाँलोले छेकिएको हो पत्तो पाउन गाह्रो भईरहेछ। मास्तिर फर्कि हेरे। ऋघि हामीले जहाँबाट बाटो छैन भनेर फर्किएका थियौ त्यसैको ठीक मुन्तिरको अर्को डाँडामा आईपुगेका छौ अहिले। बाटो रहेनछ पनि। त्यो डाँडो भित्रैपट्टि खोपिएको केभ्ड टाईपको देखिन्थ्यो। धन्न हामीले त्यो बाटो ओर्लने मुख्र्याई गरेनछौ।
लन्द्रे फेरी चिच्यायो तर प्रष्ट सुनिएन। दौडदै अगाडी गयौ हामी र एकैसाथ सबै चिच्यायौ। धेरै मुनि डाँडामा दुईवटा जस्ताका छाना देखिएका थिए। बारी जस्तो हरियो ड्याँग लगाएको केही मलिलो भाग पनि देखियो। भर्खरै सल्काएको चुरोट एक्कासी बहुतै मीठो लाग्न थाल्यो। जस्तो कि यस्तो मीठो धुवाँ मैले कहिल्यै तानेको थिईन। लाग्यो अब चै हामी बाच्यौ।
.........
छ बज्न लागिसकेको छ। हिउ अझै सकिएको छैन। एउटा सानो खोलो भेटियो। खोलोको वरिपरि जमेको हिउ लौरोले हानेर फुटाउन खोज्छ निर्मल। तर सक्तैन। त्यो एकदम साह्रो बनेर बसेको छ।
ढुंगाले ओढेको हिउको बर्कोमाथिको बाटो हिडिरहेछौ हामी। चने चिप्लियो। धन्न गुराँसको हाँगो भेटेछ र मात्रै, नत्र तीखो ढुंगोमा टाउको बजारिन सक्थ्यो। बजारिएको भए उसको टाउको? कल्पना मात्रै पनि सारै अत्यासलाग्दो बन्यो। हिँड्दा हिँड्दै मन कहाँ अल्झेछ कुन्नि,अनुराग खल्तीमा हात हालेर एकसुरले हिँडिरहेको रहेछ। चने चिच्याउछ–“ओई अनुराग खल्तीबाट हात झिक्, लड्लास। ऊ झस्याङ्ग भएर हात बाहिर निकाल्छ।”
अब बिस्तारैे हिउ पातलिन थालेको छ। मूलबाटो त अझै पत्ता लागेको थिएन। पत्कर सोहोर्ने बाटो ओर्लनुको अर्को बिकल्प थिएन हामीसँग। हामी ओर्लिरह्यौ। त्यो टिनको छानो जत्ति नजिकिदै छ साँझ उत्ति नै छिप्पिदै छ। मास्तिर फर्केर हेर्दा हामीले हिउले छोपिएको चारवटा निर्जन पहाड काटेका छौ। बाटो हराएको पहाड त देखिन पनि छोडिसकेको छ।
.........
‘होप ईज अ गुड थिंग। मे बि द बेस्ट अफ थिंग्स एण्ड नो गुड थिंग एभर डाईज।’’
फिल्म द शशान्क रिडेम्पसन को यो लाईन चनेले बोल्दा नबोल्दै हामी त्यो गोठ छाडेर टर्च बाल्दै ओरालो झ¥यौं। बिहानबाट हिडेको लगभग ११ घन्टा भईसकेको छ तर कालिञ्चोकको डाँडो छोडेपछि हामीले हामी १० जना बाहेक बोल्ने अर्को मानिस भेटेका छैनौ। पारी डाँडामा दुईवटा बत्ती बलेको देखियो जहाँ पुग्न कम्तीमा पनि ६ घन्टा लाग्छ होला। जे होस् त्यो बत्ती हाम्रोलागि त्यत्तिखेर अर्को आशा बन्यो जसरी अगि दुईवटा टिनको छानो बनेको थियो। “गफाडी पक्कै तल गाँउ छ। गोठहरु गाँउको छेउछाउ नै हुने गर्दछ।” गफाडीले कुनै उत्तर दिएन।
“तर गाँउ अझै आईपुगेको छैन। असलमा गाँउका कुकुरहरुले सहरतिरको मानिसको गन्ध सजिलै थाहापाउछन्। यसर्थमा तिनीहरु भुकेको सुनिनुपर्ने हो।” म एक्लै बोलिरहेछु।
“ओई सबजना चुप लाग त,’ लन्द्रे बोल्यो । सबैजना जहाँको त्यही टक्क रोकियौ। र त्यो औसीको अधेरो चकमन्नतामा कुकुरहरु भुकेको आवाज सुनियो।
.........
बेलुकीको ९ बजेको छ। सायद गाँउलेहरु बेचल्तीको बाटोबाट ग्रुपनै आएको देखेर अनेक अड्कल काटे होलान्। मोबाइलमा कसैले कुरा गर्दैगरेको सुनिन्छ, “अँ १०÷१२ जना माथिबाट टर्च बालेर आउँदैछन्।” यत्तिकैमा एउटा बुढो मान्छे खोक्दै घरबाट निस्किन्छ।
सोध्छौँ “यो गाँउको नाम के हो?”
“तारेभिर।” एक शब्दमा जबाफ फर्काएर ऊ चुपचाप उभिन्छ।
हामी कोही पनि हाँस्ने मनस्थितिमा छैनौ र यो पक्कै कुनै जोक हैन। “त्यही तारेभिर जहाँ आईपुग्न कालिञ्चोकबाट १ घन्टा लाग्छ?” पुजारीले भनेको सम्झदै सोध्छु म।
“हो तर तपाईहरु कसरी यताबाट ?”
“खासमा हामी थिङसांग हुदै बिगु जान लागेथ्यौ तर बाटो हरायौ।” म भन्छु।
“यता नजिकै बास पाईएला कतै” पिले सोध्छ।
उसले एउटा घर देखायो। नुनतेल र खुद्राखुद्री सामाग्री बेच्ने पसल रहेछ त्यो घरमा। तामाङ बस्ती रहेको यहाँ बुढाबुढी, आईमाई र बालबच्चा बाहेक युवा कोही देखिदैन। यो घरका दुई जवान छोराहरुमा एउटा मलेसिया र अर्को कतार गएका रहेछन्।
१० जना लस्करै भुईमा सुत्ने व्यवस्था भयो। भर्खरै २ बर्ष पुगेकी नातिनीको नामको पोथी काटेर खाने भयौ हामी। चिया पिएर आगो तापेर थकाइ मार्दै यसघरका मान्छेसँग ‘हामीले बाटो कता हरायौँ होला’ भनी सोधखोज गर्न थाल्छौ।
“यस्तो हिउँमा कहाँ भेटिन्छ त बाटो ? धन्न तपाईहरु बाँचेर आउनुभएछ। पोहोर साल बाटो हराएर त्यतै दुईजना मान्छेको मरेका थिए।” बुढा फेरी बोले “यदि त्यो डाँडोभन्दा उता जानुभएको भए कुनै गाँउ नै थिएन। धन्न ओर्लनुभएछ तपाईहरु। नत्र त खासा पुग्नुहुन्थ्यो।”
भोकको बेलामा सबैभन्दा मीठो खाना हुँदो हो। तर यत्तिखेर त हामीलाई आफ्नै जिवन मीठो लागिरहेछ। पार गरिआएको त्यो यात्रा मीठो लागिरहेछ। र थकान भोलीको बाँकी यात्राले लागिरहेछ। भोली त सबेरै हिड्नुछ।


नियात्रा यो लिंकमा पनि पढ्न सकिनेछ ।

1 comment:

  1. rameroo lageyoo, hami pani 2016 october ma jane plan ma chau, malai route planner help garana

    ReplyDelete