Thursday, November 27, 2014

हजुरआमाको पोल्टो

उहिले उहिले
म स्कुलबाट घर फर्कनेबित्तिकै
लपक्क म्वाई खानुहुन्थ्यो मेरी हजुरआमा
र निकालेर दिनुहुन्थ्यो आफ्नो पोल्टोबाट
रंगीचंगी खोल भएको एउटा चकलेट
म बाख्राको सानो पाठो झै चुलबुले भईदिन्थे ।


मलाई प्रष्ट याद छ
मेरी हजुरआमाको पोल्टोमा
कहिले हुन्थ्यो पोलेको आलु ।
कहिले हुन्थ्यो भुटेको मकै ।
र सँधै छौडे डाँडाको शुक्रबारे हाटबाट घर फर्किदा
ल्याईदिनु हुन्थ्यो मेरै लागि भनेर
एक पोका बिस्कुट एउटा कोसो केरा र केही चकलेटहरु
फक्रेको सयपत्रीझै म खुसीले फुरुंग परिदिन्थे ।

मेरी हजुरआमा
बारीमा फर्सी टिप्न जाँदा
म पर्खिरहन्थे बारीको डिलमा
फर्की आउदा निकालेर पोल्टोबाट उहाँ एउटा काँक्रोको चिचिलो दिनुहुन्थ्यो ।
कहिलेकाँही आलुबखेडाका गेडा दिनुहुन्थ्यो
कहिले बनबाट काफल टिपी ल्याईदिनुहुन्थ्यो
त कहिले सारै जतनसाथ ऐसेलु पोको पारेर ल्याईदिनुहुन्थ्यो
हजुरआमाले पोल्टोबाट निकाली दिएको
चोथ्रो खाएपछि म पटक पटक मेरी हजुरआमाले कपाल कोर्ने
पुरानो फुटेको ऐनामा आफ्नो जिब्रो हेर्थे
र देखाउथे चोथ्रो खाएर रातो भएको जिब्रो ।
हजुरआमा हर्षबिभोर भईदिनुहुन्थ्यो ।

त्यो पोल्टो त्यही फरियाको थियो
जहाँ म सयौंपटक निदाएको छु ।
र हज्जारौपटक पिसाब फेरेको छु ।

हजुरआमाको पोल्टो त्यो समय मेरो खुसीको सानो संसार थियो ।

तर अब म धेरै ठूलो भएको छु ।
सहरको नामी कार्यालयको कारिन्दा बनेको छु ।
आजकाल हजुरआमाको पोल्टोमा
आफ्नै बाल्यकालको फोटो देख्दा पनि दिगमिग लाग्छ ।
मलाई आजकाल हजुरआमाको फरिया एकदमै नमीठो गनाउछ ।

No comments:

Post a Comment