Thursday, September 11, 2014

रुमाल

अहिले म सिलीगुडीमा छु ।

सिलिगुडी, भारत ।

सामान किनमेल गर्नको लागि यहाँ आएको हुँ । नेपालमा भन्दा यहाँ धेरै सस्तो पर्छ । सामान पनि ओरिजिनल पाईन्छ । सबै यसै भन्छन् । मलाई पनि त्यस्तै लाग्छ ।

आज शनिबार पनि हो । हाम्रोमा आज शनिबार प्राय सब्बै कामकाज ठप्प हुने र यहाँ सिलिगुडीमा चै आईतबार मात्रै सार्वजनिक बिदा हुने र पसलहरु बन्द हुने भएकाले, मैले आजै आउने निर्णय गरेको हुँ । शनिबार हाम्रो बजार चुपचाप भएजस्तै यहाँ पनि आईतबार ठप्प हुने गर्दछ ।



मैले दिनभर लगाएर आफ्नोलागि एकजोर जुत्ता र केही क्यानभास किनेको छु । सानैदेखि पेन्टिंगको खुब शौख थियो । तर जति उमेर बढ्दै गयो, त्यति नै जिम्मेवारी नामको बाध्यताले घेर्दै लग्यो । अनि त बिहा, बच्चाबच्ची सबैको भबिष्य सोच्दासोच्दै पेन्टिंगको लागि समय नै पाईन । छोराछोरीहरु हुर्किसके अहिले । केही महिना अगाडीदेखि श्रीमती पनि फुर्सदिलो भएकी छे । मलाई पसलमा आएर सघाउन थालेकी छे । त्यसले सघाउन थालेदेखि नै त हो, मनमा मेरो पुरानो रहर पेन्टिंगको भूत चढ्न थालेको । त्यसपछिदेखि मैले स्टाम्प प्याड बनाउने र कपडाहरुमा नारा लेख्ने काम छोडेको छु । मैले त्यो सटर पनि बेचिदिए । अहिले पुरानो फेन्सी पसल मात्रै बाँकी छ । फेन्सी पसलमा सबैथोक राखेको छु । फेन्सी पसल भन्ने थाहापाई पाई बेलुकी बेलुकीतिर कण्डम किन्न आउने केही केटाहरु देखेर चै खुब हाँसो उठ्छ । तर उनीहरुको पनि के गल्ती र ? आखिर के कुरा कुन ठाँउमा बेच्न हुने वा नहुने भनेर न सरकारले नै तोकिदिएको छ । तोकेकै भएपनि न पसलेहरुले पालना गरेका छन् । पान पसलमा पनि कन्डम पाउन थालेपछि अभर पर्दा मेरो फेन्सी पसलमा कण्डम सोध्न आउनु कुनै गल्ती गरेका हैनन् उनीहरुले । यसरी सम्झिदा चै उनीहरुको अवस्था सम्झेर दुख पनि लागेर आउछ ।

अँ मैले त्यो पसल बेचेपछि श्रीमतीले पसल सम्हाल्न थालेकी छे । त्यसपछि केही दिनको लागि पेन्टिंग सिक्न काठमान्डौ पनि गए । पेन्टिंग सिकाउने गुरु म भन्दा नि तरुनो उमेरका थिए । तर उमेरले नहुँदोरैछ । आखिर सिकाई र शिक्षाले मानिसलाई धेरै माथि पुर्याउदोरैछ । जस्तो कि म भन्दा नि झन्डै आधा बढी उमेर कान्छो ब्यक्तिलाई मैले गुरु मान्नुपरेको छ । तर गुनासो छैन । मेरो पनि त उमेर सकिएको छैन । भर्खर त जिन्दगीको २ चौथाई अलिकति बढी बाँचे हुँला । गुरुलाई भेटेपछि उत्प्रेरणा पनि जागेको छ । पेन्टिंगका लागि समय जुटाउनु पर्नेछ । अब म बुढीसँग सल्लाह गरेर त्यो अहिले चलिरहेको फेन्सी पसल पनि छोड्नेवाला छु । त्यो सम्पूर्ण हिसाबले बुढीको भरमा छोडिदिनेछु । अनि म चै चित्र कोर्न थाल्नेछु । त्यसैको तयारी हो यो क्यानभास किन्नुको अर्थ पनि । पेन्टिंगका लागि केही रंगहरु पनि किनेको छु । ब्रस चै राम्रो नपाएकोले किनीन । त्यो चै काठमान्डौबाटै मगाउनुपर्ला ।

अब नेपाल फर्कने बेला भएको छ । जत्ति धेरै साँझ पर्दैगयो उत्ति धेरै चाप हुन्छ बसमा । उसो त पानीट्यांकीबाट सिलीगुडी आउने र फर्कने सबै गाडी प्याक नै हुन्छ । भारतीय मात्र हैन नेपालीहरुकै बढी चाप हुने गर्दछ बसमा । बसमा बंगाली बोल्नेहरु पनि भेटिन्छन् । कोर्टमोडमा आएको छु म । यहीबाट हरेक पाँच मिनेटमा छुट्ने गर्दछ पानीट्याँकी, काकरभिट्टा छेउको बोर्डर सम्मको लागि बस ।

म आउदा बस झन्डै प्याक भईसकेको थियो । यो छोडेर पछिल्लो बसमा जान मन लागेन । त्यसमा गयो भने भनेजस्तै सिट पनि पाईदो हो । तर होस् यसमा पनि सिट पाएकै छु । म यसैमा जान्छु । ढोकाभन्दा पाँचवटा सिट पछाडीको सिटमा गएर बसेको छु । म बसेको भन्दा दुई सिट अगाडी चै एउटा जोडी बसेका छन् । केटो बाहुन टाईपको देखिन्छ भने केटी चै नेवार जस्ती । उनीहरुलाई को चढे वा को चढ्दैछन् कुनै मतलब छैन । उनीहरुको साथमा भएको पोकापोकी देखेर अन्दाज लगाउन सकिन्छ कि उनीहरु कसमस र बिग बजारतिर गएर सपिंग गरेर फर्किएका हुन् । हुर्केबढेकाहरुलाई सिलिगुडी सपिंगको निहुमा डेटिंग आउने राम्रो सहर पनि भएको छ आजकाल ।

एउटा नेपालीभाषी जस्तै देखिने टिमिक्क परेकी केटी मेरो सिट छेउमै आएर “अंकल म त्यो झ्यालपट्टि बसुँ ?” भनेर सोधी । चुपचाप सरिदिए । त्यसले ‘अंकल’ भनेपछि चै सारै रिस उठ्यो । यो सिट छोडेर अर्कै बसमा जाम् जस्तो नलागेको पनि होईन । तर होस् पाँच मिनेट भएपनि चाँडै पुगिन्छ भन्ने लोभले म चुपचाप त्यही सिटमा बसे । त्यो केटीको जिउबाट मीठो बास्ना आईरहेथ्यो । पक्कै पनि प्राकृतिक गन्ध थिएन । प्राकृतिक गन्धमा पफ्र्युम मिसिएपछि त्यो झनै मीठो हुने गर्दछ । उ त्यस्तै मीठो बसाईरहेकी छे । सोचे, आजको क्यानभासमा यसैलाई उतार्छु । प्याक बस । साँझको समय । घाम भर्खर अस्ताउन लागिरहेछ । झ्यालमा हात अड्याएर टाढा कतै हिडेकी एउटी सुन्दरी । र उसको आँखामा..... ? अँ साँच्ची उसको आँखामा के देखिदो हो ?

बसले कोर्टमोड छोडिसकेको छ । उसले फर्किएर म पट्टि झुलुक्क हेरी । म उसको आँखामा टोलाईरहेछु । गाजले । आहा कस्तो सुन्दर छन् ती काला आँखाहरु । म चुपचाप उसको आँखा नियालीरहँदा उसले फेरी भनी “अंकल तपाईको यो सामान यहाँ तल राख्नुन । कस्तो अप्ठेरो भयो ।” अप्ठेरो त मलाई पनि भएको थियो । तर त्यो भन्दा अप्ठेरो उसले फेरी ‘अंकल’ भनेकोले भयो । सबैभन्दा अप्ठेरो त सुन्नेहरुले त्यो ‘अप्ठेरो भयो’ भन्ने शब्दलाई कुन भावले बुझे होलान््, भन्नेले भयोे । मलाई हल्का सरम लाग्यो । मानिसहरु सबै मलाई नै हेरिरहे झै लाग्दैछ ।

मैले चुपचाप सामान भुईमा राखे । मलाई उसले अंकल भनेकोमा यत्ति धेरै रिस उठ्यो कि, अब मैले उसको चित्र नकोर्ने निर्णय गरिसकेको छु । बदलास्वरुप उसकै ठाँउमा एउटी बुढी चाउरिएकी आईमाईको चित्र पोत्छु, सोचे । खासमा त्यो बुढी चाउरिएकी आईमाई र बसको झ्याल राम्रो बिम्ब त हुन्छ झै लागिरहेछ ।
बस जक्सन आईनपुग्दै पूरै प्याक भईसकेको छ । खलासी चै हरेक स्टेशनमा “खाली गाडी । खाली गाडी ।” भन्दै चिच्याईरहेछ । यहाँ पनि उस्तै त हो । काठमान्डौमा नेपाल यातायातले भन्दा बढी मान्छे कोच्छ यहाँपनि । खासमा मान्छे कोचिनु खलासीको गल्ती हैन । उसले त जहिले पनि बढी कमाउन खोज्छ नै । तर आफूलाई नै असहज हुन्छ भन्ने जानी जानी, उभिने हामी यात्रु उस्तो जस्तो लाग्छ मलाई चै ।

“आरो भित्तोरे जान ।” ढोकाछेउमा उभिएकाहरुलाई खलासी बंगालीमा अझै भित्र जान भन्छ । पटक पटक उ नेपालीमा पनि “भित्र सर्नुस” भन्दै चिच्याउछ । तर किन हो कुन्नि उसले नेपालीमा भन्दा बंगालीमा चै अलिक सम्मानका साथ “भित्र सर्नुस” भने झै बुझ्छु म ।

हामी नेपालीहरु चै जहाँ पनि अटेरी । जहाँ उभिएको छ, त्यही अढेस लागेझै र बाटो छोडेझै गर्छम । बंगालीहरु चै हामीभन्दा पनि धेरै अटेरी । बंगाली महिलाहरु बसमै थचक्क भुईमा बसिदिन्छन् । आजपनि एउटी महिला मेरैछेउ थचक्कै भुईमा बसिदिई । उमेरले ४५ कटेजस्ति देखिने त्यो महिला को अनुहार, उमेरभन्दा बेसी चाउरी परिसकेको छ ।

“दिदि साईड कोरुन् ।” खलासी बोल्छ । उसले नसुनेझै गर्छे ।

“हामी टाका दिछे । क्यानो उठ्बो । आमाके सिट चाही ।” पैसा दिएको छु भन्दै, उ सिटको लागि जिकीर गर्छे ।

“दिदी उठ्ते होबे । आरो लोग आछे । साईड कोरुन् ।” खलासीले अलिक ठूलो स्वरले हकारेझै गरेपछि चै उ आफ्नो  जिउ भारी बनाएर उठ्छे ।

“ठिक आछे दिदी । बागडोग्रा थेके आप्ना सिट अमी दिबो ।” त्यो आईमाई उठेको देखेपछि चै उ अलिक नरम भएर बागडोग्राबाट सिट मिलाईदिने बाचा गर्छ । तर सबैलाई थाहा छ, त्यहाँ पुगुन्जेल पनि सिट पाईनेवाला छैन ।

“आमाके सिट चाही । किन्तु आमार स्वास्थो ठीक नोई ।” यति भनिरहँदा पनि कसैले सिट छोड्नन् । “बंगालीलोग ओनेक जिद्दी होवे, किछु उपाय नोई ।” यसो भन्दै एउटा ठिटो उभियो । उमेरले सत्र अठार झै लाग्ने त्यो केटोले थप बोल्यो, “ठिकाछे दिदी । आमी शिबमन्दिरे नाम्बो । आप्नी अमार सिटे नैैन ।”

हत्तपत्त त्यो केटोले सिट छोड्नुअगाडी उ उठ्छे । अनि त्यहाँ बसिसकेपछि लामो सास फेरेर उ बोल्छे, “धोन्योवाद ।”

केटो चुपचाप उभिन्छ । मान्छेहरुको चाप धेरै बढिसकेको छ । तरपनि खलासीले मान्छे कोच्न छोडेको छैन ।

छेउकी केटीले अगिनै कानमा ठेडी कोचिसकेकी छे । उ दुर त्यो डुब्न लागेको घामसँगै डुब्न लागेझै देखिन्छे ।

बस सिटी सेन्टर आईपुगेको छ । यहाँ एउटा नामुद हस्पिटल छ । ‘च्यांगको हस्पिटल ।’ प्राय दैनिक सिलिगुडी आउने नेपालीहरुमध्ये च्याँगको मा आउनेमा झन्डै ४० प्रतिसत बेसी हुन्छन् होला । यो चै मेरो अनुमान । सुन्दाखेरी चाईनिज जस्तै नाम सुनिने भएपनि यिनीहरु पहिलेदेखि नै यहीँका बासिन्दा हुन् भन्छन् बुढापाकाहरु । उसो त कोलकत्तामा धेरै पुरानो चाईना टाउन पनि छ । मलाई लाग्छ व्यापारको सिलसिलामा चाईनादेखि आएर भारतमै बस्नेहरु हुन् यिनीहरु । अनुहार, जीउडाल र नाम चाईनिज भएपनि यिनीहरु भारत र भारतीय लवजसँग राम्रै परिचित छन् झै लाग्छ । सुन्नमा आएअनुसार डाक्टर च्याँग प्राय सिरियस हुन्छ । र उ सिरियस हुनुको कारण कसैले सोध्यो भने उ भन्छ, “आजकाल नेपालीहरु आउनै छोडे ।” म यो सुनेर खुब हाँसेको थिए त्यसबेला । च्याँगको हस्पिटल आईपुग्दा म प्राय यही कुरा सम्झन्छु । मलाई अझै पनि हल्का हाँसो उठ्छ ।

खासमा बिर्तामोड, चन्द्रगढी र काकरभिट्टा तिरका आउने न हुन् च्याँगको हस्पिटलमा । अब त उतैपनि राम्रो हस्पिटलहरु खुलिसकेका छन् । तर मान्छेहरुको पुरानो बिश्वास न हो । बिरामी परे भने एकचोटी च्याँग चै स्योर सम्झन्छन् हाम्रोतिर ।

खलासी उसैगरी चिच्याउछ : “खाली गाडी । खाली गाडी ।”

ओर्लिने भने कोही होईनन् । बस पर्खेर बसेकाहरु सब सकिनसकी चढ्न थाल्छन् । उनीहरुलाई थाहा छ अब जुन बस आएपनि खाली आउनेवाला पक्कै छैन ।

“क्यान बोल्छेस् सिट खाली आछे । सिट खाली आछे । भित्तोरे जगा नोई ।” बंगाली हरु फत्फताउछन् । आफू उसैगरी कोच्चिएरै चढेका नेपालीहरु पनि कराउन थाल्छन्, “सिट त के उभिने ठाँउ खाली छैन । कत्ति धेरै मान्छे कोच्दोरैछ यो खलासी ?”

धन्न, म भने कोर्टमोड पुगेकै भएर होला सिट पाएको छु । र मैले छोडेको झ्यालपट्टिको सिटमा एउटी राम्री केटी छे । जसले मलाई केहीबेर अगाडी मात्रै दुईचोटी ‘अंकल’ भनेकी छे । मलाई त्यसले ‘अंकल’ भनेको भएर खुब रिस उठेको छ । होला कपाल हल्का फुलेको छ । तर ज्यान त खदिलै छ नि । अझैपनि दुईचार ठिटा त कुट्छु झै लाग्छ । बेलुकीपख उसु सिकाउछु । भुडी पनि लागेको छैन । ज्यान परेका केटाहरु पनि मलाई ‘गुरु’ भनेर बोलाउछन् । मलाई देख्यो भने डराएर तर्किन्छन् । आफूलाई भने आफू खुब ह्यान्डसम लाग्छ । फेरीपनि त्यसले ‘अंकल’ भनेको सम्झेर चै खुब रिस उठिराको छ । त्यसले ‘दाई’ भनेको भए त्यसको के जान्थ्यो र ? म पनि त खुसी हुन्थे । यो एक घन्टाको बाटो पनि त चाँडै कट्थ्यो । तर पनि सिटमा बस्न पाएर होला मलाई उत्तिसारो टेन्सन भने लागिरहेको छैन । यो गर्मीमा यस्तो कोचाकोचमा उभिनुपरेको भए कम्ता टेन्सन हुदैनथ्यो । “बैनी अलिक झ्याल खोल त ।” म मेरोछेउमा झ्यालपट्टि बसेकी केटीलाई भन्छु । खासमा भन्ने हो भने उसँग बोल्न ईन्टेरेस्ट भएर हैन, गर्मी त आखिर बस्दा पनि त हुन्छ नि । बस प्याक जो छ । उ झ्याल खोलिदन्छे ।

१०–१२ जना मान्छे ‘सिटी सेन्टर’ बाट चढेका छन् । उसैपनि प्याक बस, झनै प्याक भएको छ । खुट्टा टेक्ने पनि ठाम् छैन । अब मान्छेहरु चढ्दैनन् सायद । यो मेरो अनुमान हो । यद्यपी म गलत पनि हुनसक्छु ।

सिटी सेन्टर छेउबाटै चढेजस्ती लाग्ने, मेरो उमेर भन्दा अलिक कमकी एउटी अधबैसे नेपाली आईमाई मेरो सिटमा अढेस लागेकी छ र बसको माथि हात समाउने डन्डीमा समाएर उभिएकी छे । उसलाई देख्दा एकदम असहज तरिकाले उभिएकी झै लाग्छ । लाग्छ उ बिरामी छे । पक्कै च्याँगको हस्पिटलबाट आएकी हो । म गेस गर्छु । दाहिने हातले बसको रेलिंगमा समातेकी उसले आफ्नो आधा जीउ सब्बै त्यही हातको भरमा उठाएकी छे झै लाग्छ । अनि आधा जीउ चै म बसेको सिटमा अड्याएकी छे । उसको जिउले मेरो जिउमा पनि छोएको छ । मलाई अप्ठेरो लागेपनि म केही भन्न सक्तिन । किनकी यस्तो प्याक बसमा उसको नियत खराब भएर मसँग टासिन आएकी पक्कै होईन । हेर्दाखेरी पनि खराब नियतकी देखिन्न । र मेरो पनि नियत खराब छैन । आफ्नै घरकी श्रीमति लक्ष्मी जस्ती छे । भलै झ्यालछेउको सिटमा बसेकी केटीको कुरामा अर्कै कुरा लागु हुन सक्छ । आखिर तरुनी भनेका तरुनी नै हुन्् । यो जो उभिएकी छे, उ पक्कै दुई तीन सन्तानकी आमा भईसकेकी छे । बच्चा जन्माएकी आईमाई र नजन्माएकी तरुनी उसैपनि छुट्टिन्छन् । तरुनीहरुसँग जत्तिको मज्जा अरुमा हुँदैन । त्यो पनि भर्खरै २४–२५ उमेर खाएका तरुनीहरु, जसले बैंशको अर्थ पनि बुझेका छन् र उनीहरु जो बैंशलाई कमसेकम सदुपयोग गर्न जान्दछन् । तर झ्यालछेउकी केटीले मलाई अंकल भनेकी छे र मलाई बहुत रिस उठेको छ ।

मेरो छेउमा उभिएकी अधबैसे आईमाई जसको बिषयमा म कुरा गरिरहेछु, उ अगिको भन्दा झनै एकदमै अप्ठेरो सँग उभिएकी छे । मेरो कुममा आदि र सिटमा आदि गरेर अहिले त झन् पूरै जिउ नै ढेसा लगाएकी छे । यस्तो लाग्छ कि म उसको जीउको आधाभन्दा बढी हिस्साको बजन बोकिरहेछु । यसो उसको मुखतिर हेरेर ‘अलि सजिलोसँग उभिनुस् न’ भन्न मन लाग्छ । तर भन्न सक्तिन । उसको मुखतिर हेर्छु । उ एकदम निराश देखिएकी छे । बिरामी जस्ती । जुन हातले माथि समातेर आफूलाई उभिन मद्दत गरेकी थिई त्यही हातमै अर्को हातले समात्दै खुईय्य गरिरहेझै लाग्छ । सोध्छु, “तपाई बिरामी हुनुहुन्छ कि के हो ?

“हो । यो यहाँनिरको कुम सड्केर दुखिरहेको छ ।” उसले त्यही डन्डी समातिरहेको हात देखाउदै अझ भनी – “त्यही भएर यहाँ जचाउन आएको । डाक्टरले भनेको, नशा च्यापिएको छ रे ।”


“ए ल बिरामी हुनुहुँदोरहेछ । ल यहाँ बस्नुस् ।” मैले आफू बसिरहेको सिट छोडिदिए ।

“धन्यवाद दाई ।” उसले ‘दाई’ भनी । मुसुक्क मुस्काई । रुमालले आफ्नो निधारभरि टल्किएका पसिना पुछी । अनि चुपचाप बसी ।

यसरी बसिरहँदा नि, उ दुखेको कुमपट्टि चै एकदम असजिलो पाराले ढेसा लागेकी छे । पल्लो सिटकी केटीलाई म उठेको र अरु बसेको कुनै मतलब नै छैन । मात्र उसले एकचोटी पुलुक्क त्यो सिटमा बस्ने आईमाईपट्टि हेरी । फिस्स हाँसी अनि उसैगरी दुर दुर पहाडपर्तिर हेर्न थाली । यस्तो लागिरहेछ कि उ त्यो अस्ताएको घामको ठेगाना खोजिरहिछ ।

म अगि त्यो आईमाई उभिएजसरी नै उभिएको छु । तर उसलाई छोला कि भनेर बहुत सजग छु । किनकी सिटमा बस्न दिएर छुन खोज्दा एड्भान्टेज लिन खोजेको भान हुनसक्छ । मलाई कुनै एड्भान्टेज चाहिएको छैन । उ बिरामी थिई र मैले उसलाई सहयोग गर्न खोजेको मात्र हुँ ।

उसले कुर्ता सलवार लगाएकी थिई । कुमनिर सेतो ब्राको फित्ता देखिईरहेथ्यो । सायद कुर्ताको कुम अलिक तल सरेछ क्यारे । छाती हल्का खुलेको कुर्ता लगाएकी, उसको भित्री पनि धेरै भाग देख्न सकिन्थ्यो । आँखा कसरी कसरी त्यहाँ पुगितहाल्यो । केटीहरुको यो एउटा गुण हो रे कि ‘उनीहरुले नदेखे पनि उनीहरुलाई थाहा हुन्छ रे कि केटाले उसको कुन अंगमा हेरिरहेको छ र उनीहरुले कुन नजरले हेरेका छन् ।’  सायद मैले घुरेको थाहापाईछे क्यारे । उसले पुलुक्क माथि हेरी । सल मिलाएर ओढी । तर मलाई केही भनिन । अरे यार देखिएपछि कस्ले हेर्दैन ? जे भएपनि मेरो नजर चै गलत थिएन । अब यत्रो भिडमा उसलाई उसको सल मिलाउन पनि कसरी भन्नु ? उसले त्यसरी सल मिलाएपछि मेरो छेउका अरु मेरै उमेरका पुरुषहरुले लामो सास फेरेझै लाग्यो । मुन्टो अन्तै फर्काएझै देखे । सायद पक्कै उनीहरुपनि मैले जसरी नै घुरिरहेका थिए । जेहोस् राम्रै भयो उसले सल मिलाई । नत्र म उभिएको छेउ झन् बढी कोचाकोच हुनसक्थ्यो । उसैपनि अहिले मलार्य उभिन गाह्रो भईरहेकै छ ।

स्पीडमा रहेको बसले झ्याप्प ब्रेक हान्यो । सायद अगाडीबाट मान्छे वा केहीले बाटो काट्यो । यसरी ब्रेक हान्दा सबै यात्रु एकैतर्फ सोहोरिएझै भयौँ ।  त्यो म उभिएको भन्दा दुई सिटअगाडी बसेका जोडी मध्ये केटीको टाउको चै अगाडीको सिटमा ठोक्किएछ क्यारे । उ आफ्नो निधार मुसारीरहिथी । छेउमा बसेको केटो मायाले उसको निधारमा फुकिरहेथ्यो । यस्तो लाग्थ्यो कि उ आफ्नो ओठ त्यही लगेर जोड्न खोजिरहेछ तर परिस्थितिले गर्दा त्यसो गर्न मिलिरहेको छैन । होला ठोक्किएको पनि । तर म के कुरामा बिश्वस्त छु भने त्यस्तो बिघ्न दुख्नेगरी ठोक्किएको छैन । उ नाटक गरिरहेकी छे । र केटो नाटकको एउटा पात्र बनिदिएको छ । मलाई थाहा छ उनीहरुलाई यस्तो गर्न खुब मज्जा लागिरहेको छ । मलाई यसकारण पनि थाहा छ किनकी यस्तो अवस्था मैले पनि फेस गरेको छु ।
...........................................

त्यसबेला मैले भर्खरै कम्पार्ड दिएर एसएलसी पास गरेको थिए । क्याम्पस अलिक टाढा थियो । साईकलमा २० मिनेट पेडल मारेर म प्राय सधै क्याम्पस पुग्थे । मेरो घरछेउमै थियो एउटा स्कूल । स्कूल चै मेरो घरबाट हिडेर २ मिनेटमा पुगिन्थ्यो । मेरो क्याम्पसबाट फर्किने समयमा, स्कूल जाने बेला हुन्थ्यो स्कूलेहरुको । त्यै स्कूलेहरुको भीडमा एउटी केटी थिई । उ साईकलमै स्कूल आउथी । उसको साईकल पछिपछि म क्याम्पसबाट फर्किदा आउथे । उसले साईकल चलाउदा उल्टो दिशाबाट आएको हावाले उसको कपाल उडाउथ्यो । त्यो फुरफुर गर्दै उड्ने उसको कपाल । बेलाबेलामा साईकल चलाउदै उसले कपाल मिलाउने अन्दाज । आहा, त्यो कम्ता मीठो थिएन । अँ फागुन चैतमा चै खुब हावा चल्थ्यो । त्यो बेला उसलाई उसको कपाल भन्दा बढी फ्रक मिलाउदाको सास्ती हुन्थ्यो । म हेरेर खुब मज्जा लिन्थे ।

एकदिन म क्याम्पसबाट आउदै गर्दा बाटोमा उ उसको साईकलको फुस्किएको चेन मिलाईरहीथी । चेन दुबैतिर फुस्किएको थियो र चेन कभरमा बस्न मानिरहेको थिएन । उ बिचरी असिन पसिन भईरहीथी । मैले छेउमा गएर चेन बिग्रिएको देखीदेखी सोधे, “के भयो बैनी ?”

“हेर्नोस्न दाई । चेन बिग्रियो । म मिलाउन सकिरहेकै छैन ।”

“म मिलाईदिम् ?” मैले सोध्नुभन्दा अगाडी उ त्यहाँबाट सरिसकेकी थिई र मैले चेन समातिसकेको थिए ।

त्यो नै हामी बोलेको पहिलो पटक थियो । तर मेरा आँखाहरुले उसका आँखाहरुलाई यसअघि नै धेरैपटक धेरै कुरा भनिसकेका थिए । उसका आँखाहरुले पनि सायद ती कुराहरु बुझिसकेका थिए । र त हाम्रो हरेक दिन उ स्कूल जाने बाटोमा मसँग भेट हुन्थ्यो, जो कोईन्सिडेन्स मात्रै पक्कै थिएन । मेरा केही साथीहरुले भनेअनुसार बिश्वास गर्ने हो भने म क्याम्पस नगएको दिन, उसले साईकलको पेडल एकदमै बिस्तारै चलाईरहेकी हुन्थी । जस्तो कि उसलाई काँही पुग्नैथिएन । अनि पटक पटक पछाडी फर्किएर हेरिरहेकी हुन्थी । जस्तो कि, उसले पछाडी केही छोडेर आएकी छे । मलाई यी सब सुन्दा खुब मजा लाग्थ्यो ।

त्यसदिन चेन मिलाउन नसक्दा निधारभरि टल्किएको पसिना पुछ्न मैले आफ्नो रुमाल दिएको थिए । सायद हाम्रा आँखाहरुले यति धेरै कुरा गरिसकेका रहेछन् कि, मलाई पहिलोपटकको कुराकानीमै उसको पसिना पुछ्नका लागि रुमाल दिन कुनै अप्ठेरो लागेन अनि उसले लजाई लजाई त्यो रुमाल ‘धोएर फिर्ता गर्छु’ भन्न पनि उत्तिसारो अप्ठेरो मानिन । मैले ‘पर्दैन’ भनेथे ।

“किन र ?” उसले सोधीथी ।

“त्यो तिम्रो लागि मेरोतर्फबाट गिफ्ट भयो ।” मैले भनेथे ।

“तर रुमाल त गिफ्ट दिनुहुदैन रे । सम्बन्ध टुट्छ भन्छन् ।” उसले राती भएर भनिथी ।

“सम्बन्ध टुट्ने र नटुट्ने त हाम्रो आफ्नो बिश्वासको कुरो हो नि ।” मैले सम्झाएथे । अनि उ चुप भएकी थिई ।

मलाई लागिरहेथ्यो, मैले आफ्नो मुटु सुरक्षित राख्न उसलाई दिएथे । त्यसैबेला मैले साईकलको चेन पनि फिट गरिदिएको थिए । जेहोस्, मैले त्यो दिन साईकलको चेन मात्रै फिट गरिदिएको थिईन बल्कि हामी दुईको मुटुको चेन पनि एकैठाम्मा फिक्स गरेको थिए ।

हामीले एकअर्कालाई ‘आई लभ यु’ कहिल्यै भनेनौ । सायद हामीले यो सब भन्नुपर्ने आवश्यकता नै बोध गरेनौै ।

त्यसको एकबर्षपछि उसले एसएलसी सकी । मैले क्याम्पसको फस्ट ईयर । त्यसपछि त उ पनि मेरै क्याम्पस पढ्न आउन थाली । हामी क्लास भन्दा पनि बेसी क्याम्पसको छतमाथि हुन्थ्यौ । म भलिबल खेलिरहँदा उ उसको झ्यालबाट मलाई हेरिरहन्थी । एवंरीतले हाम्रो प्रेमको हरेक पत्ता गुलाब फक्रिरहेथ्यो ।

हामी कहिलेकाँही फिल्म हेर्न बिर्तामोड जान्थ्यौ । छेउछाउ आसपासका हामीले घुम्न बाँकी र प्रेमको लागि कसम खान बाँकी कुनै मन्दिर थिएनन् । बिर्तामोडको अर्जुनधारा, चन्द्रगढीको काली मन्दिर, भद्रपुरको हनुमान मन्दिर, दुर्गा मन्दिर अहँ कुनै कुनै बाँकी थिएनन् जो हाम्रो प्रेमको साक्षी नबसेको हुन् ।

सायद हाम्रो प्रेमको सुबास धेरै फैलिएछ क्यारे । जताततै हाम्रो प्रेमको चर्चा भईरहेझै लाग्थ्यो । परिणाम, त्यो समय उसको घरमा बिहाको कुरा चल्न थाल्यो । उसैपनि त्यो जमानाको हिसाबले कुरा गर्ने हो भने बिहा गर्ने बेला पनि भईसकेथ्यो । त्यो बारेमा उसले हामीे बिर्तामोडबाट फिल्म हेरेर फर्किदै गर्दा भनेकी थिई । बसमा थियौ हामी । बसको अन्तिम भन्दा अगाडीको सिटमा । उ सुक्सुकाईरहीथी । म उसलाई निश्चिन्त हुन सम्झाईरहेथे । बसले अगि भर्खरै जसरी नै झ्याप्प ब्रेक हानेथ्यो । उसको निधार अगाडीको सिटमा ठोक्किएथ्यो । उ झन् बढी सुक्सुकाउन थाली । म फकाईरहेथे । र अहिले मलाई ठ्याक्कै चै थाहाछैन म उभिएको भन्दा दुई सिट अगाडीको केटा, केटीलाई के कुरामा फकाउदैछ ? किनकी उनीहरुको कुरा म सुन्न सकिरहेको छैन ।

अँ, त्यसबेला घरमा त मेरो पनि बिहाको कुरा चलिराथ्यो । संयोग भनौ त्यो दिन आमाले मलाई एउटी केटीको फोटो देखाउनुभयो । मलाई त्यसअगि पनि दुईवटीको फोटो देखाईएको थियो । एकपटक बुबाले मान्नुभएन । एकपटक चै आमाले नै मान्नुभएन । र त्यसपटक चै मैले नै हेर्ने मनै गरिन । झल्झल्ती उ याद आईरही । अन्तिममा भने, “आमा बिहा नै गर्नु छ भने म रञ्जुसँग बिहा गर्छु ।” रञ्जु त्यही केटी थिई जो सँग म प्रेममा थिए । तर उ बाहुनी थिई । म भने नेवार । आमा मलाई सामाजिक कुरा सम्झाउन थाल्नुभयो । तर मैले जिद्दी गरिरहे ।

तर त्यसदिन पछि मैले रञ्जुलाई कहिल्यै भेटिन । एकदिन उसले मेरो नाममा लेखेको पत्र उसकी बहिनीले ल्याएर दिएकी थिई । पत्रको सार यस्तो थियो, ‘सबिन, तपाईले मलाई भुलेको राम्रो । भुल्न सक्नुहुन्न त्यो त मलाई पनि थाहा छ । म पनि भुल्न सक्तिन । तर म आमाबुबाको बिरुद्ध जान सकिन । समाज मेरो अगाडी तगारो भईदियो । तपाईसँग बिहा गरिदिन मान्नुभएन उहाँहरुले । हामीबिचको खाडल, हाम्रो जात भईदियो । हाम्रो थर भईदियो । मलाई माफ गर्नुहोला । तपाईसँग बिताएका पलहरु मेरो जीवनकै स्वर्णिम पलहरु हुन् । तपाईकी रञ्जु ।’

म सुक्सुकाउन पनि सकिन । तर चट्यांग पक्कै बर्सेको थियो छातीमा । उसकै बहिनीबाट थाहापाए, ‘उसँग बिहा गर्न लागेको केटो खान्दानी रहेछ । सुरुंगामा ३५ बिघा जमिन छ रे उनीहरुको । त्यहाँको जमिन्दार रहेछन् उनीहरु ।’ सायद सम्पतिको पो लोभ भयो कि उसलाई ? यो सोच्नु पाप ठहरिन सक्थ्यो तरैनि त्यो पनि कारण हो कि झै लाग्यो मलाई । एनीवे त्यसपछि हाम्रो भेट कहिल्यै भएन । मैले उसको बहिनीलाई दिदिसँगको अन्तिम भेटको लागि याचना पनि गरिन । सायद, त्यसको कुनै अर्थ छ झै लागेन मलाई ।
...............................

बस बागडोग्रा आईपुगेछ । सिट खाली त भएन, तर उभिन चै अलिक सजिलो भयो । त्यो शिवमन्दिर झर्ने भनेको बंगाली केटो अगिनै झरिसकेछ । आफ्नै बिगतमा रुमल्लिएछु म । उसो त अब पानीट्याँकी आउन पनि धेरै बाँकी थिएन । अब त्यै २५ मिनेट जत्ति लाग्छ होला ।

अगाडी उभिरहेकी एउटीले छेउमा उभिएको केटोसँग के खासखुस गरी । अनि म भएतिर आई । मलाई देखेर “नमस्ते” भनी । मैले ट्वाल्ल परेरै “नमस्ते” भने । खासमा पटक पटक देखेको भेटेको मान्छे पनि फरक ठाउमा भेटे भने म चिन्न सक्तिन । यो साह्रै ठूलो दुर्गुण हो मेरो । धेरैपटक आफूले चिनेको मान्छेजस्तै लागेर झुक्किएको छु । कत्तिपटक बोलेको, कुरा गरिराखेको मान्छेलाई नचिनेर उनीहरु रिसाएका पनि छन् । मैले पो के गर्नु, जानीजानी त्यसो गरेको हुँईन क्यारे ।

म ट्वाल्ल परेको देखेर उसले सोधी, “तपाई सबिन दाई होईन ?”

“हो त । तर .....”

“तर के नि ? मलाई चिन्नुभएन ?”

म फेरी घोरिए । सोच्नथाले, ‘कहाँ भेटे हुँला ?’

अनि उसले भनी, “म रञ्जुको बहिनी के त ।”

अनि पो बल्ल सम्झिए । उ अञ्जु । रञ्जुको बहिनी । गरामुनि, मेरो ससुराली छेउ नै बिहा गरेकी छे उसले । तर धेरै समय श्रीमान्सँगै काठमान्डौ नै बस्छे । बल्ल सम्झिए, त्यो अगि उसले फुसफुस् गरेको उसको श्रीमान् थियो । उ मलाई हेरेर मुस्कुराईरहेको थियो । अब चै म पनि फिर्ता मुस्कुराईदिए ।

“अनि यता कताबाट ?” सोधे ।

“दिदी बिरामी थिई । हाम्रो पनि केही किनमेल गर्नुथियो । त्यहीभएर यता सिलिगुडी आको ।” उसले हाम्रो भनिरहँदा आफ्नो श्रीमान्लाई झुलुक्क हेरेर मुसुक्क मुस्काई ।

“दिदी तैले सबिन दाईलाई चिनिनस् ?” अगिदेखि हाम्रो कुरा चुपचाप ट्वाँ परेर सुनिरहेकी, अगि मैले सिट छोडेकी आईमाईलाई हेर्दै उसले सोधी ।

म अवाक्क भए । उ त झन् बोल्नै सकिन ।

“ल कस्तो नचिन्नु भएको तपाईहरुले ? ........” बहिनी अञ्जु फत्फताईउन थालीसकेकी छे । तर मैले केही सुनिरहेको छैन । सायद उसको दिदी रञ्जुले पनि केही सुनिरहेकी छैन । यसबेला हाम्रा आँखाहरु पुन एकअर्काको आँखा नियालिरहेका छन् । गाडी गुडेको नगुडेको बिर्सिसकेका छौ हामीले । सायद सब्बै कुरा बिर्सिसक्यौ । आफैले पनि बिर्सिएका छौ आफैलाई । लाग्छ, हामीसँग बोल्ने कुनै शब्द छैनन् । र यो कुरा हामी दुबैलाई सँगसँगै भईरहेछ ।

हामी आश्चर्यमै छौ । उ बोल्न खोज्छे । बोल्न सक्तिन । म बोल्न खोज्छु तर बोल्ने शब्द पाईरहेको छुईन ।

साईलेन्सको अन्त्य गर्दै म आफै बोले – “कस्तो छौ ?”

“ठीक छु । तपाई नि ?” उसले सोधी ।

“म पनि ठीकै छु । अनि डाक्टरले के भन्यो ?” अगिसम्म खासै वास्ता नभएकी एउटी आईमाईलाई म यतिखेर मनबाट उसको पीडा सोधिरहेथे । ट्वाल्ल पर्न हामीले बिर्सिसकेथ्यौ । पालो त्यो झ्यालछेउको केटीको थियो सायद । मलाई अगिनै ‘अंकल’ भन्ने, झ्यालपट्टि बसेकी केटी वाल्ल परिरहिछे यतिखेर ।

“केही नाई । एक्सरसाईज गर्नुपर्छ भनेको छ । लिगामेन्ट च्यातिएको छ रे । धेरै भारी नबोक्नु भनेको छ । ..... अनि बिहा गर्नुभयो रे सुनेथे । कतिजना छन् छोराछोरी ?”

“दुईटा छोरा । तिम्रो नि ?”

“एउटा छोरो । एउटी छोरी ।”

हामी फेरी एकछिन चुपचाप भयौ । केहीबेरपछि उ आफै बोली, “थाहा छ मेरो छोरोको नाम सबिन हो नि । छोरीको चै सबिना ।”

ओहो मेरो मुटुमै हिर्काएझै भयो यत्तिखेर । म सोच्न थालेको छु, आखिर मेरै नामबाट किन राखी उसले आफ्नो बच्चाहरुको नाम ? बसले उसैगरी झ्याप्प ब्रेक हान्यो । हात सोहोरियो । सायद समाउने डन्डीमा काँटी निस्किएको रैछ क्यारे । बसको ब्रेकले जीउ हुत्तिएर हात सोहोरिदा हातबाट हल्का रगत बग्न थाल्यो । उसको सिटमा अढेसिएर मैले अर्को हातले रगत आएको ठाँउमा च्याप्प समाते ।

“के भयो ?” उसले सोधी ।

“केही नाई ।” मैले भने । तर उसको जिद्दी बानी गएको रैनछ । उसले मेरो हात समाती अनि रुमालले मेरो हात बाधिदिई ।

पानीट्याँकी आईपुग्यो । हामी ओर्लियौ ।

काकरभिट्टा जानको लागि उसकी बहिनी र बहिनीको श्रीमान् एउटा रिक्सामा चढे । उ र म एउटा रिक्सामा चढ्यौ । रिक्साभर के कुरा गर्ने नगर्ने मेसो पाउनै सकेनौ । दुबै बोलेनौ ।

उसले मेरो फोन नं मागी । मैले पनि उसको नं सेभ गरे ।

रिक्साबाट ओर्लियौ । उनीहरु गाडी चढेर जाने भए । मैले चै यहाँ काकरभिट्टामा साथीकोमा बाईक राखेको थिए । र म उनीहरुलाई बससम्म पुर्याउन आएको छु अहिले ।

बैनी अञ्जुले जिस्काउदै सोधी । “अब त बिर्सनुहुन्न नि ?” हामी केही बोलेनौ । लजायौ मात्र ।

बसले हर्न बजाउन थालिसकेको छ । उनीहरु बस चढ्नुअगाडी, उसले अगि मेरो घाउमा बाँधिदिएको रुमाल फुकालेर फिर्ता गर्न खोजे । उसले रुमाल मेरो हातमा पुनः थमाईदिदै भनी, “भयो पर्दैन । यो तपाईकै रुमाल हो । मेरो साईकल बिग्रिदा तपाईले मलाई दिनुभएको ।”

मसँग अब बोल्ने शब्द केही छैनन् । उ गाडी चढीसकेकी छे । लामो हर्न बजाउदै गाडीले मलाई धुलोमा छोपिदिएर अलप भएको छ । म भने रुमाल हेर्दै त्यहीँ उभिईरहेको छु । रुमाल धेरै खुईलिसकेको रहेछ । रुमालको कुनाको फेर उध्रिएझै देखिन्छ । रुमालमा उनको सुगन्ध चै अझै बाँकी छ । ठ्याक्कै त्यही सुगन्ध, जुन मैले उनको साईकलको चेन बिग्रिदा महसुस गरेको थिए ।



2 comments:

  1. बसको यात्राको नी येती लामो कहानी, शब्द खेलाउने र कथालाई पूर्णता दिने हजुरको कलाको पारखी भए| nice story :)

    ReplyDelete