Thursday, January 1, 2015

धुब्रेसँग आधा रात

त्यो साँझ मैले धुब्रेलाई उसैले भनेअनुसार उसैको जन्मदिनमा भेटेको थिए । चिम्सा पारेर आफ्ना आँखा र आकाशतिर उचालेर आफ्नो सुँढ, उसले भनेको थियो – “तँलाई थाहा छ, कम्तीमा यो बर्षभरि मैले गोली खानुछ । आखिर आज जन्मदिनमै सेनाको गोली जो लागेको छ मलाई । हाहाहा ......”
...................
ऊसले आफू रन्थनिएर ढलुन्जेल पनि मलाई आँखा तर्न छाडेको थिएन । म पनि नरन्थनिएकोे कहाँ थिए र ? एउटा सजीव जङ्गली हात्तीलाई आफ्नै आँखाअगाडी देख्नु र भोड्काको हाफ बोतल भर्खरै सकिन आँट्नु, यी दुवै काफी थिए मलाई रन्थन्याउनका लागि । 

राप्ती किनारछेउ भोड्का पिउदै अस्ताउदो सूर्यको परावर्तन हेरिसकेर फर्किन के आँटेको थिए, एउटा हात्तीे मेरो छेवैमा आएर रन्थनिदै ढलेको थियो । ढल्नुअगाडी उसले मलाई आँखा तरेको थियो र एकचोटी आफ्नो दाहिने खुट्टो मज्जाले भुईमा बजारेको थियो । सायद त्यसरी खुट्टा बजार्नु र आँखा तर्नुको मेरानिम्ति कुनै किसिमको चेतावनी हुनसक्थ्यो । उ नढलुन्जेल मलाई डर लागेपनि ढलेपछि भने आफैलाई हाँसो उठ्यो । आफू नढलुन्जेल धुब्रेले मलाई आँखा तरेको सम्झिएर खित्खिताए मनैमन एकचोटी । 

र उ ढलेपछि म केही ढुक्क भए । 

मलाई थाहाछैन त्यो भोड्काको नशा थियो वा थियो ममा भएको मानवियता, मलाई किन किन धुब्रेलाई त्यो हालतमा छोडेर जान मन भएन । बरु उ किन ढलेको रैछ थाहापाउन मन भयो । छेउमा गए । धुब्रे चल्मलाएन । मन अझ बढी ढुक्क भयो । राम्ररी हेरेपछि मैले थाहापाए उसको देबे्र खुट्टामा गोली लागेको रहेछ । खोपिल्टो परेको ठाँउबाट रगत बगिरहेको थियो । 

र त्यसपछि शुरु भयो मेरो अल्लारेपनामा मिसिएको भोड्काको ट्रिप । मैले एक पेग जति बाँकी रहेको भोड्का एकै श्वासमा सिनित्त पारे अनि आफ्नो सर्ट खोले । धुब्रे अचेत छ भन्ने कुरो यकिन गर्नका लागि मैले एकचोटी उसको घाउछेउमा आफ्नो हात सल्बलाए । र त्यसपछि केही पर पुगेर भोड्काको रित्तो बोत्तल फुटाँए । आवाजले व्युतियो कि भनेर फर्केर हेरे । नब्युतिएको देखेपछि मन ढुक्क भयो । अलिक परको चेरीको हाँगा भाँचे र त्यसलाई विस्तारै त्यो फुटेको भोड्काको बोतलको टुप्पोपट्टि समाएर धारपट्टिबाट तिखार्न थाले । ५–७ मिनेटको मेरो जोशपछि त्यो पूरै तिखारियो । 

मैले अबचाँहि आँट र हिम्मतले काम गर्नुपर्ने थियो । मुटु अरु समयमा भन्दा बढी नै धुकधु्क गरिरहेथ्यो । यदि म त्यसबेला एनिमेटेड फिल्ममा हुन्थे भने मेरो छात्ती १ बित्ता अगाडी आएको पटक पटक देख्न सकिन्थ्यो ।  

बिस्तारै धुबे्रछेउ गए । घाउ हेरे अनि उसले थाहापाउँछ कि भनी डराउदै मैले बनाएको तिखो घोचो बिस्तारै उसको घाउको मुखभित्र हुले । धुब्रे चल्मलायो । मन धक्क भयो । हात काँपिरहेको थियो । फेरी बिस्तारै अलिकति भित्र छिराए । छाती फुट्ला जस्तो गरी आफ्नै धड्कन बढ्यो । डर लागेर आयो । थाहापाए, उसले पुलुक्क आफ्नो आँखाले मलाई हे¥यो । उसको हेराईले मेरो डरको मर्करी झनै बड्यो । आफै पनि म तात्तिएको थिए । असिन पसिन भईसकेको थिए । तर पनि म चल्मलाईन । जोश जागेर आएको थियो मनमा । उसको घाँटीछेउ बिस्तारै हातले सुम्सुम्याए । अलिकति टाउको उठाउन खोज्दै उस्ले मतिर हेरेर बिस्तारै आँखा झिम्क्याएझै गर्यो । मैले उसको आँखा पढ्न खोजे ।  सायद यो मैले जे गरिरहेथे त्यसको खातिर मौन स्वीकृति थियो क्यारे । मैले अलिक बल लगाएर फेरी हुले । घोचो केहीमा ठोक्किएझै लाग्यो । घोचोको चेप्टो भागलाई ठोक्किएको बस्तुको छेउपट्टि पुर्याए । अनि घोचो समातिरहेको दाहिने हातलाई अलिकति घुमाएजस्तो गरेँ र जोड लगाएर घोचोले त्यो बस्तु बाहिर उछिट्याए । धुब्रे चिच्यायो, जोडले चिच्यायो । मैले आफ्नो कान थुने । त्यसबखत लाग्यो साँझमा बास बस्न उडिरहेका चराहरु पनि एकछिन रोकिए, र रोकियो पृथ्वी पनि घुम्न । साँच्चै मैले यस्तो आर्तनाद कहिल्यै सुनेको थिईन । र त्यसपछि धुब्रे चुप भयो । भुईमा हेरे, गोली निस्किएछ । त्यसपछि सन्तोसको लामो सास फेरे मैले ।

र फिल्मि प्रभाव मैले आफ्नो सर्ट उसको घाउ वरिपरि मिलाएर बाधिदिएपछि उठेर हिड्ने तरखर गर्दै एउटा सूर्य चुरोट सल्काए । 
........................
“ओई ........”

कसैले मलाई बोलाएझै लाग्यो । फर्किएर हेरे । कोही देखिन । हल्का साँझ छिप्पिन लागिसकेको थियो । धुब्रे बिस्तारै उठ्न खोजेझै देखिएको थियो । म फेरी अगाडी बढ्न आँटेथे, फेरी कसैले बोलाएझै ग¥यो, “ओई..... पर्खी ।” त्यो बोलाउने टोन फरक किसिमको अनौठो थियो । त्यस्तो टोन जो मैले कहिल्यै सुनेको थिईन । 

एककिसिमको त्रास फैलियो मनमा । आखिर यो निर्जन जङ्गलमा छिप्पिसकेको साँझमा मलाई बोलाउने को थियो ? अझ त्यसमाथि पनि धम्काएझै गरेर बोलाउने को थियो ? हात्तीलाई गोली हान्ने मानिसहरु पो थिए कि ? सम्झेर मनमनै अत्यास दौडियो । कसैले हल्ट भनेझै म टक्क अडिए । 

खुट्टो हल्का खोच्याउदै धुब्रे मेरो छेवैमा आईपुगेको रहेछ । र मलाई आफ्नो सुँढले सुम्सुम्याएझै गर्दै भन्यो, “मैले बोलाको हो । कुन होटलमा बसेको छस् तँ ?” 

एकचोटी पुन जाँडले रन्थनिएझै भए म । हैन म साँच्चै जाँडले नै रन्थनिएको हो त ? आफैसँग प्रश्न गर्न पनि शंका लाग्यो । यसकारण कि मलाई आफ्नै बिश्वासले कयौपटक घात गरेको छ । म असमन्जसमा परे । के हात्ती पनि बोल्न सक्छ ? त्यो पनि मानिसहरुजस्तै गरी ? अचम्मित भए अनि टाउको उचालेर उसको आँखातिर आँखा डुलाए । 

“अँ साँच्ची, तँलाई धेरै धेरै धन्यवाद । उसो त म एउटै गोलीले मरिहाल्ने हात्ती त होईन नै, तर पनि तँ मानिसहरुको पनि अपवाद कहाँबाट आईस यार ? सबैले मार्न खोजिरहेको मलाई तैले किन  बचाउन चाहिस् ?” धुब्रेको प्रश्नले म फेरी अचम्मिए । कसरी बोल्दैछ यो हात्ती मानिसहरु जसैगरी ? हुनत सिकाए भने चराहरु पनि बोल्न सक्छन् । मेरो साथी पवनको घरको मैना पनि त बोल्थ्यो । कलेज लाईफको मिल्ने साथी पवन सम्झेर एकछिन कलेजतिरै हराउन खोजे । तर सकिन । हात्ती बोलिरहेथ्यो अहिले त । म ट्वाँ परिरहेथे । मलाई यथावत् अवस्थामा फर्किन गाह्रो भईरहेथ्यो । सोच्दैथे, किन मार्न चाहिरहेछन् यो हात्तीलाई ? मैले कुनै कुराको भेउ पाउन सकिरहेको थिईन र यो पनि बुझ्न सकिरहेको थिईन कि म कसरी अपवाद भए ? आखिर मलाई मानिसहरु बिचमै एउटा जङ्गली हात्तीले अपवाद देख्नुमा मेरो अस्तित्वको पनि एउटा ठूलो प्रश्न जो थियो । 

धुब्रे आफै फेरी बोल्यो, “सायद तँ मलाई चिन्दैनस् । चिन्थिस् पनि पो कसरी, सबै हात्तीहरु एउटै जस्ता जो देखिन्छन् होला । मलाई पनि मानिसहरु उस्तै मात्र लाग्छन् । फरक यत्ति हो, कोही अङ्गार भन्दा पनि काला हुन्छन् अनि कोही हिउँ भन्दा पनि सेता, अनि कोही राता, आगोको फिलिङ्गो जस्तै । हाहाहा .....” मज्जाले हाँस्दै एकछिन चुप लागिसकेर धुब्रे फेरी बोल्यो, “मेरो नाम धुब्रे हो ।” 

अब भने मेरो मेमोरीमा धुब्रे बारे पढिआएका घटनाहरु सबै एकचोटी रिवाईन्ड भएर आयो । र रिवाईन्ड भयो धुबे्रको उदन्ड बाट आजित भईसकेर मानिसहरुले उसका बिरुद्ध जुलुुस निकालेको कुरा, बुज्रुकहरुले मृत्युदण्ड दिनुपर्छ भन्दै चितवन राष्ट्रिय निकुञ्जको कार्यालय घेरेको कुरा तर यत्ति हुदाँहुदै पनि धुबे्रलाई कसैले भेट्टाउन नसकेको कुरा । आङ पुन एकचोटी सिरिङ्ग भयो । म धुब्रेले भनेझै अपवाद हुदैनथे भने यो ग्यारेन्टी थियो कि म मृत्युको अगाडी उभिएको थिए । उसलाई नै हाँक दिएजसरी । सासै अड्कियो र मुटु फुट्ला कि झै गरेर धड्कन बढेर आयो । रातो भएको मेरो मुहार देखेर उसले केही बुझेछ सायद, भन्यो, “नडरा म तँलाई केही गर्दिन ।” 

केही ढुक्क त भए, तर पूरै निश्चिन्त भने हुन सकिन ।  

“तेरो नाम चै के हो नि ?” 

“सौरभ” मैले भने । के मैले साँच्चै बोले त ? अगिदेखि त सास पनि अड्किएथ्यो मेरो । यस्तो लाग्थ्यो कि अब मेरो बोली कहिल्यै आउनेछैन । 

धुब्रे चुप थियो । र खुट्टो खोच्याएर उभिएको थियो । हिम्मतका साथ सोधे, “दुखिरा’छ ?” 

“मूर्ख ! गोली लागेपछि दुख्दैन त ? दुखिराखेको छ ।” धुब्रेले एकचोटी हका¥यो अनि फेरी भन्यो, “तर यो भौतिक दुखाई भन्दा पनि मनको घाउ साह्रै दुख्दोरहेछ बुझिस् । र आजसम्म त्यही मनको घाउले रन्थन्याईरहेछ । सायद रन्थन्याउनेछ, मृत्युपर्यन्त पनि ।” ओहो । धुब्रे उत्तर पनि दिदोरहेछ । त्यो पनि दार्शनिक पाराले । म झनै अचम्मित भए ।

हामी दुबै चुप थियौ । धुब्रेले अँध्यारो क्षितिजमा आँखा दौडायो अनि एकछिन नोस्टाल्जिक भयो । मलाई चुप हुनु कुनै कारण आबश्यक थिएन । अगाडी धुब्रे थियो र धुब्रेले मसँग बोलेको थियो । म चुप हुने नै भए ।

उसैले फेरी सोध्यो, “कुन होटलमा बसेको छस् ?” 

“टाईगर टप्स ।” मैले भनिनसक्दै उसले आईय्या जस्तै कुनै आवाज निकाल्यो । सायद घाउ दुखेछ क्यारे । सोधे, “पेनकिलर खाने हो ?” 

“भयो, आजसम्म नखाएको त्यो जिनिस खान्न म । बरु हिड कतै गएर मज्जाले रक्सी पिउ ।” 

उसको कुराले सोचमग्न भए म । घडी हेरे । झन्डै बेलुकीको सात बज्न आँटिसकेको थियो । हुनत जाँड पिउने समय नै यही हो, तर कहाँ जाँड पिउन जाने अब ? त्यो पनि सुट एण्ड साइट को अर्डर पाएको धुब्रे हात्तीलाई लिएर ? 

हात्तीसँग बसेर जाँड पिउने बार कस्तो हुन्छ होला ? सोच्दैथिए । “हिड जाम् । यो दुखेको अलिक कम पनि हुन्छ ।” मैले ‘कहाँ’ भनेर सोध्न नपाउदै धुब्रेले मलाई आफ्नो सुँढले उचाल्यो र आफ्नो घाँटीनेर ढाडछेउमा सुरक्षित राख्यो । म चिच्याउनै पाईन । 

र त्यसपछि मैले सोधे “कहाँ ?” 

“हिड्न । जे भएपनि तैले मलाई बचाएको छस् । म आज तँलाई ट्रिट दिन्छु । कमसेकम मर्नु अगाडी एकजना मानिससँग त राम्रो सम्बन्ध बनाम् । के थाहा, न भोली नै पो मारिईहाल्छु कि ?” त्यसपछि चिम्सा पारेर आफ्ना आँखा र आकाशतिर उचालेर आफ्नो सुँढ, उसले भनेको थियो – “तँलाई थाहा छ, कम्तीमा यो बर्षभरि मैले गोली खानुछ । आखिर आज जन्मदिनमै सेनाको गोली जो लागेको छ मलाई । हाहाहा.....”

“मेनी मेनी ह्याप्पी रिर्टन्स अफ दि डे । ह्याप्पी बर्थदे टु यु ।” मैले विस गरिसकेपछि उसले “थ्याङ्क यु” भन्दै आफ्नो सुढँले मलाई पुन सुम्सुम्यायो । र त्यसपछि हामी हात्तीको चालमा लमकलमक लम्कियौ । 
......................
राप्ती तर्नै लाग्दा उसले मलाई सोध्यो, “पैसा छ तँसँग ?” 

“छ, अलिअलि ।” 

“होस् छोडदे मैले ट्रिट दिने भनेपछि मै ख्वाउछु आज तलाँई । होममेड पिउछस् नि ? अनि मैले ल्याउने भएपछि पैसोको के काम ? ” 

कुरो केही बुझिन । आनाकानी गर्दै मैले भने, “पिउछु ।” 

सुढले फेरी समातेर ओराल्दै मलाई भन्यो, “तँ एकछिन यही पर्खी, म आईहाल्छु है ।” 

‘हुन्छ’ सुचक टाउको हल्लाउदै गोजीबाट चुरोटको बट्टा निकाले । सल्काए । धुब्रेले राप्ती त¥यो ।
.......................
राप्ती पारी झिलिक्क झिलिक्क हल्लिरहेको जस्तो बत्तीहरुको झुन्ड देखियो । केहीक्षणमै कोलाहल जस्तै केही सुनियो । मानिसहरुको गज्याङगुजुङ आवाज । त्यो आवाज हर एक सेकेण्ड म नजिक आउदैथियो । र त्यो भन्दा अगि अगि धुब्रे एउटा ग्यालिन जस्तो केही बोकेर दौडिरहेथ्यो । यस्तो लागिरहेथ्यो उसको खुट्टामा गोली लागेकै थिएन । त्यहाँ कुनै घाउ नै थिएन । राप्ती तरिसकेपछि राप्ती तर्न नसकेर पल्लो किनार बसिरहेका मानिसहरुको हुलपट्टि फर्किएर धुब्रे एकचोटी फेरी चिच्यायो । चिच्याहट सुनेर सायद एकछिन राप्ती पनि बग्न बिर्सियो कि ? राप्ती भित्रका माछाहरु पनि एकछिन चल्न छोडे होलान् । र रोकियो होला हावाको गति पनि । मैले त्यस्तो डरलाग्दो रुपको हात्ती पहिलोचोटी देखे । ती मानिसहरु पनि चुप भएझै भए । एकछिन ढुंगा हान्न बिर्सिए झै भए । सायद यो धुब्रेले गरेको हुँकार थियो र आफ्नो जीत प्रतिको गर्व । मलाई बोकेर धुब्रे फेरी लम्कियो । 
........................
धेरै तल हामी राप्तीको किनारमा नै थियौ । मैले ठ्याक्कै ठाँउको सही अड्कल भने काट्न सकिरहेको थिईन । राप्ती आफ्नो छातीभरि जून बोकेर वगिरहेथ्यो । उसलाई हात्तीसँग पनि गुनासो थिएन, हात्ती लखेट्ने मानिसहरुसँग पनि । धुबे्रले भन्यो, “देखिस् नि मान्छेको जात ? मलाई त देखिसहदैनन् भन्या !” 

“अनि त्यसरी चोर्ने हो त ?” 

“माग्न गयो भने त दिनुपनि प¥यो नि ! हात्तीलाई रक्सी ! त्यसमाथि पनि मान्छेको जात !” 

मैले केही उत्तर दिन सकिन । मैले राप्तीले किनार लगाएको एउटा पानीको बोत्तल टिपे । “ओई गोही हुन्छ होस् गर है”, धुब्रेले यसो भन्दा म डराउनुपथ्र्यो सायद । तर निडर भएर मैले भने, “सबैभन्दा बढी त जिन्दगीसँगै डर लाग्छ मलाई । मर्नुसँग पनि के डराउनु ?” के बुझ्यो कुन्नि, धुब्रे मुसुक्क हाँस्यो । राप्तीको सङ्लो पानीमा बोत्तल पखाले मैले र त्यसैमा ग्यालिनबाट रक्सी हाले । एक किसिमको गन्ध आयो । खासमा नढाँटी भन्नुपर्दा मलाई लोकल ठर्राको गन्ध नै मनपर्दैन । 

“किन बेकारमा मुख बिगारेको ? दामी छ । एकचोटी चाखि त हेर । मैले त अगिनै एक ग्यालिन रित्याएर आ’को !” 

मैले अलिकति मुखमा हाँले । अनि भने “कडा रैछ ।” धुब्रे लामो हाँसो हास्यो । 
...................
“के सम्झेको ?” धुब्रेलाई आफ्नो घाउ हेरेर टोलाईरहेको देखेर मैले सोधे । 

“तँ बसेको होटल टाईगर टप्स भनेको हैन ?”

“हो” मैले भने । 

“चन्चलकलीलाई देखिस् ?” 

“को चन्चलकली ?” 

“त्यही तेरो होटलछेउमै त बस्छे नि । ढोई क्या !” 

मलाई मतलब नै नभाको विषय सोध्यो, मान्छेलाई के को धन्धा, धुब्रेलाई भने ढोईकै चिन्ता ! सम्झेर मनैमन रिस उठेपनि मैले भने “अहँ, मैले देखेकै छैन । किन ?” 

“त्यो मेरो फस्ट गर्लफ्रेन्ड हो । खास आजको मेरो हालत यो हुनुमा त्यै सबैभन्दा ठूलो जिम्मेवार छे ।” 

म ट्वाँ परे । एक त अगिनै देखि एउटा हात्ती मसित बोलिरहेछ र त्यसमाथि पनि धुब्रे हात्ती । अनि उसँगै रात बिताईरहेको म । अझ थप हात्तीको पनि लभर, त्यो नि’ फस्ट अरे । म असमञ्जसमा ट्वाँ परिरहे । 

“हुन त त्यसलाई के दोष दिनु ? गल्ती मेरो पनि हो । मैले पहिल्यै बुझ्नुपथ्र्यो, ढोईहरुको जातै खराब भनेर ।” 
मैले आफ्नी हुननसकेकी प्रेमिका सम्झिए । म सँग सबै कसम र बाचा बन्धनहरु गरेर, अर्कैसँग लहसिएकी सन्तोषी। अड्कल काँटे धुब्रेको नि यस्तै केही भएछ कि के हो ? 

मैले प्रसङ्ग कोट्याउनै लाग्दा उ आफै बोल्यो, “कहिलेकाँही त लाग्छ बेकारमा त्यो शमशेरगजलाई मारे मैले । हुनत त्यसलाई थाहा थियो नि, चन्चलकली र मेरो चलिरा’छ भनेर । खुब आफू पुरानो भनेर हक जमाउन खोजिराथ्यो । तर बुझिस् बुढो भएपनि तागत चै थियो रैछ त्यसको बुढो हड्डीमा ।”

“के ग¥यो र त्यसले ?” मैले सोधे । 

“अब हेर । म परे जङ्गली हात्ती । लामो समयसम्म मानिसहरुसँग हिमचिम गरेको शमशेरगज हात्ती पोलो को अम्पाएर थियो । त्यही भएर पनि होला, अहम् बढेको थियो त्यसमा ।” केही सम्झेझै गर्दै लामो सास फालेर फेरी भन्यो, “हुनत चन्चलकली ढोई न परी । मलाई अहिले आएर थाहाभयो, साँच्चै भन्दा ढोईहरुको जातै खराब । मैले त्यसदिन पनि त्यसलाई सुन्दरी प्रतियोगितामा नजा भनेर भनेकै थिए । जान्छु नि, तिमी यसको महत्व बुझ्दैनौ भनेर रोईकराई गरी मसँग । मलाई खुबै माया लागेर आयो । त्यसको आँसु जो देख्न सक्तैनथे । अनि लौ न त जा भनेर भनेपछि खुब खुसी हुदै बुरुक्क उफ्रिएकी थिई त्यो हर्षले । अनि मलाई मज्जाले टङ किस गरेकी थिई । यसरी किस गर्न चै त्यो कुईरेहरुले किस गरेको देखेर सिक्या रे त्यसले । मलाई पनि मज्जै आयो । सोचे यस्तै किस सधै पाईने हो भने त सुन्दरी प्रतियोगिता दिनका दिन भएकै बेश र म आनन्दित भएर फर्किए त्यसदिन ।” 

“अनि” मैले जिज्ञासा पूर्ण प्रश्न गरे ।  

“सायद त्यही दिन हुनुपर्छ, शमशेरगजले चन्चलकलीलाई मज्जाले नियालेको । शमशेरगज मानिसहरुद्धारा खुब सजिएर आएको थियो । अब साजसज्जा गरेपछि त जो पनि राम्रो देखिईहाल्छ नि । नक्कलीको मन पग्लिएछ । शमशेरगजसँग त्यही दिनबाट नजिकिएकी होली सायद । मलाई त केही पनि भनेकी थिईन । तर त्यो हात्ती पोलो को खेल हुनुभन्दा अगाडी शमशेरगज र चन्चलकली कुरा गरिरहेको जस्तो भने लागिराथ्यो मलाई । अझ आगोमा घ्यु थप्ने काम रोनाल्डोले पनि ग¥यो । भन्दैथ्यो, चन्चलकली र शमशेरगन्जको प्राय डेटिङ चल्नेग¥या छ । अनि त्यति भनेपछि त म आगो मात्रै के नि सूर्यको गोलो नै भईहाले नि, एकदिन शमशेरगजले अम्पाएरिंग गर्दागदै छाद्नेगरी के कुटेको थिए । विचराको सास नै फुस्केछ ।” यसो भनिरहँदा उसको छाती मज्जाले फुलेको थियो । आफ्नो त्यही फुलेको छाती सुम्सुम्याउदै पुन भन्यो, “बुढो भएपनि छातीमा अलिअलि बल चै रैछ त्यसमा । तर मेरो तन्नेरी बलसँग त्यसको के पो लाग्थ्यो र ? आखिर मरेछ ।” 
मैले कौतुहलताबस सोधे, “त्यो सेनाको जवान रिद्धिबिर दोङलाई चै किन मारेको नि ?” 

“त्यो त धेरै अगाडीको कुरा पो हो त । चन्चलकलीलाई भेट्न भनेर गा’को थिए । अब बाटोको तगारो भएर सेनाहरु  देखापरे । मलाई भेट्न कहिल्यै दिएनन् । एक दिन सहने, दुई दिन सहने, तर सधै सधै त चल्दैन नि यार यसरी । एकदिन मस्त जाँड पिएको बेला चन्चलकलीलाई भेट्न मन लाग्यो । गा’को थिए तर त्यो दोङले मेरो बाटो छेक्न खोज्यो । अब बन्दुक नै देखाएपछि मेरो नि रगत तात्तिएर आयो । त्यसैको झोकमा फेला प¥या हो त्यो ।” 

थुक्क लाछी । आफैले आफैलाई गाली गरे । सन्तोषीलाई अरु कोहीसँग देखेपछि मैले पनि केही एक्सन लिनुपथ्र्यो सायद । तर चुपचाप आएको छु यता मन बहलाउने निहुँमा । भनेको सुनेथे, केटीहरु प्रेम पाउन सेक्स गर्छन, केटाहरु सेक्स पाउन प्रेम । लाग्यो आजकालका सन्तोषीहरु अपवाद हुन्छन् क्यारे । आखिर मेरो त सन्तोषीलाई आफ्नै बनाउने योजना थियो । घरमा पनि बिहे गर्छु भनेर कुरा गरिसकेको थिए । तर त्यसैबिचमा अरुसँग अंगालो मारेर हिडेको देखेपछि नतात्तिएको त कहाँ हो र मेरो पनि रगत ? धन्न सुब्रतले सम्झायो मलाई । हुन पनि कुटेर काटेर हुने नै पो के नै थियो र ? निधारमा श्री नलेखेपछि केही हुदैन भन्ने बुझेपछि त्यसै त्यसै अत्यास लागेर आयो मलाई । र सुब्रतकै योजना अनुसार अतीत भुल्न आएको थिए यो सौराहा । तर के भुल्न सकिदो रहेछ र चाहेर पनि ? आफ्नै छायाँ न रै’छ आफ्नो अतित पनि । जहाँ आफू गयो सँगसगै जादोरहेछ आफैसँग । बिचरी करुणा, मलाई कत्ति प्रेम गर्थी । उसको प्रेम नबुझेको पाप हो यो । त्यस्तै लाग्छ आजकाल । चाहेको पाउन गाह्रो छ,, पाएको गुमाउनु छ ....... मनको अन्तस्करणमा एक्कासी गुन्गुनियो यो गीत । अहिले त लाग्छ काठमान्डौका हर एक गल्लीमा किन छरिन्छन् उसकै याद बग्रेल्ती ? एउटा कविता पो लेख्नुपर्छ कि क्या हो ? 
..........................
म आकाश फर्किएर आकाशजस्तै गहिरो हुन थालेको बुझेपछि धुब्रेले सोध्यो, “के हो दोस्त जाँड त राम्रै लाग्यो कि क्या हो ?” 

हैन त्यस्तो केही । मैले कुरा मोड्ने बिचारले सोधे, “अनि एउटा कुरा तैले बोल्न चाहि कसरी सिकिस् नि ? त्यो पनि मान्छेहरुको भाषा ।”

सुँढले ग्यालिन उचालेर आधि भाँडो एकैचोटि सकायो धुब्रेले । र सुँढले मुख पुछेझै गरेर भन्यो, “खासमा मेरो जन्म भारत र नेपालको सिमानाछेउ भएको हो । मेरी आमा पहिला सर्कसमा काम गर्थिन रे । एकदिन भागिछन् र नेपाल छिरिछन् । सर्कसको अनुभवले होला उनी अलिअलि बोल्न र बुझ्न सक्थिन । मेरो पहिलो पाठशाला त आमा नै परिन् । एकदिन आमाले भनेको याद छ मलाई, “मानिसहरुजस्तो धूर्त र चलाख अरु कोही छैन धुब्रे । तर यदि हामीले यिनिहरुका कुरा बुझ्न सक्यौ भने हामी पनि धेरै बुझ्न सक्ने बन्छौ । शक्तिशाली बन्छौ उनीहरुजस्तै ।” त्यो कुरा मेरो मनमा गढ्यो । र मैले त्यसपछि आमाले सिकाएको सबै कुरा सिके । झन् यहाँ निकुञ्जका मान्छेहरु, गाँउ तिरका मान्छेहरुको व्यवहार र बोलीचालीले पनि मैले धेरै कुरा बुझे । प्रायजसो घुम्न आईरहने कुईरेहरुबाट पनि तिनीहरुले बोल्ने गरेको अङ्ग्रेजी पनि थोरबहुत बुझ्न थाले । झन् झन् मलाई मानिसहरुभन्दा पनि चलाख बन्न मन लाग्यो । आखिर ईच्छा न हो । हेर त आज म मानिसहरुभन्दा शक्तिशाली पनि छु र धेरै बाठो पनि ।” ध्वाँस छाट्यो धुब्रेले । 

म सुनेको सुन्यै भए । मैले सानैमा पढेको याद आयो, ईच्छाशक्तिभन्दा ठूलो अरु केही हुदैन भनेर । धुब्रेको कुरामा पनि त्यही लागु हुदो हो सायद । 
...........................
“अनि के त्यही एउटी चन्चलकली भन्दै हत्ते गरेर बस्या त ? कि अरु भेटिनस् ?” आफ्नै पीडा बिर्सिन फेरी धुब्रेलाई खोतले मैले । 

“हुनत फस्ट लव भनेको फस्ट नै हुदोरैछ यार । जत्ति बगेपनि राप्तीले किनार नछोडेजस्तै चन्चलकलीको यादले मलाई कहिल्यै छोडेन र छोड्दैन पनि सायद । तर शमशेरगजपछि त्यसको रोमान्स रोनाल्डोसँग हुन लागेको थाहापाएपछि भने ढोईको जात भन्याजस्तो फिल भयो । तर फेरी जोश का साथ पुच्छर हल्लाउदै फेरी बोल्यो, हेर जस्ले जे भनेपनि ब्रिडिङको लागि मेरो जत्तिको राम्रो बीउ अरु कसैको छैन बुझिस् । यो कुरा म किटानीका साथ भन्न सक्छु ।” 

“रोनाल्डोसँग ?” अचम्मित हुदै सोधे मैले । 

“अँ रोनाल्डोसँग । खासमा मलाई पहिला पनि रोनाल्डोले त्यो शमशेरगजको विरुद्ध उल्क्याएर त्यसले चन्चलकलीदेखि शमशेरगज र मलाई टाढा बनाउने उपाय रचेको रैछ ।” 
कुरा टुङ्गिन नपाउदै मैले सोधे, “लौ कसरी नि ।” 

“शमशेरगजसँग मैले झगडा गर्न शुरु गरेपछि एकजना त आखिर मर्नैपथ्यो । अनि जो बाँच्थ्यो त्यो नजरबन्दमा पथ्र्यो । अनि त त्यसको र रोमियोकै मस्ती भईहाल्यो नि ?”

“रोमियो ! त्यो चाहि को नि ?” 

“खै बर्दिया तिरबाट ल्याएको रे ती दुईटैलाई राम्रो नश्लका लागि । रोनाल्डोभन्दा रोमियो जेठो हो क्यारे । दाजुभाई पनि भन्याजस्तो लाग्थ्यो । खै के हो ? सायद त्यसैले होला, रोमियोदेखि डराउथ्यो त्यो काँतर । तर ती दुवैलाई मैले लोद चुट्याछु एकदिन । भ्यालेन्टाईन डेको कुरा थियो त्यो । बल्लबल्ल चन्चलकली लाई लिएर यसो डेटिङ गा’को, जङगलभरी हल्ला फिजाईदिएछ । त्यही दिन राती दुईटैलाई मस्ती चुटे मैले । रोमियो त थलै परेछ नि, हिड्नै नसक्नेगरी । अनि खै त्यसकै दुई तीन हप्तापछि हो क्यारे, बिघुतीय तारमा करेन्ट सट भएर मरेछ त्यो । अहिले त त्यो रोनाल्डोलाई मस्ती छ । तर मैले भेटे भने त्यसलाई पनि नमारी त कहाँ छोड्छु र ? पुरानो हिसाबकिताब त बाँकी नै छ नि !”

“भनेपछि त्यै एउटीकै यादले तँलाई ज्यानमारा बनायो हैन त ?” अलिअलि रक्सी त मज्जाले चढेछ मलाई पनि ! कत्ति एउटै कुरा दोहो¥याएर बस्या होला मैले ? 

“लौ म चाहि के कम नि । बाजी थापेर भन्न सक्छु म जत्तिको ज्यानदार यो निकुञ्जमा अर्को कोही माईकालाल छैन लौ । मैले पनि टनाटन लभ गरे । पवनकली, शशिकली, सितास्माकली, सम्सेरकली, ऐश्वर्यकली ........ कति हुन् कति ? तर एउटै कुरा, नाम मात्रको लभ गरियो । लभको अर्थ खुल्नेगरी कसैसँग केही गरिएन । लभ मेकिङ भन्ने कुरा नै थाहानपाएको पनि लभ हुन्छ त ?” निराश हुदै धुब्रेले बोल्यो, “साला कुमार नै मरिन्छ नि क्या हो यार ? कहिलेकाँही त सम्झेर नि दिक्दारी लाग्छ ।” 

उसले यसो भनिरहँदा म रक्सीको चुस्की लगाउदै थिए । हाँसो उठ्यो तर हाँस्न खोज्दा नमज्जाले सर्किएछ । हाँस्न चै सँगसगै धुब्रे पनि हासेथ्यो । “छोड् यी सब बकम्फुसे कुरा । अनि त्यो बेकारमा माडी र मुसहर बस्तीका मानिससँग चै के को रिस नि तेरो ?” मैले सोधे ।

“लौ कस्तो कुरा गरेको तैले । आफ्नो घरको जग्गा अरुले मिच्दा दुख लाग्दैन र मलाई । तिमीहरु पो नाम मात्रका गोर्खाली हौ त । म त धुब्रे हु, धुब्रे । हेर यो जङ्गल भनेको हाम्रो हो । मेरो हो । गैडा भाईको खाग लुट्नेहरु आउने त्यही गाँउको बाटो भएर त हो नि । अनि हामीले पानी पिउने राप्ती पनि फोहोर गर्दिएका छन् । त्यै राप्ती बाहेक हामीले पिउने पानी अरु छैन । अनि त्यै पनि फोहोर बनाईदिएपछि हामी बिरामी भएको जिम्मा लिन्छन् तिनीहरु ? तिनीहरुले गरेको जङ्गल अतिक्रमणकै कारण हामीले खाने खानामा पनि कमी हुन थालेको छ । मेरो त सिद्यान्त नै त्यही हो, अरुले आफूलाई जस्तो व्यवहार गर्छ आफूले पनि अरुप्रति त्यस्तै व्यवहार गरिन्छ । तिनीहरुले हामीलाई दुख दिन्छन् भने हामी चै किन चुप बस्ने ?”

“अझ लौ आफै बिचार गर त, हामीलाई नचाएर, खेल खेलाएर, मानिसहरुको रमाईलोको खातिर हात्ती सफारी रे ! खोई हाम्रो स्वतन्त्र जीवन ? के हाम्रो जन्म भनेको मानिसहरुको मनोरञ्जनका खातिर हो र ? के हाम्रो आफ्नो जीवन छैन ।” फेरी घुमाई फिराई कुरा उही पु¥यायो धुब्रेले, “कसैलाई काखा कसैलाई पाखा गर्ने बानी हुदोरहेछ मानिसहरुको । त्यसो नहुदो हो त, मेरा पनि सन्तान हुन्थे । रोमियो र रोनाल्डोको भन्दा राम्रो र ज्यानदार हुन्थे मेरा सन्तान । तिनैले सुरक्षा गर्थे यो जङ्गलको । खै किन बुझ्दैनन् कुरा मानिसहरु । मेरो एकजनाको हित हुदाँ सबैको हित हुन्थ्यो । आखिर किन मानिसहरु प्रकृतिसँग खेल खेल्न चाहन्छन् ?” 

“त्यसो हैन नि धुब्रे । निकुञ्जको पनि आफ्नो नियम हुन्छ नि !” निकुञ्जको नियम केही थाहानपाए नि बोल्दिए मैले ।

“के का निकुञ्ज ? कसले बनायो यो ? हावा कसैको हुन्छ ? पानी कस्को हुन्छ ? अनि यो धर्ती कस्को ? हामीमाथि शासन गर्ने यो नियम कस्ले बनायो ?” पूरै रिसले यसो भनिसकेपछि ग्यालिन पूरै रित्यायो उसले । मेरो त बोत्तलमै आधाजस्तो बाँकी थियो ।

मैले भने, “निकुञ्ज त यहाँ मात्र हैन नि, सबै देशमा हुन्छ यार । त्यो पनि राम्रा मानिसहरुले तिमी जनावरहरुकै सुरक्षाको खातिर बनाएको हो ।” 

“तँ पनि सौरभ । तैले मेरो कुरै बुझ्न सकिनस् यार । एउटा कुरा भन् त, यो देश कस्ले बनायो ? खै हामीलाई त कहिल्यै देश चाहिएन । कि हामी पशु भएर त्यसो भएको ? तिमीहरुलाई मात्र चाहिदोरहेछ । मान्छे धेरै बाठो भयो भने आकाशतिर फर्केर थुक्छ भन्याजस्तै हो यो । चलाखहरुले सोझाहरुलाई गरेको अतिवाद यो हो । सोच त, भारत किन त्यत्रो ठूलो अनि नेपाल किन सानो ? र पनि भारतलाई भूमि किन नपुगेको ? ती कुईरे हरु किन यस्तो धेरै निर्धक्क अनि नेपालीहरु किन ससंकित ? यो सब बकवास् दिमागको राजनीतिले गर्दा हो । मलाई त हाँसो पो उठ्छ, हुदाँ हुदाँ मान्छेहरु मेरो नामको पनि राजनीति गर्न थालेछन् । झन् तिमी मान्छेहरुले राष्ट्रियताको कुरा गरेको सुन्दा भने झनै हाँसो उठ्छ मलाई । ढोगींहरु !”

“मलाई मान्छे हुनुमा अपराधबोध भयो त्यसबेला । सोचे साँच्चै किन सिमाना हरुले बाधिएका हुदाँ छौ हामी । यत्ति मेरो बाँकी तेरो । ढोगीं हुनुले त झनै मलाई भित्रै दुखायो । उफ् ............ ।”
.............................
जून टाउको माथि आईसकेको थियो । धुब्रेले जति नै बैचारिक कुरा गरेपनि मेरो मन सन्तोषीको यादले एकतमासको भईरहेथ्यो । उसैलाई भुल्न आएथे । तर यादहरु भुल्नका लागि कहिल्यै हुदाँरैनछन् । तिनीहरुलाई त सम्झिनु पो पर्छ त । धन्न म धुब्रे जस्तै कुमार भने मर्नुपर्ने छैन । केही प्रेमजस्तै लाग्ने प्रेमका सिलसिलाहरु मेरा पहिलापनि चलेका थिए । सम्झेर आफै फिस्स हाँसे । 

“किन हाँसिस् ?” धुबे्रले सोध्यो । 

“केही पुराना कुराहरु याद आए । त्यै भएर ।” 

“के कुरा र ?” 

“केही हैन । जेहोस् यत्ति हो म तँ जस्तै कुमार भने मर्नुपर्ने छैन ।” के यसो भनुन्जेल आफैलाई आफैप्रति गर्व लागेथ्यो होला र मलाई ? यकिनका साथ आफैलाई थाहाछैन । जेहोस् धुब्रे हास्यो । फेरी सोध्यो मलाई “अनि किन नोस्टाल्जिक त तँ ?” 

मैले कुरो खोले, “खासमा मेरो पनि प्रेम थियो धुब्रे । म पनि प्रेमी हु । मेरो प्रेम यस्तो थियो कि, मैले हारे र उनले जितिन् । हुन त जित मेरो भएको भए पनि अन्तिममा जित्ने त उनी नै हुन्थिन् ।” 

“कुरा स्पष्ट गर न ।” धुब्रेले हकार्यो । 

“एउटी सन्तोषी भन्ने केटी थिई जसलाई म विगत ३ वर्षदेखि अत्याधिक प्रेम गर्थे । हुन त अरु पनि केटीहरु थिए जो मलाई प्रेम गर्थे र ती सँग म केही नजिक पनि अवश्य थिए, तर सन्तोषीसँगको कुरा भने बेग्लै थियो । घरमा बिवाहको कुरो चल्दा उसैको नाम लिन्थे । तर उसले सधै केही समय पछि, मेरो कलेज सकियोस् न जस्ता कुरा गर्थी । म रिसाईदिन्थे अनि मलाई फकाउन उ किस गर्थी । किस पछि अरु पनि खै के के गर्थी । म फकिन्थे । समग्रमा भन्दा म खुसी थिए । तर केही दिन अगाडी मात्र मैले उसलाई उसकै कलेजको अर्को एउटा केटासँग भेटे । बुझ्दै जाँदा उसले हामी दुबैसँग प्ले गरेकी रै’छ । मैले उसको र त्यो केटाको धेरै किस्सा थाहापाए पछि म पनि झन्डै तँजस्तै धुब्रे भएको थिए तर मलाई सुब्रत, मेरो साथीले रातभर सम्झायो एकदिन । अनि उसैको सल्लाहअनुसार म यता घुम्न आएको हु । ईनफ्याक्ट आफैलाई बिर्सन आएको हु ।” एकछिन सम्झेर मैले भने, “तर जे भयो राम्रो भयो । तँसँग जो भेट भयो । म खुसी छु ।”

“अनि सक्छस् त भुल्न ?”

“हेर याद हो । याद त के नआउला र ? तर अवश्य पनि उ मेरी नभएकीमा म दुखी भने छैन । कहिल्यै हुनेपनि छैन ।” 

मेरो कुरा घत लागेछ क्यारे धुब्रेलाई । हुनत आफ्नो पनि सिचुयसन उस्तै भएको भएर होला धुब्रेले आफ्नो सुँढ उचालेर ‘चस्’ ग¥यो मसँग । अनि भन्यो “छोड्दे यी वाईयात ढोईका कुरा । आखिर ढोई भनेको ढोई नै हो बुझिस् ।” 

मनमनै मैले धुब्रेको कुरामा सहमति जनाए । महाभारतका द्रोपदी, कुन्ति देखि लिएर मैले प्राय मन बहलाउन हेर्ने गरेको ब्लू फिल्मकी नायिका सन्नी लियोन सम्झिए । अनि सम्झिए सन्तोषीलाई । यद्यपी मलाई थाहाथिएन, सन्तोषीलाई त्यसरी दाँज्न हुन्थ्यो कि नाई । खैर जे होस्, आफ्नो मनलाई जसरी सजिलो बनाउन सकिन्छ आफूले गर्ने त्यही नै हो । मैले आफूलाई सजिलो बनाउने कोसिस गरे । 

सोधे, “अनि अझै कत्ति जनासँग झगडा गरेर जोखिम मोल्छस् त ? कि सिङ्गो जिन्दगी नै यसैगरी बिताउछस् । हेर भाग्यमा हाम्रो पनि एउटी त कसो नहोली र ? कुकुरको नि दिन आँउछ भन्थे । झन् तँ त हात्ती, म मान्छे । आउछ हौ हाम्रो पनि दिन ।” यति भनिसकेर मैले बोत्तल रित्याए । मनमनै सुब्रतलाई धन्यवाद पनि दिए । 
धुब्रेले भन्यो, “तेरोे साथीले तँलाई राम्रो आईडिया दिएछ बुझिस् ।” 

“के ?” मैले सोधे 

“घुम्न निस्किने । सुनेको थिए । हाम्रो हात्तीका पनि बिभिन्न किसिमका प्रजाती हुन्छन् अरे । बरु म पनि घुम्न निस्किन्छु अब । बुझिस् सौरभ, म पनि बिश्व घुम्छु । मलाई न पासपोर्ट न भिसा । जान्छु म पनि घुम्न । नयाँ ठाँउ जाँदा सायद हलुको हुदो हो मन पनि । नयाँ स्वाद पाईन्छ, नयाँ कुरा जानिन्छ । आमाले मलाई मान्छेहरु चिन्नु मात्र भनिछिन् । ठाँउहरु घुम पनि भन्नुपथ्र्यो मलाई । त्यही जाबो एउटी कलीको पछि लागेर के कुवाको भ्यागुत्ता बन्नु ? कि कसो ?”

धुब्रेको कुरो ठीक लाग्यो । सहमतिजनक टाउको हल्लाए मैले । घडी हेरे । रातको २ बज्न थालिसकेको थियो । “निद्रा लाग्यो ?” धुब्रेले सोध्यो । 

मनमा आनन्द भएपछि निद्रा लागिहाल्छ नि । उसै त मलाई जतिखेर पनि निद्रा लाग्ने । “अँ हल्का ....”, मैले भने ।

जा सुत्न । म पु¥याईदिन्छु । यति भनिसकेर धुब्रेले मलाई उसैगरी आफ्नो काँधमा बोकेर म बसेको होटलतर्फ लम्कियो । होटलभन्दा अलि वरै ओरालेपछि मलाई भन्यो “जा अब । म जान्न । फेरी चन्चलकलीलाई देखे भने, अर्को झमेला हुन सक्छ ।” 

“ओ के यार । जे होस् रमाईलो लाग्यो ।”

“के कुरा ?” 

“आई मिन तँलाई भेटेर । त्यो घाउको ख्याल गर । अनि सकेसम्म गोली खाने काम नगर्नु ।”

“बरु म मर्छु तर यी मुलाहरुसँग आफूलाई कमजोर बनाएर आत्मसमर्पण चै गर्दिन । बाँकी कुरा भनेको त्यस्तै हो । ल यार टेक केयर । त्यो गोली निकालीदेकोमा फेरी पनि धन्यवाद । ला यो तेरो सर्ट ।” धुब्रेले अघि मैले घाउमा बाँधिदिएको सर्ट खुट्टाबाट निकालेर दिन खोज्दैथ्यो, मैले “तलाई गिफ्ट हो त्यो भनिदिए । बर्थडे गिफ्ट ।” त्यसपछि पुन सुँढले सुम्सुम्याउदै धुब्रे केही पाईलो पछाडी स¥यो । 

“वान्स एगेन ह्याप्पी वर्थडे । आई विल मिस यु ड्युड । टेक केयर ।” मैले भने

“ल ल धेरै अंग्रेजी नबोल । म धेरै पनि बुझ्दिन । गुडनाईट ।” र यति भनिसकेर धुब्रे आफ्नो बाटो लाग्यो । धुब्रे गएकै बाटोबाट एउटा गीत बज्यो, ‘हुँ यात्री एउटा रुमल्लिहिड्ने अधेरी रातमा ............. ।’ र फेरी मैले चित खाँए, हैन धुब्रेले यत्ति मीठो गाउन चै कहिले सिक्यो ? 
........................
त्यसको केहीक्षणमै एक हुल सिपाहीहरु म भएतिर दौडदै आए अनि मलाई दुनियाँथरी केरकार गरे । मैले आफूले काम गरिरहेको कार्यालयको कार्ड देखाएपछि उनीहरु ढुक्क भए । सायद म तस्कर हैन भन्ने बुझेछन् क्यारे । अनि त्यसपछि यति राती कहाँबाट के भन्दै सोध्न थाले । 

धुब्रेसँग त्यसरात मेरो जे जति कुरा भयो, आफैले विश्वास गर्न सकिरा’थिईन । मैले धुब्रेसँगको कुरा सैनिकहरुछेउ लुकाए अनि त्यत्तिकै राप्ती किनारमै बसिराखेको र भर्खर मात्र आएको भनेपछि उनीहरुले नै मलाई होटल पु¥याईवरी कोठासम्मै छोडिदिए ।
........................
मेरो अहिलेसम्म विवाह भएको छैन । सन्तोषीलले विवाह गरिसकी । एउटी छोरी छे भन्ने सुनेको छु । सौतामाथि परिछे रे । कहिलेकाँही मलाई सम्झिएर आँखा भिजाउछे रे । 

मलाई आफूसँग कुनै गुनासो छैन । बस् यत्ति हो आजसम्म सुब्रतलाई मनैमन धन्यवाद दिन भने बिर्सिन्न । 
.......................
पत्रपत्रिका अनुसार धुब्रे समातियो, भेटियो, मारियो लगायतका कुरा बाहिर आएपनि कोही विश्वस्त छैनन् । बरु अस्ति नै कहिले हो धुब्रेले दक्षिणी भारतका बस्तीहरुमा तहल्का मच्चाउदैछ रे भन्ने सुन्याथे । धुब्रेले नै भनेअनुसार आज उसको बर्थ डे हो । जहाँ जे भएपनि, ‘मेनी मेनी ह्याप्पी रिर्टन्स अफ द डे टु धुब्रे’ । म त्यसलाई एकदमै धेरै मिस गरिरहेछु । जत्ति बगेपनि राप्तीले किनारा नछोडेजस्तै हो, सन्तोषीको यादले मलाई कहिल्यै छोडेन र सँगसँगै धुब्रेलाई बिर्सिन पनि कहिल्यै सकिन । 

यद्यपी आजपनि मलाई धुब्रेसँग बिताएको रात सपनाजस्तै लाग्छ ।

हैन, के त्यो साँच्चो थियो ? वा थियो मेरो सपना जुन मैले सौराहाको टाईगर टप्स होटलको रुम नं २०७ मा देखेको थिए ? 
   

1 comment: