रातभर आफ्नै कविता पढे
र सोचे भोली चै म जीवनको कविता लेख्छु ।
सबेरै सूर्य दाईको चियापसल
चियाभन्दा पनि बढी तात्तिएर बसेको रैछ ।
“उ त मरिछे नि ।”
छि कस्तो नमीठो झस्को पस्यो
सोधे — “सूर्य दाई के पो थियो रे उस्को नाम ?”
हो, सबैले उसलाई लाटी भन्थे
म भने उसभित्र देख्थे सधै एउटा नौलो विज्ञान
टेकेकी हुदी हो भर्खरै सत्रौ बसन्त
धमिलो याद आयो सातकी फुच्चीले झै प्रश्न गरेको
“भगवानले लामखुट्टे किन बना’का होलान् हगि ?
बनाए नि यस्तो
चिलाउने गरी टोक्ने/रगत खाने चै पो किन बनाउनु ?”
हाँस्नेहरुको जमातसँगै लाटिएरै हाँसेकी उसले
नजानेरै नापेकी थिई — बाठाहरुको छातीको उचाई
हेरेर आकाशको घाम
गुडमर्निङ भन्न उसलाई कस्ले सिकायो ?
जे होस् गुडईभिनिङ भन्न पनि सिकाएछ ।
तर किन सिकाएन उसले
लामखुट्टे भन्दा पनि दुष्ट त मानिसहरु पो हुन्छन् भनेर ?
एस पी चोक उसको पूर्वको क्षितिज हुदो हो
नापेकी हुदी हो उत्तरमा एक्लै उसले धनुषमोड
आधा टेकेर दाहिने खुट्टाले आधै चप्पल
पश्चिममा उ पुग्ने त्यही लेखनाथ चोक न हो ।
सायद त्यही चोकको पश्चिम फर्केको पसलबाट
किनेकी हुँदी हो उसले टाँसिने कागजको फूल
र टाँसेर आफ्नो हत्केलापछाडी
उ त्यसदिन फूलजस्तै मुस्कुराएकी थिई ।
सुस्त मनस्थितिकी उ
रोटी खाँदै सूर्यदाईको चौतारी होटलमा
प्राय सोध्थी
बिद्यालय जान हतारिएको सूर्य दाईको छोरालाई
बिद्यालय जान हतारिएको सूर्य दाईको छोरालाई
“ओई तेजे के ओसार्छस हँ दिनदिनै
फर्किदा स्कूलबाट झोलाभरि भरि ?”
मानिसहरु गललल हाँस्थे ।
उसले त्यही बसेर देखेकी छे
हतारमा अफिस कुद्न लागेका मान्छेहरु ।
हाट भर्न फिक्कलदेखि झरेका हटेरुहरु ।
कमण्डलु भरि जिन्दगी थाप्ने जोगीहरु ।
के उसले कहिल्यै देखी आफैलाई ऐनाअगाडी ?
वा देखी उसले कहिल्यै
उसैलाई हेरेर थुक निल्नेहरुको जमात् ?
सम्झेर उसलाई स्खलित हुनेहरुको हुल ?
बिचरी उ फूलजस्तै मुस्कुराउथी ।
उ अड्बाङ्गो हिडेर
बनाउथी आफ्नै सोझो दुनियाँ ।
बटुल्थी आफ्नै आकाश ।
र फर्किन्थी आफ्नै गुँडमा ।
ठीक बिपरित
मान्छेहरु भत्काउन अर्काको दुनियाँ
सीधा खुट्टा पनि बाङ्गै टेक्दारैछन् ।
सोच्दैछु
सीधा खुट्टा सीधै टेक्नेहरु कहाँ पुग्छन् होला ?
हठात् राखेर एक कप चिया मेरो अगाडी
सूर्य दाई एक्लै फत्फताए
“त्यो दिन उसले हत्केलाको पछाडी नेपालको झण्डा टाँसेकी थिई
कुन दैवको आँखा लाग्यो कुन्नि ?
मुर्कट्टाहले बलात्कार पछि हत्या गरेछन् ।”
सूर्य दाई एक्लै मुर्मुरिए, मुर्मुरिरहे, फत्फताईरहे ।
झस्को यसपाली त छातीभित्रै गढ्यो ।
खै किन हो कुन्नि त्यसपछि
मलाई निर्मली र देश उस्तैउस्तै लागिरह्यो ।
अरे वाह !
ReplyDeleteमीठो लाग्यो कविता
ReplyDeleteवाह!! मन छोयो !
ReplyDeleteसार्है मजाको कबिता....
ReplyDeleteधन्यवाद प्रिय पाठक मनहरुमा ।
ReplyDeleteनिर्मली र देश
ReplyDeleteनिर्मली र देश
ReplyDeleteGazzab
ReplyDelete