भनिएको थियो–
असरफ तँ प्रेम नगर
यहाँ प्रेम वर्जित छ,
तँलाई प्रेम गर्ने अधिकार छैन ।
शास्वत सत्य बनाइएको थियो–
शरणार्थीको देश हुँदैन
गरिबको देवता हुँदैन
दासको कुनै बास हुँदैन
र,
सुनिदैंन आवाज सवाल्टर्नहरुको ।
शिला बनाएर राखिएको थियो–
तसँग जमिनलाई स्पर्श गर्ने कुनै अधिकार छैन
तँलाई सपना देख्ने पनि अधिकार छैन,
तेरो आफ्नो केही छैन,
तेरै जीवन पनि ।
र, भनिएको थियो–
असरफ तँसँग चेतना बोक्ने अधिकार छैन
अर्थात्, असरफ तँसँग बाँच्ने अधिकार छैन ।
तर, मृत्युपत्रमा सहीछाप गरेर
प्रेम गरिरह्यो असरफले,
जमिनलाई,
सपनालाई
प्रेमलाई
र, आफूजस्तै जिन्दगीहरुलाई ।
गल्ती त उस्ले गरेकै हो
उस्लाई कुरान पढ्न भनिएको थियो
उस्ले कुरान बुझिदियो ।
उस्लाई नियम मान्न भनिएको थियो
उस्ले नियममा खोट पहिल्याईदियो ।
उस्लाई नलेख्न भनिएको थियो
तर, जीवनको लय समातेर,
उस्ले प्रेम गर्यो र गर्न सिकायो ।
अरे, ओ शाशक
कलम भाँचिरहँदा
मसीका छिर्काहरु छरिए भने पो के गर्छौ
?
कवि असरफ फयादलाई कविता लेखेकै कारण मृत्युदण्डको सजाय सुनाएको जल्लाद साउदी अरब राज्य बिरुद्ध संसारभर कार्यक्रम भईरहदा गत शनिबार हामीले पनि यहाँ शिल्पी थियटर, बत्तीसपुतलीमा #FreeAshraf ब्यानरमा लाईभ पेन्टिंग र कविता सुनाएका थियौ । यो कविता त्यही सुनाईएको हो । अन्य जानकारी तलको लिंकमा भेट्न सकिन्छः
http://saurabhkarki.blogspot.com/2016/01/freeashraf.html
No comments:
Post a Comment