Monday, June 16, 2014

सुहागरात

“आश्रिया , ए आश्रिया !”
कसैले मलाई बोलाइरा’को सुनेर म अडिए । देखे रोडपल्लोपट्टि देखि मलाई बसन्ताले हात हल्लाईरहेकी थिई । त्यही पर्खी । यही उसको सङ्केत थियो सायद । म रोकिए ।
कत्ति पछि भेट्दैछु म उसलाई, सायद ६–७ बर्ष भइसक्यो होला बसन्तासँग भेट नभा’को पनि । कलेजमा सँगै पढ्थ्यौ हामी ।
“आम्मामा ! कत्ति सारो मोटाएकी तँ !”
म फिस्स हाँसे । उ उस्तै नै थिई, पातली, धेरै त हैन तर कम्मर छिनेकी ।
“कता जान आँटेकी नि ?”
“घर नि, अनि भन्न के छ तेरो हालखबर ?” मैले सोधे ।

“यस्तै त हो नि ।” यसै भनेर उसले आफूले आफैलाई हेरी । टाईट जिन्स, पेन्सिल हिल, स्लिपलेस, गलामा मोतीको माला, टलक्क टल्किने झुम्का । म उसलाई देखेर अलमल्लिएछु सायद । उसले भनी, “जाम् कफी पिउन ।” धेरै पछि भेटेको, छोड्न मन लागेन । मैले घरमा फोन गरेर भनिदिए, ‘म आउन अलिक ढिलो हुन्छ होला’ भनेर । मेरो हात समातेर हिडिरहेको मेरो छोरा देखेर उसले सोधी, “कसको बच्चा नि यो ?”
“मेरो”, मैले भने
“आम्मा नि, छोरो यत्रो भईसक्यो ? कहिले बिहे गरेकी नि तैले ?”
“धेरै भइसक्यो, ४ बर्षजति भयो होला ।”
व्यागबाट डेरी मिल्क को प्याकेट निकालेर दिई उसले, मेरो छोरोलाई । बाबुले लिन मानेन । “बाबु, चकलेट आन्टीले दिएको लिउ” भनेपछि बल्ल लियो  । “छोरा थ्याङ्क यू भन”, मैले भनिसकेपछि उसले “थ्यान यु” भन्यो, तर ‘यू’ भनेको प्रष्ट सुनिएन , सायद स्वर पुगेनछ क्यारे ।
..........................................

“यही जाम् है ।” एलिनाज तर्फ देखाउदै उसले सोधी ।
भित्र छिर्न लाग्दा गार्डले हामीलाई सलाम गरेर ढोका खोलिदियो । मेरो छोराले पनि ढ्याक्क खुट्टा बजारेर सलाम ठोकेझै ग¥यो । हामी तिनैजना भित्र छि¥र्यौ । मेरो छोराको आँखा पहिल्यै एक्वारियम तर्फ पुगेछ । उ त्यही गएर माछा टोलाउदै उभिरह्यो । मैले छोरालाई ताने । टेबलमा बस्यौ हामी । छेवैमा कृत्रिम झरना वगिरहेथ्यो । पानीको छङछङ को हल्का आवाज सुन्न सकिन्थ्यो ।
“के मगाँऊ”, उसले सोधी ।
मेनु पल्टाएर मैले भने, “मिक्स पिज्जा र कफी, बाबुको लागि बनाना लस्सी ।” बेराले ती सबै टिप्यो । उसले चिकन सेकुवा, टुवोर्ग वियर, र मिक्स सलाद मगाई । अनि मलाई सोधी, “तँ वियर लिन्नस् ?”
“अहँ, अहिलेसम्म पिएकी छैन ।”
“ठीक छ, नखाएकै राम्रो ।” उसले भनी ।
“अँ भन्न तँ के गर्दै छेस् ?” मैले प्रसङ्ग बदले ।
“यत्ति हो म्याम”, बेराले सोध्यो । “अँ अहिलेलाई यत्ति” मैले भने । उ गयो । मैले देखे बसन्ता नङको पोलिस कोट्याउदै मलाई हेरेर टोलाईरहेकी थिई । उसको स्तब्धतालाई अन्त्य गर्दै मैले फेरी सोधे, “के गर्दैछेस् तँ अचेल ?”
“यही एभरेष्ट क्यासिनोमा काम गर्छु”, मुस्काउन खोजी बसन्ता ।
“वियर पिउने बानी लागिसक्यो, सरी ल म सिगरेट पनि लिन्छु ।” यत्ति भनिसकेर व्यागबाट सूर्य चुरोटको बट्टा निकाल्दै १ खिल्ली ओठले च्यापेर जिप्पोको आगोले सल्काई उसले । उसको ओठको लिपिस्टिकले फिल्टरमा छाप छाडेको थियो । नाकको पोरा फुकाउदै ओठले धुवाँ फुकिरहेकी, देब्रे हातको चोरी र माझी औलाले चुरोट च्यापिरहेकी उसलाई कुनै कोणबाट पनि सुहाएझै भने मलाई लागेन । म बसन्ताको यो रुप देखेर अचम्मित भइरहेथे । तरैपनि खै किन हो “इट्स ओके” मैले भने ।
बाबु मेरो काख छाडेर बसन्ताको छेउमा गयो र बोल्यो, “आती आती”
“हजुर” बसन्ताले कान थापी  ।
“तपै चुलोत किन खानुहुन्थ ?”
“त्यत्तिकै” , हड्बडाउदै उसले भनी ।
“आती चुलोत त खानुहुन्न लोग लाग्थ ले ।”
“हो है !” हतार हतार उसले सूर्य लाईट्स लेखिएको एस्ट्रेमा चुरोट निभाई । अलिक अप्ठेरो लागेछ सायद ।
पल्लो टेबलका पञ्जाबीहरु मेरो छोराको गतिबिधि नियाल्दै थिए । अर्को टेबलमा एक ग्रुप रेड लेबल पिउदै थिए चिकनको पखेटाहरुसँग । छेवैको टेबलमा विदेशी झै लाग्ने नेपाली जोडी थिए , केटी मलिन थिई, बखत बखतमा चर्किन्थी , केटो सम्झाउन खोजिरहेथ्यो । केटीलाई आलिङ्गन गर्न खोजिरहेथ्यो । केटी रुला रुला झै पनि गर्दै थिई ।
“ल त्यसोभएदेखि अब म चुरोट पिउदिन ल ।”
“हत्” यत्ति भनेर छोरो लाडिदै फेरी मेरै काखमा आएर बस्न खोज्यो । मैले उसलाई कुर्सीमा राखिदिए ।
नोकिया ट्युन वज्यो । उसको मोबाईलमा रहेछ । “एक्स क्युज मी” , सभ्यता प्रकट गर्न खोजी उसले मसँग, अनि फोन उठाई ।
“अँह म आउन पाउदिन, आज म धेरै बिजी छु ।” प्रत्युत्तरमा फेरी , “आउदिन भनेपछि त भयो होला नि ।” यत्ति भनिसकेर फोन राखी अनि फेरी सिगरेटको बट्टा तर्फ हात लम्काई । मेरो छोरो लाडिदै बसन्ताको छेउमा  पुग्यो , “आती यो खोलिदिनुत न”, डेरी मिल्क को प्याकेट देखाउदै उसले भन्यो । उ झस्केझै भई । प्याकेट खोलिदिई । बाबु फेरी दौडदै एक्वारियम तर्फै पुग्यो , चकलेट खाँदै ।
“कसले फोन गरेको ?” , सोध्न हुन्थ्यो–हुदैनथ्यो, ख्याल नै नगरी सोधे मैले ।
“केटाहरु त हुन नि । ......... वेटर खै मेरो अर्डर ?” उसले उता रिसेप्सन तर्फ फर्केर सोधी । “ल्याए म्याम ।” बेरा परैबाट चिच्यायो । उसले वियर पहिला अनि चिकन सेकुवा, त्यसपछि कफी राखिदियो । बेराले सर्भ गर्न खोज्दैथियो, उसले “पर्दैन जाउ” भनी । “अब कहाँ लैनचौर पुगिराख्ने नि, यही क्यासिनोमा नै कत्ति धेरै काम छ ।” एक्लै फत्फताउन थाली बसन्ता ।
“नो नो । नो म्याटर ह्वाट यू डु, जस्ट लिभ मि एलोन ।” यत्ति भनिसकेर त्यो खैरी जस्ती लाग्ने केटी आफ्नो बाटो लागि । केटो ले कपाल मुसा¥यो । आफ्नो वाईन तनक्क पा¥यो अनि सिगरेट सल्काएर गोलो गोलो धुवाँ फ्याकिरह्यो ।
मैले सोधे , “त्यो अनिलको हालखबर चाहि के छ नि ?” मैले थाहापाएसम्मको उसको पछिल्लो ब्याईफ्रेन्डको नाम थियो त्यो ।
“को अनिल ?”
“त्यही क्या त ! तँलाई पछिल्लो टाइम सधै कलेज छोड्न आउथ्यो नि !”
“ए त्यो अनिल !” , बल्ल सम्झे झै गरी उसले अनि भनी,  “मैले उहिल्यै छोडिदिएको नि !”
“किन ?”
“खै किन किन मलाई मन नै परेन ।”
“किन नि ? केही कारण त पक्कै होला क्यारे ।” मैले अलिक खोतल्न खोजे ।
“२ महिनाभरिमा मलाई एकचोटी नि सपिङ लगेन त्यसले । त्यही भएर अत्ति रिस उठ्यो । जाबो एकचोटी सपिङ पनि लान नसक्ने केटाहरुसँग के लभ गर्नु ?” रिसको पारो नाकको टुप्पोमा झल्काउदै, गिलासको वियरको एक चुस्की लिई उसले ।
यसरी कहिले सपिङ लाने निहुँमा त कहिले राम्रो  रेष्टुरेन्टमा नलगेको झोक, कहिले स्ट्यान्डर्ड मेन्टेन गर्न नसक्ने बाइकको कारणले त कहिले नगरकोट र पोखरा घुमाउन नलगेको झोकमा धेरैजनालाई छाडिसकेकी थिई उसले । राम्री थिई उ तर साह्रै घमण्डी भएकी थिई उ पछिल्लो समय ।
उसले भनी, “अहिले त हातमा छन,् जहाँ भन्यो त्यहाँ लाने केटाहरु । त्यो अगि फोन गर्ने केटालाई लिन आइज भनेर भन्यो मात्र भने नि स्यान्ट्रो लिएर आईपुग्छ ।” मजैसँग ध्वाँस छाटी उसले यसपटक ।  
“अझै पनि मोज नै गरिराखेकी छेस हैन त ?”
“जिन्दगी नै मोज मस्तीको लागि त हो नि , जति जिउछौ खुलेर जिउ , मरेपछि लानु नै पो के छ र?” यत्ति भनिसकेर उसले सिनित्त पारी त्यो ग्लास । फेरी फोन आयो उसको यान ८८ मा । प्रत्युत्तरमा उसले भनी “प्लिज डार्लिङ आज अलिक ढिलो हुन्छ क्या, फेरी म यहाँ साथीसँग छु, अनि क्यासिनो पनि त गाको छैन, बरु तिमी नै यता आउन, भरे ¥याडिसन तिर जाम्ला ।” उसले फेरी भनी “ओके बाबा ठीक सात बजेतिर नै आउ, आइ विल बि वेटिङ ल !”

.........................................

फोन काटिसकेर उसले भनी , “अस्ति सपिङ जाँदा अहिले फोन गर्ने केटाले नै गिफ्ट दिएको यो मोवाईल । हेर जे जस्तो भएपनि अहिले केही कुराको कमी छैन । मेरो स्कुटी पनि आउदै होला । तेल हाल्न पठाकी छु अहिले ।”  मैले देखिरहेथे उसमा कमी भएको नभएको उसको पहिरन ले राम्रोसँग झल्काईरहेथ्यो ।
हाम्रो सब्बै अर्डर आईसकेको थियो । उसलाई उसको मोबाईलले बिजी बनाईरहेथ्यो । म चुपचाप पिज्जा खान थाले पिज्जा भन्दा पनि बढ्ता उसको बिगत निल्दै ।
सिन्धुपाल्चोकको बाह्रबिसे माथि खुर्सानीबारी हो उसको घर । राम्रै पढ्ने केटी थिई ऊ । मान्छे पनि गोरी, राम्री । फस्ट डिभिजनको हाईयस्ट ¥याङ्कको नम्बर ल्याएपछि ऊ काठमान्डौमा पढ्न आई । घर विपन्न नै भएपनि बाबुले दुःख गरेर उसलाई राम्रै कलेजमा पढाएका थिए । मेरै कलेजमा म सँगै विज्ञान संकाय पढ्थी ऊ । मेरो एकदमै घनिष्ठ मित्र थिई ऊ, त्यसताका । धेरै केटाहरु पहिल्यै देखि उसको पछि लाग्थे , ऊ हेक्का राख्दैनथिई । बि.एस्सी. नर्सिङ गर्छु भन्थी ऊ ।
“साच्ची तेरो पढाई कहाँ पुग्यो नि ?” मैले सोधे ।
“ह्या पढेपनि पैसा नै कमाउनु त हो । नपढेपनि पैसा कमाएकै छु क्यारे । आमा र बहिनीलाई पनि यही काठमान्डौ ल्याउने विचार गर्दैछु ।” 
टन्नै पो पैसा कमाईछे क्यारे , मैले मनमनै सोचे । मेरो छोरा एक्वारियममा नै झुम्मिरहेथ्यो । घरमा पनि एक्लै एक्वारियममा नै टोलाएर बसिरहन्छ । माछा हेरेर कहिल्यै अघाउदैन ऊ ।
“तेरो चाहि कहाँ पुग्यो नि ?” उसले सोधी ।
“म एम.एस्सी सेकेन्ड इयर पढ्दैछु ।”
“घरमा बूढाले नपढ भन्दैन ?”
“अहँ ! उहाँ त्यस्तो हुनुहुन्न । पढ्नु पर्छ , बरु तिमी म भन्दा नि धेरै पढ्नु भन्नुहुन्छ ।”
“पढ्छेस मात्रै कि अरु नि केही गर्छेस ?”
“छोरा स्कूल जान थालेपछि म टिचिङ गर्दैछु । बाँकी समय घरतिरै बित्छ ।” मैले यति भनिसक्दा नसक्दै उसले त्यो गिलास रित्याएर अर्को मगाईसकेकी थिई । फेरी फोन आयो उसको मोबाईलमा । उ बोली “नो यार, आज म एकदमै बिजी छु । फेरी पोखरा त्यत्रो धेरै दिनको लागि ?” फेरी प्रत्युत्तरमा बोली “ठीक छ बट आई वान्ट एड्भान्स फस्ट ।” ........ “ओके ल ल त्यसोभए नेक्स्ट फ्राइडे फिस्क्ड है त ?” उसले फोन राखी अनि भनी “घरको बूढीलाई त आँखै लाउदैनन् भन्या, घरमा एक रात राम्रोसँग टिक्न सक्तैनन् यी केटामानिसहरु, तर पैसा जति भन्यो त्यत्ति दिन्छन् ।” म खुसी भए धन्न मेरो श्रीमान त्यस्तो हुनुहुन्न । आई क्यान ट्रस्ट हिम फ्रम एनी कर्नर । मेरो पिज्जा काटिनै मानिरहेको थिएन । बल्ल तल्ल काटियो ।
..................................................

५८÷५९ सालतिरको कुरा हो । आतङ्ककारीलाई  सहयोग गरेको शंकामा प्रहरीले उसको बुबालाई समातेर लगे । बुबा बेलुका नफर्केपछि हतास भएर आत्तिदै मेरोमा आएकी थिई ऊ । मैलै सम्झाईवरी मेरैमा सुताए त्यो दिन । त्यसपछि देखि लापत्ता भएका उसका बाबुको खबर पछिसम्म पनि पत्तो लाग्न सकेको थिएन ।
त्यसपछिका दिनहरु उसले संघर्षका दिनहरु बिताई भन्दा अतिशयोक्ति नहोला पनि । त्यसको केही दिनपछि कोठाको भाडा तिर्न नसकेको गुनासो मसँग गर्न आएकी थिई बसन्ता । साथीहरुसँग भनेर २–३ पल्टसम्म उसको कोठाको भाडा मैले तिरीदिएकी पनि थिए । कलेजको फिस तिर्न नसकेकी उसलाई उसको राम्रो पढाई, हामी सम्पुर्ण विध्यार्थीहरुको अनुरोध अनि शिक्षक र म्यानेजमेन्टको बैठकले उसलाई निःशुल्क पढाइदिने निर्णय त ग¥यो तर त्यसताका उसलाई एकछाक टार्न पनि एकदमै मुस्किल परिरहेको अवस्था थियो । उसले कत्ति काम खोजी तर कही योग्यता नपुगेर, कहिले घुस ख्वाउन नसकेर त कहिले हाकिमको अगाडी नाङ्गिन नसकेर उसले जागिर पाईन । यी सब कुरा आँसुका ढिक्का खसाल्दै घुक्क घुक्क गर्ने बसन्ता, त्यही बसन्तालाई आज म कपडा लगाउदा नि नाङ्गै देखिरहेछु । बिस्तारै त्यसपछि उसको सङगत डान्स बार जाने र त्यहाँ नाच्ने साथीहरुसँग बढ्न थाल्यो । मैले रोक्ने हरप्रयास गरेको थिए तर सकिन । ड्याडीलाई भनेर २–४ महिनाभित्र काममा लगाईदिने आश्वासन पनि दिए तर यो काठमान्डौको महङ्गीले उसलाई २–४ दिन हैन २–४ घन्टा पनि राम्रोसँग टिक्न नदिईरहेको अवस्था थियो । ऊ यसरी महङ्गीको चपेटामा विना अन्न पानी काठमान्डौसँग लपेटिन पनि सक्तैनथी, साथै बाबु लापत्ता भएको चिसो खबर लिएर गाम जान पनि त सक्तैनथी । ऊ रुन्थी, छट्पटिन्थी मसँग । मसँग आश्वासनका शब्दहरु बाहेक केही छँदा पनि त थिएन । त्यसको केही दिनपछि नै उसले पत्तो लगाई, आफ्नो सिङगो सम्पति आफै हो भन्ने कुरा । आफ्नो मालिक आफै बनेर ऊ जागिर खान थाली । त्यसपछि त कुर्ता सलवार लगाउने बसन्तालाई स्कट र स्लिपलेस मा झर्न २ मिनेट पनि लागेन । ऊ खेल्न थाली , ऊ ठाँटिन थाली । उसलाई कलेज छाड्न र लिन आउने गर्थे केटाहरु । क्लासमा पनि सधैजसो लास्ट बेन्चमा केटाहरु सँग नै जिस्केर बस्थी । उसको निहुमा कत्तिले टाउको फुटाए, कतिले बाईक सिद्धाए । यसको हेक्का उसैलाई पनि नहोला सायद ।

..................................................

उसको स्थिति देख्दा जति नै दुःख लागेपनि आमा र बैनीलाई काठमान्डौ ल्याउने हैसियत बनाएकी भन्ने सुन्दा भने खुसी नै लाग्यो । उसको विगतसँगै पिज्जा पनि निलिसकेछु । छोरो स्ट्रबाट लस्सी पिउदै नै थियो । उसले तीनवटा बोतल सकाएर अर्को एउटा फोड्दैथिई । “भयो धेरै नखा”, मैले भने ।
बसन्ताले भनी “ह्या यो त केही हैन , बेलुकी टन्नै हुन्छ । अहिलेलाई भने यो लास्ट हो ।” गिलासमा फिज माथिसम्म आउने गरी वियर खन्याई उसले ।
“कत्ति सम्म पिउन सक्छेस ?”
“खै त्यो त थाहाछैन , तर .......... अँ जति पनि हुनसक्छ । कहिले त रातै पिएर बित्छ ।”
“के तँलाई यसको खराबी थाहाछैन र ?”
“थाहापाएर नि के गर्नु ? पिउनैपर्छ । आखिर राम्रो बाँकी नै के छ र ममा ?” यति भन्दा नभन्दै उ मलिन भएकी थिई, तर फेरी हाँस्न खोज्दै भनी , “जति पिए नि आखिर आफ्नो पैसा होईन क्यारे ।”
“तैपनि ..................... ” म सम्झाउन खोज्दैथिए । “बरु भन्न के गर्छ नि तेरो बूढा ?” उसले कुरै मोडिदिई ।
“उहाँ चाटर्ड एकाउन्टेन्ट हुनुहुन्छ , यही स्ट्यान्डर्ड चाटर्डमा ।”
बसन्ताले हाँस्दै भनी “होस् गर है मदेखि !”
लागेछ कि क्या हो ? “किन नि ?” एकदमै अबुझ भए म ।
“के थाहा तेरो बूढा पनि ..... ?”
“ए होईन होईन , उहाँ त्यस्तो हुनुहुन्न । मलाई राम्रोसँग थाहा छ ।”
“के भर आजकालका केटाहरुको ?”
मुटुको कुनामा चिसो पस्यो । तर फेरी सोचे, मजस्तो बुझकी मान्छेले यस्तो अनावश्यक शंका गर्न सुहाँउदैन । मैले फेरी भने  “होईन , उहाँ त्यस्तो हुनुहुन्न ।”
“त्यस्तो नभएकै राम्रो ।” मलाई अचम्म लाग्यो , उसले किन यसो भनी ? यस्ता कलगर्ल ले त्यसो भनेको सुन्दा अचम्मित नहुनुपर्ने ठाउँ पनि त थिएन , तर जे भएनि उ मेरी सखी थिई । त्यो छेउको टेबल खाली भईसकेको थियो । सायद खैरो कपाल भएको नेपाली केटो हिडिसकेछ । पन्जावीहरु ठूलो ठूलो स्वरले हाँस्दैथिए ।
मैले सोधे, “तेरी बहिनीचाहि के गर्छे नि ?”    
“अहिले पढ्दैछे गाउमै , बाह्र कक्षामा । जेहोस् आफूले केही गर्न नसके’नि त्यसलाई भने ठूलो मान्छे बनाउने सोच छ । हेरम् अब के हुन्छ !” फेरी बादल छायो उसको मुहारमा, मलिन भयो उसको चेहेरा । स्वर गलामा अड्किन खोजेझै लागिरहेथ्यो, गाला हल्लिन खोजिरहेथ्यो । उसले निन्याउरो भएर भनी , “तर डर लाग्छ कतै मेरो यथार्थ त्यसले थाहापाउने त हैन ?”
“आमालाई चाहि थाहा छ त ?”
“अँ आमालाई त सबै भनिसके, बिचरी के गर्नु र ? सुनिरन्छिन् , आसु खसाल्दै । आखिर बाँच्नु त प¥यो नै , यसै भन्छिन् आमा ।”
“हुनत यो जिन्दगी जिउनकै लागि हो । मृत्यु र पलायनकै लागि त होइन नि !” सायद कता हो कुन्नि पढेथे यो शब्द , फ्याट्ट भनिहालेछु । र म मात्र यतिखेर उसलाई सहज बनाउन खोज्दैछु म ।
“आमालाई सबले बेश्याकी आमा भन्छन् रे ! छोरी जिउ मासेर हिड्छे , भन्दै नानाथरीका लाञ्छना लाउछन् रे । त्यै भ’र नि यही लेराउन खोजेको । यो महङ्गीको श्मशानघाटमा , खै हेरम् अब के हुन्छ ?”
मैले प्रसङ्ग बदल्न खोजे “बुबाको बारेमा केही थाहापाईस त ?” आँसुका ढिक्का खसालिसकेकी उसले थाहा नपाउने तवरले पुछ्दै भनी “अहँ अहिलेसम्म पत्तो लाग्न सकेको छैन । प्रहरीका ठूला–ठालु भनाउदा हरु पनि केही थाहाछैन भन्छन् । थाहाछैन यार , जिउदै छन् कि बितिसके बूढा !” लामो सास तानेर फेरी भनी “विचरी एक्ली मेरी आमा ।”
आँखाका डिलभरि आँसु पारी उसले । मेरो मनमा पनि सन्नाटा छायो । जिउ सिरिङ्ग भएझै अनुभव भयो आफैलाई ।
बाबु बसन्ताको छेउमा गएर सोध्न थाल्यो – “आन्ती आन्ती के भोयो ?”
“केही पनि हैन बाबु ।” उसले भनी ।
“अनि किन लोको त ?” उसले फेरी प्रश्न ग¥यो ।
बसन्ता केही बोल्न सकिन । म झनै चुप थिए । उसले आफ्नो मिनिपर्सबाट रुमाल निकाल्नै लागेकी थिई बाबुले उसको  गालाछेउ आफ्ना कलिला औलाहरुले स्पर्श गरेर आँसु पुछिदिएझै गर्दै भन्यो “आन्ती मेलो बाबाले भनेको डलथेलुवा हलु मात्ल लुन्थन् रे , आन्ती तपाई डलछेलुवा हो ?”
“होइन बाबु , (क्षणभरमै स्तब्ध हुदै ) ल अब आन्ती नरुने है” , भन्न त भनी तर पनि आफूलाई सम्हाल्न सकिन । बरर नुनिलो पानी बगाई उसले , म हेरेको हे¥यै भए । सहानुभूति पोख्नकै लागि मात्रै पनि शब्दहरुको अभाव भएझै लागिरहेथ्यो मलाई, त्यससमय ।


................................................

“बाबु यता आउ”, मैले छोरालाई ताने ।
“मामु आन्ती किन लोएको ?”
“रोएको हैन , आन्टीको आँखामा धुलो प¥यो रे क्या ।” यत्ति भनेपछि केही बुझेझै ग¥यो उसले अनि चुप लाग्यो ।
“बाबु त्यहाँ हेर त कस्तो राम्रो पहेलो माछा”, मैले उसको नजर एक्वारियम तर्फ घुमाईदिए । ऊ फेरी मोहित भयो एक्वारियम तर्फ । बसन्ताको मोबाईलमा फेरी फोन आयो । “क्यासिनोबाट म्यानेजरले फोन गरेछ । साला यिनिहरुलाई पनि एक मिनेट ढिलो हुनै हुदैन भन्या फोन गरिहाल्छन बोलाउन ।” यसो भन्दा उसले आँसु त पुछेकी थिईन तर आक्रोश भने आँखामै झल्किरहेथ्यो ।
“उठा न त ।”
“होस् उठाउदिन , स्कुटी पनि आईपुगेको छैन । तलाई ढिलो त भएको छैन नि  ?” आँसु पुछ्दै वियरको चुस्की लगाएर सोधी उसले ।
“त्यति सारो छैन”, मैले भने । उसको मोबाईलमा निरन्तर फोन आईरहेथ्यो । धेरै बजेपछि उसले रिसिभ गरी अनि बोली “सर, म ह्याँ पेट्रोल हाल्दैछु ....... हुन्छ सर म आई हाल्छु ...... हाफ एन आवर जति लाग्छ होला ।” त्यसपछि फोन डिस्कनेक्ट गरेर स्विच अफ गरिदिई उसले ।
“के भन्नु यार जिन्दगीले खेलायो कहिले , कहिले आफै खेले , अहिले कसले कसलाई खेलाईरहेछ मलाई नै पत्तो छैन ।” उसका शब्द बुझ्न त्यति कठिन परेन मलाई । “कहिले ल्याँउछेस् त आमालाई ?” मैले सोधे ।
“आफै आउनु भनेर भन्न नि सकेको छैन , अब बैनीको पनि बाह्र क्लियर होस् अनि बोलाउनुपर्ला ।”
“किन नि त्यस्तो ?”
“किन हुनु नि , रात, बिहान, साँझ केही भन्न पाईदैन । उनीहरुले भनेको समय आफू तयार रहन सक्नुपर्छ । तीनकुनेमा फ्लाट लिएको पनि एक बर्ष भईसक्यो होला । तर एक महिना पनि राम्रोसँग बसेको छैन , आफ्नो कोठामा ।”
मैले सोधे “कत्तिको सन्तुष्ट छेस् त ?” किन सोधे त्यो चाहि था’छैन ।
“हेर आफु त परिस्थितिले लत्याएको मानिस , उर्लाउदो बाढीले किनारामा पछारिदिएको मानिस , बाहिरी आँखाले हेर्दा म जत्तिको सन्तुष्ट कोही छैन । हेर केही चिजको कमी पनि त छैन । तर आफूलाई बेचेर कमाएको सम्पतिमा के सन्तुष्ट हुनु ? हामी केटीहरुको सम्पति भनेकै लज्जा हो , जुन कुरा आज मसँग एक चिम्टी पनि बाँकी छैन । अस्तित्व हराएर, महत्व लुटाएर कमाएको सम्पतिको के सन्तुष्ट हुनु ?”

.....................................................
रक्सीले मातेपछि साँचो कुरा ओकल्छ मान्छे भन्थे मान्छेहरु । मैले त्यो देखे आज, तर त्यसो मात्रै पनि नहुन सक्छ । धेरैपछि प्रिय सखी भेटेकी भ’र मनमा गुम्स्याएर राखेका कुरा ओकलेकी पनि त हुनसक्छ । आखिर यसरी कस्को सामु पो खुल्न सक्थी र ऊ ? जेसुकै होस् तर ऊ सत्य बक्दैथिई ।
उसले भनी , “तँ आफ्नो कमाई लगेर बैङ्क ब्यालेन्स गर्छेस होला, कत्ति खुसी मान्छेस् होला तर मलाई त त्यस्तो लाग्दैन । आदि घन्टा–पैतालिस मिनेटको कालो कर्तुतको धन हो त्यो । हुन त बाँकी नैे पो के छ र ? र पनि लुटिईसकेकी आफैलाई अझै बढी लुटाएर अकाँको पसिना खोसेको धन हो त्यो ।”
“त्यसो किन भन्छेस् ? तँ तिनै मानिसको लुट्छेस जो अरुको पसिना खोसेर सन्तुष्ट हुन खोज्छन् वा ती मानिसको जो आफ्नो पसिनाको मोल बुझ्दैनन् ।” मैले सम्झाउन खोजे झै गरे उसलाई ।
“सबैले पसिनाको अर्थ बुझ्न थाले भने हामी बाँच्ने कसरी नि ?” उसले गम्भीर हुदै भनी । म हाँस्न खोजे तर सकिन । आखिर यथार्थ यही नै त हो अनि ऊ पनि त हाँसेकी थिईन ।
उसले फेरी भनी , “सोच त , तैले आफ्नो पहिलो कमाई लिदाँको क्षण त कत्ति खुसी थिईस होला । तेरो आँखामा खुसीको आँसु थियो होला । मेरो जीवनको पहिलो कमाई यसै भन्दै तैले लड्डु किनेर पनि बाँडिस् होला । तर मैले त रगतमा होली खेलेर कमाएकी थिए । आफू थिचिएर, चपेटिएर कमाएकी थिए । हेर आश्रिया मैले त आफैले पनि लड्डु किनेर खान सकिन । मैले त्यो रुपैया छातीमा लपेट्न पनि सकिन ।”
मैले देखे मानिसलाई बाँच्न कति इच्छा हुदोरहेछ । स्वास मात्र फेर्न पनि कुन हदसम्म गिर्न सक्तारहेछन् । बाँच्नु , बाँच्नु अनि बाँच्नु । नमरुन्जेल बाँचिरहनु के यही नै हो त जिन्दगी ? सोचिरहे ..... । नरमाईलो लाग्यो । अमिलो पानी रसाएझै लाग्यो आफैलाई ।
“आज सबथोक छ आश्रिया , सबथोक । केही कुराको कमी छैन । मन्त्रीदेखि हरेक सरकारी कार्यालयका प्रमुख चिन्छु म , तर लज्जा छैन मसँग अनि मेरा हराएका बुबाको खबर पनि त था’छैन । कंगाललाई एकै रातमा धनाड्य बनाउन सक्छु म , तर कतै खुलेर हाँसेको था’छैन आफैलाई । करोडपतिलाई रोडमा झार्न पनि सक्छु म , तर आजसम्म उमङ्गले भरिएर रुन सकेकी छैन । साँच्चै आश्रिया , हरेक रात लोग्नेमानिससँग बिताउछु म तर श्रीमानको अर्थ बुझेकी छैन । गलामा माला पहिरिएकै छु , तर माला र पोतेको फरक सम्झेकी छैन । रातो अबिरको टीका पनि लगाउछु तर सिन्दुरको महत्व पहिल्याउन सकेकी छैन ।” एकछिन चुप भएर उ फेरी बोली , “साँच्चै भन् त आश्रिया मैले विताएको रात र तैले बिताएको सुहागरातमा फरक चाहि के छ ?”
गला अबरुद्ध भएर आयो मेरो । मैले देखे फेरी पनि ऊ आँसु तप्काईरहीथी । त्यत्तिखेरै मलाई उहाँले फोन गर्नुभयो । अफिस छुट्टी भईसकेछ क्यारे । भन्दैहुनुहुन्थ्यो , स्ट्यान्डर्ड चाटर्ड अगाडी आउनु, सँगै घर जाम्ला । मैले हुन्छ भनिदिए । मेरो छोरा बसन्ताकै छेउमा थियो तर यसपटक ऊ केही बोलिरहेको थिएन । तर धेरै कुरा बुझेझै गरी बसन्ताको मुहारको भाव पढ्न खोजेझै देखिन्थ्यो ।
बसन्ताले आसु पुछ्दै भनी , “आश्रिया मलाई छोरा र छोरीको महत्व बुझा त । यिनिहरु हुनुको , हामी आमा बन्नुको अर्थ सम्झाईदे न ।”
म उसका प्रश्नहरुको ओझले गल्न थालिसकेकी थिए । फेरी एकचोटी नतमस्तक–अनुत्तरित भए म । उसले के सोच्ली कुन्नि, मैले ख्याल नै नराखी भने , “जाम् मलाई उहाँले फोन गर्नुभईसक्यो ।”
ऊ “एकछिन ल” भनेर फ्रेस हुनको लागि बाथरुम तिर गई । मैले बेरासँग विल मागे । वेटरले ल्याएको विल र बसन्ता सँगसँगै आईपुगे । उसले पे गर्न खोज्दैथिई , तर मैले मानिन । मैले पे गरे । आफूले बोकेको ब्यागबाट मेक अप पिस निकालेर फाउन्डेसन दली उसले । लिपिस्टिक लगाई । गाजल पोती अनि कपाल कोर्दै भनी “जाम् हिड ।” उसले खुसी ब्यक्त गरी मलाई भेटेकोमा , मेरो फोन नं. पनि मागी उसले अनि आफ्नो मोबाईलबाट मिस्कल हान्दै “मेरो नं.” भनी । हामी तीनैजना बाहिर निस्कियौ । त्यो गार्डले फेरी सलाम ठोक्यो , मेरो बाबुले पनि गार्डलाई जिस्क्याएझै गर्दै सलाम ग¥यो । त्यो गार्ड पहिले जसरी नै मुसुक्क हाँस्यो । बसन्ताले रु ५० को नोट गार्डको हातमा थमाईदिई ।
जानेबेलामा उसले फेरी बाबुलाई डेरी मिल्कको अर्को प्याकेट दिई । बाबुले लिन अप्ठेरो मानेन । उसले भन्यो , “आन्ती अबदेथि कहिल्यै चुलोत नथानोथ् है ।”
“हस् बाबु” , उसले हाँसेझै गरेर भनी ।
“ल त फोन गर्दै गर है”, मैले भनेपछि उसले “हुन्छ” भनी । त्यतिन्जेलसम्म पनि मनमा अझै एउटा प्रश्न गुम्सिरहेथ्यो । मैले सोधे, “बसन्ता तँ बिहा कहिले गर्छेस त ?” ऊ चुपचाप भई । मैले गल्ती गरेछु । सायद सोध्न हुन्थेन कि ? मौनतासँगै उसको आँखाको डिल भरिएर आएको देखे । मैले सरी है पनि भन्न सकिन , मात्र “गए है” भने मधुरो स्वरमा । ऊ केही बोलिन , उसको टाउको झुकिरहेथ्यो । खुट्टाको बुढी औंलोले भुई कोट्याउन लागेझै देखेथे मैले । अलिक पर पुगेपछि बाबुले फेरी फर्किएर भन्यो, “आन्ती अबदेथि कहिल्यै नलुनोथ् है , डलथेलुवा हलु मात्ल लुन्थन् रे मेलो बाबाले भनेको ।”
..................................................
त्यसपछि, मैले बाबुलाई बोकेर लम्किए । सायद उसले फेरी आँसु पुछिन क्यारे । मैले फर्केर हेरिन पनि ।

No comments:

Post a Comment