– र चाउरी परेको निधारबाट
पुछेर टल्किएका पसिना
पोल्टोबाट निकालेर
अङ्गेरीको पातमा बेरिएको सुर्ती
सल्काउदै सोचिरहिन् मनमाया ।
खुत्रुक्क – खुत्रुक्क
ओर्लिएर यो सिढी
बोलेर आफ्नै भाषा
यो खोला कहाँ पुग्छ होला ?
यो फलामे वृतभित्र
संगालेर ढुङ्गाजस्ता ईच्छाहरु
कति पिट्नु घनले – आफ्नै मनलाई ?
र कहिलेसम्म बनाउनु गिट्टी
यो आकाशजस्तै रहर ?
हैन, किन यत्ति धेरै
बिरानो बनेको होला
त्यो आदिम घाम र यो पसिना ?
जूनको अनुहार छलेर
एकरात मेरै गुन्द्रीमा
मेरै सपना बिछ्याएकाहरु
पसेका छन् रे – राजाको गाउँमा ?
के गर्दै होलान् बाई ?
कहा सुस्ताउदा होलान् हगि ?
ओछ्याउदा हुन् कस्का सपना ?
साँच्चै घरको चुलोमा
खरानीमुनि जोगाएको आगो
टिप्ला कि नटिप्ला
त्यो चिसो दाउराले ?
यो भकारी जत्रै टिनको भाँडो
कसले बनायो कुन्नि ?
खै, कहिले भर्नु र मैले
आफ्नै औला कुटेर
दुई छाक गिट्टी ?
एक सर्को
बिडी न रैछ जीवन !
कसले सल्काईदियो ?
खैर जे होस् – सल्किरहेछु ।
हैन ए बुढा
बोलाउछौ कहिले मलाई
तिमी गएकै बाटो
त्यो कहिल्यै नभेटिने – बस्तीमा ?
– र चाउरी परेको निधारबाट
पुछेर टल्किएका पसिना
पोल्टोबाट निकालेको
अङ्गेरीको पातमा बेरिएको सुर्ती
निभाउदै सोचिरहिन् मनमाया ।
सुसे धन्दा र जिवनको
ReplyDeleteसरल प्रस्तुति