Thursday, July 31, 2014

सुनको औंठी


मैले सुन भेट्टाए । सुनको औठी ।

औंठी खासमा मैले भन्दा अगाडी डुकेन्द्रले भेट्टाएको थियो । म एयरपोर्ट काउन्टरमा बसेर प्यासेन्जर कुपन चेक गर्दैथिए । फ्लाईट उडिसकेपछि पनि हामी फ्लाईट कुपन अर्थात प्यासेन्जरहरु उडेको टिकटको कुपनलाई एकचोटी पुन रुजु गर्ने गर्छौ । फ्लाईट उडिसकेको थियो र म त्यही टिकट रुजु गर्दैथिए, चेकिङ काउन्टर छेवैमा झरेको सुन टिपेर डुकेन्द्रले देखायो । मैले हत्त पत्त त्यो सुन समाते ।


सुन भेट्टाएपछि हल्ला जो हुनुपथ्र्यो । भयो । पातले तर अग्लो गोबिन्देको नाम हाकिमले लामखुट्टे राखिदिएपछि हामी सबैले उसलाई लामखुट्टे नै भन्ने गरेका छौ । प्राय हाकिमहरु आफूमुनि काम गर्ने सम्पूर्ण स्टाफहरुको नाम राख्छन् । हाकिमहरुको हेपाहा प्रबृति !

अतः गोबिन्दे उर्फ लामखुट्टेले त्यो सुन हो कि होईन परिक्षण गर्छु भन्यो । उसो त म आफू पनि सुन नै हो भन्ने कुरामा प्रस्ट थिईन । त्यहाँ वरिपरि हाम्रा स्टाफहरुबिचको हल्ला ले निचोड ल्याउन पनि अवश्य सकेको थिएन । कोही ग्यारेन्टीवाला सुनको जलप लगाईएको हो भन्थे । कोही पित्तल भन्थे । कोही सुन नै हो भन्थे । लामखुट्टेले चै बैज्ञानिकले भन्दा बढी परीक्षण गरिदियो । जिब्रोले सुन छोयो र भन्यो–“यो सुन हो । सुन भेट्टायो भने दशा लाग्छ भन्छन् । डुकुले भेट्टाएर तँलाई दियो, तलाई दशा लाग्छ अब ।”

मैले ‘उस्कss !’ भन्ने तरिकाले उसलाई हेरेपछि उसले मलाई फेरी भन्यो–“भगवान्कसम सुन भेट्टायो भने दशा लाग्छ रे ।” भगवान्कसम उसको भगवान्कसमले मलाई सोच्न फिटिक्कै पनि बाध्य पारेन !
केहीबेरमै सबैले सुनको कुरा बिर्सिसकेका थिए । नसम्झिउन् जस्तै लागिरहेथ्यो मलाई पनि । तर सुरेनले काउन्टर छेउमै आएर मलाई झस्कायो–“सौरभ सर, त्यो मैले भेटेर पित्तल भनेर छोडेको । पक्कै त्यो सुन त होईन है ?”

“होईन पित्तल हो ।” मैले भन्नै नपाई लामखुट्टेले भनिदियो । हामी हाँस्यौ ।

आफ्नो उपहास गरेको थाहापाएर सायद, सुरेनले फेरी भन्यो–“ल पित्तलकै भए पनि म ५०० रुपिया दिन्छु । मलाई त्यो दिनु न त ।”

“खै लेऊ न त ५०० ।” मैले अड्को थापे । उ अक्मकायो । हामी फेरी हाँस्यौ ।

अनमन्यस्कको स्थितिमा सुरेन फेरी टोलाउन लाग्यो । आफ्नो सस्तो खालको मोबाईल सेटमा त ब्लु फिल्म हेर्दै टोलाउन सक्ने मान्छे उ, यतिखेर टोलाउनु कुनै नौलो थिएन । खै उ के सोच्न लाग्यो कुन्नि ? चेकिङ काउन्टर ब्यस्त हुन थालिसकेको थियो र हामी अर्को फ्लाईटको लागि तयारी गर्नतर्फ लाग्यौ ।

बेलुका फ्लाईट नसकिउन्जेलसम्मै त्यो सुन होला कि नहोला भन्ने कुराले मुटुमा ढ्याङ्ग्रो ठोकिरह्यो । सुन भेट्टायो भने दशा लाग्छ भन्नेजस्तो कुरामा बिश्वास नलागेपनि त्यतिखेर मैले तपाईहरुको सबैभन्दा ठूलो अन्धबिश्वासको प्रतीक प्रिय भगवान् सम्झिए, अनि मनमनै त्यो सुन नै होस् भनेर कामना गरिरहे ।

.......................................


प्रिय पाठक, उसो त तपाईहरुसँग फेसबुकमा अनलाईन कुरा नगरेको पनि धेरै भा’थ्यो । त्यसैले त्यो साँझ म साईबर गए । अनलाईन पत्रिका सेतोपाटीको साहित्यिक पृष्ठको लागि एउटा कथा मेल पनि गर्नुथियो । तर नेट डिस्कनेक्ट भईरह्यो । अनि बाहिरै बसेर नेट आँउछ कि ? कुर्दै, चुरोट पिएर बसिरहे । त्यहाँ साईवरको अन्टीलाई देखेपछि मनमा फेरी उही कुरा दोहोरियो । चुरोट निभाउदै भित्र छिरे अनि देब्रे खल्तीमा हात हालेर सुन झिके । उहाँलाई देखाउदै सोधे–“अन्टी यो सुन हो कि होईन ?”

उहाँले ओल्टाई कोल्टाई हेरेर भन्नुभयो–“खोई देख्दाखेरी चै सुन नै जस्तो छ । तर के भर आजकाल जलप लगाईएका ग्यारेन्टीवाला छ्यास्छ्स्ती पाईन्छन् ।” मन बेतमासको भयो । मैले त्यसलाई देब्रे हातको साँहिली औलामा घुसारेझै गरे । उहाँले सोध्नुभयो–“किन र ?”

“मैले बाटोमा भेट्टाएर सुन जस्तै लागेर टिपेको थिए । त्यसैले सोधेको ।”–मैले भने ।

अलिकति झस्किएर सोध्नुभयो–“हेर्नोस, सुन नै हो कि होईन भन्ने ग्यारेन्टी चै दिन सक्तिन तर सुन भेट्दा दशा लाग्छ भन्छन् ! हराउनेलाई दशा । भेट्नेलाई पनि दशा । त्यही दशा काट्न भएपनि एक दुई रुपिया राखेर टिप्नुपर्छ अरे ! तपाईले त्यसो चै गर्नुभयो कि नाई ?”

कुनै एउटै कुरा दोहोरिराख्दा मनमा झस्को पस्नु स्वभाबिक नै हो । तर आफ्नो बिश्वासमाथि आफैलाई अबिश्वास भने लागेन । सुन हातमा परेपछि नै बाटोमा हिडिरहँदा रु ५०० भेटेको थिए र कहिल्यै रिन नफर्काउला झै लाग्ने साथीले धेरै अगाडीको रु २००० फिर्ता गरेको थियो । अर्को कुरा सुन हो कि होईन भन्ने कुरा थाहै नपाई कसरी आफूसँग हुदै नभएको एक दुई रुपिया सिक्का भएनि’ घाटा लगाउनु ? मैले नपत्याउदै भने–“उहिले उहिले क्या आन्टी, बाहुनहरुले आफ्नो कमाईखाने भाँडो बढाउन सुन चाँदी जस्ता बहुमुल्य बस्तु भेट्यो भने दशा लाग्छ भनेका होलान् । त्यस्तो कुरा पत्याएर के साध्य ?”

“के भयो रे ?” भन्दै अंकल आईपुग्नुभयो । कुराको सिलसिला उसैगरी चल्यो । भन्नुभयो–“सुन यसरी भेट्दाखेरी देब्रे हातले टिप्नुपर्छ । अनि देब्रे गोजीमा देब्रे हातले नै राख्नुपर्छ ।” संयोगबस मैले त्यो सुन त्यतिखेर देब्रे हातकै साहिली औलामा लगाईरहेको थिए । तर त्यो देखेर उहाँले भन्नुभयो–“भेट्टाएको सुन त्यसरी नलाउनु । हराउनेको दशा सबै आफूतिरै आउँछ । झन् कोठामा लगेर राख्ने काम त गर्दैनगर्नु । तर मलाई जहाँसम्म लाग्छ यो तिमीले भेट्टाएको सुन होईन पित्तल हो ।”

किंकर्तव्यबिमुढ भए म । अब भने ममा सुन हो कि होईन भन्ने दुबिधाले झनै नराम्रोसँग चिमोट्यो । मनले चै तपाईहरुको अन्धविश्वासको भगवानलाई त्यो मैले जे भेटे त्यो सुननै भेटेको होस् भनेर कामना गरिरह्यो ।
पक्कैपनि, कुनै सुनपसलेलाई नभेटेसम्म मेरो मन शान्त हुनेवाला पटक्कै थिएन । झल्याँस्स नाम याद आयो–मोहन भैया । खास नाम ब्रिजमोहन यादब । अब मैले मोहन भैया भेट्नुथियो र पत्ता लगाउनुथियो त्यो सुन थियो या पित्तल ? उसो त मैले खाना खाने गरेको रामु दाईको होटलमा मोहन भैया बेलुकीपख सधैजसो एक दुई प्याक लगाउन आउथे । पहिलो कुरो त मभित्र उनी नआउन्जेलसम्म उनलाई कुर्ने सामथ्र्य थिएन सायद र दोश्रो कुरो मलाई त्यसबारेमा मोहन भैयासँग रामु दाईको होटलमा कुरा गर्नु सुरक्षित लागेको थिएन । रामु दाईको होटलका बुढा बुढी नै दुबैजना बि.बि.सि. जो थिए ।

.......................................


..... र म मोहन भैयाको सुनपसल पुगे । तर मोहन भैयासँग भेट भएन । उहाँकोमा काम गर्ने भाईले पसल बन्द गर्न आँटेथ्यो । मैले उसलाई सोध्ने मन गरिन । म केही नबोली निराश÷चुपचाप फर्किए ।

.......................................


जस्तो कि तपाईहरुलाई प्रष्ट थाहा छ, म खाना खान हत्ते गर्ने÷रुचि गर्ने मान्छे होईन । त्यो दिन त झन् खानै मन लागेन । एउटा सुन होईन कि भन्ने त्रासले । अर्को सुन नै हो रहेछ भने त साँच्चै दशा पो लाग्ने हो कि भन्ने त्रासले । जेहोस् खाएजस्तै गरेर कोठा आए । निदाउनु अगि एकछिन गर्लफ्रेन्डसँग कुराकानी भयो । धेरै पछि मम्मीलाई फोन गरे । तर कसैलाई पनि केही भनिन ।

जसले जे भनेपनि आफैलाई नपरी मान्छेले बिश्वास गर्दैन भनेझै मैले दशाको कुरा चै सोह्रै आना बिश्वास गर्न सकिन तर मनको अन्तरकुनामा भने त्यो कुराले डेरा जमाउन थालिसकेथ्यो सायद । तर आफ्नो मनलाई भने त्यो सुन नै हो भनेर ढुक्क बनाउन खोजे । मान्छेले सधै आफ्नो बिश्वासलाई आफूअनुकुल नै बनाउदोरहेछ, जसरी उसले भगवान् पनि आफूअनुकुल बनायो । सोच्दासोच्दै लाग्यो दार्शनिक पो भईन्छ कि क्या हो ? जेहोस् मैले पनि त्यसै गरे । आफ्नो बिश्वासलाई आफूअनुकुल बनाए ।

अनि सिरानीमा ढल्किदै चुरोट सल्काए । हर एक सर्को धुवाँसँगै मनमा सपनाहरु अंकुराउन थाले ।

"जागिर खाएर आजसम्म आमालाई केही दिन सकेको छैन । बरु त्यै सुनको औठी मा हराएको ईयु हालेर दिनुपर्ला ।" तर अहँ त्यसो गर्नुहुदैन । किनकी दशा हो रहेछ भने दशा आमामा पो सर्छ । अर्थात आफ्नै घरमा ।
– "बरु त्यै सुनमा अलिकति सुन अरु पो थपेर दिने हो कि आमालाई ?" तर त्यै सुनमा अरु सुन थप्दैमा दशा त पक्कै जाँदैन ।

"अँ त्यो सुन बेच्नुपर्ला । अनि त्यै पैसाले अर्को किन्नुपर्ला ।" यो पनि चित्त बुझ्दो भएन । पैसो त आखिर दशाकै हो क्यारे ।

"जागिर खाएर पनि रिनमा धेरै फसेको छु । बरु त्यै रिन पो तिर्ने हो कि ?" हो बरु यो चाहि ठीक होला कि ?

सपनाको कुनै मूल्य हुदैन । उसो र सपना देख्न पैसा पनि लाग्दैन क्यारे । मैले सपनाहरु टन्नै देखे । अनि मनमनै चाँहि त्यो सुन नै होस् भनेर कामना गरिरहे ।
र प्रिय पाठक म त्यो रात पुरै कौतुहल निदाए ।

.......................................


राती सपनामा मेरो कोठामा चोर आएको थियो । उसले मेरो पर्स, गर्लफ्रेन्डले गिफ्ट दिएको ब्रासलेट, मेरो एकमात्र ११०० मोडेलको नोकिया मोबाईल र मैले भेट्टाएर लिएर आएको सुन चोरेको थियो । म सपनामै हतास भएको थिए ।

.......................................


र त्यसको भोलिपल्ट बिहान:

मेरो कोठाको पूर्वपट्टि फर्किएको झ्याल खुल्ला थियो । त्यसैको हावाले मलाई व्युतायो । प्रिय पाठक, उसो त मेरी गर्लफ्रेन्ड र मेरा घरपरिवारका सबैलाई प्रष्ट थाहा छ कि म बिहान अबेरसम्म निदाउछु । तर त्यसबिहान म ‘अनयुजल्ली’ चाँडै उठे र उठ्नेबित्तिकै खुल्ला झ्याल देखेर रातिको सपना सम्झिएछु । झल्याँस्स भए । सुन छामे अनिमात्र अरु चिज खोजे । कुनै पनि चीज हराएको रहेनछ । तर झ्याल, अहँ मैले खोलेर निदाएकै थिईन । एकछिन खाटमै ढल्किरहे । यदि मैले जे देखे त्यो सपना मात्रै थियो भने झ्याल कसरी खुल्यो त ? सोचिरहे ।

.......................................



जेहोस् सुन हराएको थिएन । र म आफ्नै अनुसारको एकाबिहानै साँढे आठ बजेतिरै मोहन भैयाको सुनपसलअगाडीको चियादोकानमा पुगे । चिया मगाए । चुरोट सल्काए अनि मोहन भैयालाई पर्खिन थाले । मन हतास झै भएथ्यो । झन् चाँडो सुन हो कि होईन थाहापाएर अफिस जाँउला भन्ने थियो । चोकनेर बाट मतिर बढेका सबै आकृतिहरु मोहन भैयाजस्तै लागिरह्यो तर कुनै आकृति पनि मोहन दाईको शरीर थिएन । दिक्क हुदै अर्को कप चिया मगाउनै आट्दा मोहन भैयाको सुनपसलको सटर खुलेको देखे । मन खुसीले आफ्नै उचाईको दोब्बर उफ्रियो । मैले रोक्ने कोसिस पनि गरिन ।

व्यंग्यात्मक तरिकाले मोहन भैयाकोमा काम गर्ने भाईले मलाई हे¥यो । मैले केही सोध्नै नपाई उसले भन्यो–मोहन भैया त हिजो दिउसै कोहलपुर जानुभएको खै आउनुनैभएको छैन । सायद आज बेलुकी तिर आईपुग्नुहुन्छ कि ?  दिनभरि मन अर्कै अर्कै भईरह्यो । बेलुकी अफिस सकिने बेलातिर राज दाईले ‘आज कतै घुम्न जाउँ ल’ भनेर फोन गर्नुभयो । मैले आफ्नो उदासी केही हट्छ कि भन्ने आशामा ‘हुन्छ’ भनिदिए । बेलुकी घुम्नलाई हामी राज दाईकै पुरानो सिबिजेड स्टार बाईकमा बागेश्वरी मन्दिर तिर लाग्यौ । उसो त म मन्दिरको निर्जीव ढुङगा अगाडी आफ्नो शिर नझुकाउने मान्छे, मैले त्यो दिन पनि शिर झुकाईन नै तर तलाउमा आफ्नो अनुहार नियाल्दै त्यो सुन नै हो भनेर आफैलाई बिश्वस्त तुल्याउन धेरै कोशिस गरिरहे तर किन किन हिजो जस्तो आफैलाई ढुक्क बनाउन भने सक्दै सकिन । मेरो निराश स्थिति देखेर राज दाईले कुरो खोतल्नुभयो । मैले उहाँलाई सबै ईतिबृतान्त सुनाए । उहाँले पनि हेर्नुभयो अनि भन्नुभयो –“खै सौरभ म के भनु र यार ? साँच्चै आजकाल सुनको जलप लगाईएको नक्कली सुन छ्यासछ्यास्ती पाईन्छ ।” एक्कासी कताबाट हो कुन्नि आएको तातो हावाले पोखरीमा छाल उत्पन्न गरायो । त्यो छालले मेरो अनुहारको आकृतिलाई स्थिर रहन दिएन । उसो त मन पनि पो कहाँ स्थिर थियो र ? मोहन भैयालाई नभेटेसम्म म ढुक्क हुनेवाला थिईन ।

मोबाईलमा कलरटोन बजेबाटै थाहापाए त्यो मेरी गर्लफ्रेन्डको फोन थियो । ‘उप्स’ म पनि कस्तो हुस्सु भएको थे , सबै बिर्सेछु । उठाँए । उनले सोधेका प्रश्नहरु कतिको जवाफ दिए, दिईन थाहाछैन । तर जेहोस् उ रिसाई ।  मलाई दिक्क लाग्यो । साँच्चै फकाउनै गाह्रो यी टिनएज्ड गर्लफ्रेन्डहरुलाई । भर्सेला परोस, मैले त्यस दिन फकाउने कोशिस पनि गरिन ।

र म बेलुकीपख राज दाईसँग छुटेपछि मोहन भैयाकोमा पुनः गए । मोहन भैया अझै आईपुग्नु भएको थिएन ।  उहाँलाई फोन गरेपछि थाहाभयो, उहाँ त कोहलपुरबाट सिधै काम बिशेषले नेपालगंज नै नफर्कीकन काठमान्डौ पो जानुभएछ । त्यसपछि पसल बन्द गर्नै लागेको काम गर्ने भाईलाई आफू आउनुको कारण बताए । उसले अचम्मलाग्दो तरिकाले मलाई हे¥यो अनि सुन हेर्दै नहेरी भन्यो–“ह्या दाई नक्कली सुन होला । आजकाल यस्तो भेटे भनेर फुर्किदै कति आउछन् कति । तर मैले आजसम्म सक्कली सुन भेट्ने मान्छे देख्याछैन ।”

उसले भनेको सुनेर सुन गोजीबाट निकाल्नै मन नभएपनि आफ्नो बिश्वासलाई हार ख्वाईहाल्न आफैलाई मन भएन । मैले सुन निकालेर उसलाई देखाए ।

रिमरिम अध्याँरो परिसकेको बेला थियो । उसले ‘ड्याम केयर’ तरिकाले मलाई भन्दा पहिला यो अँध्यारोमा सुनलाई हे¥यो । हे¥यो पनि के भन्नु ? हेरेझै गे¥यो अनि मतर्फ फर्किएर लामो हाँसो हास्दै, सुन मलाई नै थमाएर उसले भन्यो– “मैले भनेकै थिए नि दाई, यो त पित्तल हो ।” र त्यसपछि उसले ठूलो आबाज निकालेर सटर झा¥यो ।

म खिस्रिक्क परे । मन ग्यास्ट्रिकको डकार आएभन्दा बढ्ता अमिलो भयो । सपनाहरु कुना पसे । प्रिय पाठक त्यसबाहेक अरु के के भयो तपाई अनुमान गर्दैगर्नुहोला म चाँहि अहिले कथा टुङ्ग्याउने तर्खर गर्छु ।
र त्यसपछि मैले त्यो पित्तल कसैले नदेख्नेगरी फालिदिए । हो आफैले पनि नदेख्नेगरी ।

.......................................


प्रिय पाठक, यो कथा पुनः दोश्रोपटक पढिदिनुभएकोमा धन्यवाद । जस्तो कि तपाईलाई याद होला तपाईले यो कथा पहिले पनि पढिसक्नुभएको छ । तर अबश्य पनि कथा यत्तिमै टुङ्गिएको भने छैन ।

कथाको ‘मेन ईन्डिङ’ त त्यसबेला भयो जब यो कथा आजभन्दा करिब ३ महिना अगाडी प्रकाशित भएको थियो र प्रकाशित भएको दोश्रो दिन अप्रत्यासित रुपमा मैले एउटा फोन कल फेस गर्नुपरेको थियो । “हेल्लो” भन्दै सुरिलो स्वरमा एउटी लेडिज बोलेकी थिईन । मैले “हेल्लो” भनेर फर्काए लगत्तै उनले “नमस्कार” भनिन् अनि मलाई म बोलेको हो कि होईन पनि सोधिन् । जब मैले म आफू “सौरभ कार्की नै बोलेको हुँ” भनेर भने, तब उनले तत्काल सोधिन्–“साँच्ची के तपाईले त्यो सुन फालिदिनुनै भएको हो ?”

“ल त्यो त कथा पो त ।” मैले हाँस्दै भने ।

“होईन होला ?”

“हो । त्यो त कथा मात्रै हो । काल्पनिक कथा ।” म पुनः हाँसे ।

उनले “ए ....” भनिन् र लामो श्वास तानिन् । म चुपचाप उनले फालेको लामो श्वास सुनिरहे ।

अनि उनी आफै बोलिन्–“खासमा अस्तिकै शनिबार मेरो सुन नेपालगंजबाट काठमान्डौ आँउदा बाटैमा एयरपोर्ट छेउछाउनै हराएजस्तो लागेको थियो । कथाप्रसङ्ग मिलेजस्तै भएर मैले तपाईलाई फोन गरेकी ।” केही सेकेन्डको साईलेन्स पछि उनी फेरी बोलिन् “एनीवे कथा पो रहेछ ।”

म पुनः फिस्स हाँसिदिए ।

हामीले ‘बाई’ भन्यौ । लामो समयसम्म फोन काटिएको साउन्ड मेरो कानमा गुन्जिरह्यो । संयोगबस त्यतिखेर म, मैले सुन फालेकै झ्याङनेर उभिएको थिए ।

प्रकाशितः सेतोपाटी शनिबार, साउन १०, २०७१ 

No comments:

Post a Comment