Thursday, July 31, 2014

मेची नदी किनारमा ........

एकछिनपछि जून — खोलाको पल्लो किनारबाट
पौडदै पौडदै — आईपुग्नेछ मसम्म ।
र साउती मारेर जानेछ
मैले नबुझ्ने कत्ति धेरै कुरा — हिजोअस्तिजस्तै ।



म सधै देख्छु
यहाँ रङ्गीन चराहरु निर्वाध उड्छन् — आकाशको देशमा ।
र प्रत्येक साँझ फर्केपछि आफ्नै गुँडमा — होहल्ला गर्छन ।
मलाई उनीहरुको होहल्ला — सुरिलो धुनजस्तै लाग्छ ।

यही मेची खोला किनारबाट
मस्किदै आयो चिसो बतास ।
सम्झेर हो कि मैले आफ्नी प्रिया
गुन्गुनाए कि कसो कुनै प्रेम गीत
एकैछिन त म मेचीजस्तै बरालिएछु ।

हरक्षण फूलहरु मदमस्त आँखा झिम्काउछन्
र छर्छन् आफ्नो सुगन्ध परसम्म ।

माछाहरु — प्रेम गर्छन एकले अर्कालाई
र निर्धक्क गर्छन वारपार — पानीमुनिको देशमा ।
त्यही पानीमाथिको देश
वारपार गर्दै डुङगा — मान्छे तारिरहन्छ — अर्को एउटा मान्छे ।

ती माझी दाई
सखारै पल्लो किनार जान्छन् ।
र बोकेर ल्याउछन् घाम — आफ्नै शिरमाथि
घाम, उनको नाउको किनारै किनार उनीसँगै हिड्छ ।
बेलुकी त्यो घाम
माझी दाई र उनको नाउ राताम्मे पारेर कहाँ लुक्छ कहाँ ?
सधैजसो, भर्खरै पनि एकहुल मान्छेलाई — तारेर पल्लो किनार
फर्कदैछन् माझी दाई ।

म प्राय यही किनारछेउ — चौतारीमा एकोहोरो टोलाईरहन्छु
यदाकदा आफैलाई प्रश्न गर्छु
कसले को¥यो होला यी मान्छेहरु बिचमा सिमाना — मेची नदीले ?
किन सारिन्छ होला रातारात जङगे पिल्लर — बहुलाउछ मेची भनेर ?
किन लगाँउछ होला मान्छे बन्देज आफ्नै जस्तो अर्को मनलाई — थाहा छ कसैलाई ?

सल्काउदै चुरोट सोचिरहे आफ्नै प्रश्न
देख्दादेख्दै माझीदाई लगातार खोकिरहे ।
खोक्दाखोक्दै उनले सासै पो खोके कि कसो ?
त्यो नाउ वारी किनार आई नै पुगेन ।

अब माझीदाई बाहेक अरु कस्लाई थाहा होला — घामको ठेगाना ?
कस्ले ल्याउला घाम भोली फेरी बोकेर ?

प्रकाशितः नयाँ पत्रिका दैनिक, शनिबार, १० साउन २०७१

1 comment: