Tuesday, August 12, 2014

बाईक

बि.सं २०६४ साल । भर्खरै कक्षा १२को रिजल्ट आएको थियो । साईन्स फ्याकल्टी । फस्ट डिभिजन । घरबाट चै मैले बालाई ढाँटेर, “म ईन्जिनियरिंग ईन्ट्रान्स प्रिपेरेशन क्लासबारे बुझ्न जान्छु” भनेर निस्किन खोज्दैथिए, बुबा’ले “उसोभए अलिकति पैसा त्यहाँ ‘एलिको’मा बुझाउनु छ, त्यो पनि बुझाएर आईदे है” भनेर अर्को काम थपिदिईहाल्नुभयो । ‘एलिको’ जाने निहुँमा समय कटाउने अर्को राम्रो बहाना हुन्थ्यो । मैले “हुन्छ” भनिदिए ।
  
——
“छ नि, त्यो मनोजले त रक्षालाई छोडिदियो रे !”
“ला हो र ? खासमा भाको चै के रैछ र ?” उसकी सखीले अचम्मित हुदै सोधी । 
‘रक्षा’ मैले सुनेको नाम । झल्याँस्स त्यो नाम लिने गालामा सानो कोठी र बाक्लो ओठ भएकी केटीले मेरो ध्यान खिचि । उ ठ्याक्कै मेरो सिटको अगिल्तिर बसेकी थिई । भनी “खै के भा’को चै थाहाछैन । तर मैले सुनेको, मनोजको त अहिले रश्मीसँग पो अफेयर चल्दैछ रे ।”
“रश्मी ? हाउ कुड ईट बि यार ? रश्मी त अस्ति भर्खर आ’की एघारकी नयाँ केटी होईन ?” आँखा ठूलो ठूलो पारेर आश्चर्यचकित हुदै सखीले सोधी उसलाई । उनीहरुको हाउभाउ र कुराले म सम्पूर्णत उनीहरुको कुराप्रति आकर्षित भईरहेथे, यद्यपी उनीहरुले कुरा गरिरहेको रक्षा र मेरो मनको कन्दरामा हरबखत प्रेमको भ्वाईलिन बजाउने रक्षा एउटै थिईन । सायद म यो कुरामा ढुक्क थिए । वा भनौ मलाई मेरी रक्षाप्रति पूर्ण भरोसा थियो ।
फेरी त्यही बाक्लो ओठ भएकी केटीले आँखाछेउ लत्पत्तिएको गाजल पुछ्दै भनी “त्यै क्या त, हाम्रो क्लासमा नि केटाहरुले कुरा गरिराख्थे नि । बट् कसैलाई बाल देको था’थेन । आई एम सक्ड यु नो ? मनोजसँग के छ यार आखिर त्यस्तो ?” उसैले फेरी रहस्यको अर्को पोको फुकाए झै गरेर भनी “था’छ ! त्यो रश्मीलाई त रक्षा र मनोजको बारेमा पहिल्यै था’थ्यो रे ।”
“ल, मनोज ह्यान्सी छ नि । जर्नेलको छोरो रे भन्ने सुन्याथे । पैसा नि टन्नै खर्च गर्छ रे ।” अझ मनोजको बारेमा स्पष्ट पारेझै आँखा झिम्झिम् गर्दै सखीले भनी “हाम्रो कलेजमा बाईक चेन्ज गरी गरी आउने केटा उही त हो नि एउटा । पक्कै पनि मनोजको पैसासँग लभ गरेकी हो त्यस्ले ।” 
——
“ल ल तीनकुने झर्ने कोही हुनु’न्छ भने भाडा दिदै गर्नुस त !” महिनौसम्म पानीको अनुहार नदेखेझै लाग्ने सानो खलासी केटो कराउन थाल्यो । उनीहरु एकछिन चुप भएझै भए । ‘ओहो कत्तिचाँडो तीनकुने पो आईसकेछ ।’ उनीहरुको गफ सुन्दा कम्ता त मज्जा आथेन । एक्कैछिन त म बिस्मातमा परेझै भए । २० रुपिया दिएथे, खलासी केटोले फिर्ता रु ७ दियो । म आफ्नो बाटो लागे । एउटा स्र्पोट्स बाईक अनि कुनै रुपवतीको तस्वीर दिमागमा आउन खोजिरहेझै लागिरहेथ्यो । तर मेरो ध्यान भंग गरेझै, लामो हर्न बजाउदै कान्तिपुर कम्प्लेक्सतिरबाट आएको पल्सर छेवैमा आएर घ्याच्च रोकियो । सायद चालक मलाई केही भन्न खोज्दैथियो, उसको पछाडी सेतो तिघ्रा देखिने गरी आधा बस्त्रमा ठाँटिएकी केटीले “भयो, छाड्देउ जाम्” भनी । चालकले उही गतिमा हुईकिनु अघि स्नेल्सको सेतो हेल्मेटको कालो भाईजरभित्रै बाट मलाई आँखा तरेझै ग¥यो । सायद उसले आँखा त¥यो । 
ऊ हुईकिएपछि भने मलाई खुब रिस उठ्यो, मनमनै रिस पोखे “साला बाईकमा केटी लिएर हिड्दैमा आफूलाई लियोनार्दो दिकार्पो नै सम्झियो कि के हो ? पर्खि न कुनैदिन मसँग पनि बाईक भएपछि था’पाउलास् ।” यस्तो लागिरहेथ्यो कि मैले पक्कै त्योसँग कुनै एकदिन आजको बदला लिनेछु । त्यसबेला मेरो बाईकको पछाडी मसँग लपक्क टाँसिएर बस्ने मेरी प्रियले मलाई उसैगरी “भयो, छाड्देउ जाम्” भन्नेछे । सोचेर म आफै एक्लै मुस्कुराए । सम्झे मेरो लागि बाईक ‘आकाशको फल आँखा तरी मर’ भनेजस्तै नभए पनि बा’लाई भनेर त्यसको जोहो गराउन गाह्रै थियो । ट्याक्सीले उसैगरी परैबाट लामो हर्न बजाएपछि पो थाहापाए, म त बीच सडकमै उभिएर पो फगत् संसार रचिरहेको रै’छु । 
——
म आफ्नै गतिमा कान्तिपुर हस्पिटल तर्फ बढिरहेथे । मलाई रोडको अर्को कर्नरबाट स्वरुपा ईशारा गर्दैथिइ, तर खै किन हो कुन्नि म भने नदेखेझै गरी आफ्नै बाटो लागिरहेथे । एक्कासी स्वाँ स्वाँ गर्दै काली मेरै अगाडी आईपुगी । स्वासको गति पनि बिसाउन नपाउदै मेरो हात समाएर एकोहोरो कराउन थाली  “कहाँ हराएको यत्रो महिना ? मैले कत्ति फोन गर्ने ट्राई गरे । तिमी कहाँ थियौ ? अनि अहिले यत्रो बोलाउदा नि किन नसुनेको ?”
म फिस्स हाँसिदिए । कहिलेकाँही कत्ति कुरा आफ्नै बारेमा पनि थाहाहुदोरैनछ । सोचे अँ साँच्चै मैले किन पो त्यसो गरे हुँला ? आफैलाई अचम्म लागेर आयो । 
“भनन तिमी किन नबोलेको ?” स्टिल उ लामो लामो सास फेरिरहिथी । उसको सास सिधै मेरो छातीमा बज्रिरहेथ्यो । यस्तो लाग्थ्यो कि उ मेरो छातीमा लपेटिन खोजिरहीथी जस्तो हामी केही महिनाअगाडी लपेटिन्थ्यौ । उसको आँखामा मादकता चढेर लाल भईरहेथ्यो । जाडो महिना तातो अनुभव भएझै लागेपनि मनमा एकतमासको लाज लागेर आयो । आँखा झुकाए । छाती ढक्क फुलेर आयो । कताकता यो तीनकुनेको भीडमा सबैले मलाई नै हेरिरहे झै लाग्यो । यथार्थ त्यो थियो या थिएन तर पनि मानिसहरुका कान हाम्रा सम्वाद तर्फ नै खनिएझै लाग्यो । अलिकति पछाडी हटेझै गरी उसको हात सुम्सुम्याएझै गर्दै मैले भने “काली सायद यो ठाँउ र समय आलिङगन र चुम्बन को होईन ।” हठात् उसले समातिरहेकी मेरो हात आफ्नो हातको चंगुलबाट फुत्काई । वरीपरि हेरी अनि मलाई हेरीरही । लाटिएजस्ती ।
——
मैले प्रसङग बदल्न चाहे । सोधे “यता कता ?” 
“हस्पिटल ।”
“किन ?”
“हजुरआमा बिरामी हुनुभ’र यही ईमरजेन्सीमा राखेको छ, त्यसैले ।”
“ला, हो र ? के भा’को ?” 
“खै एक्कासी हर्ट एट्याक भयो अस्ति राती । अनि त्यही रातीदेखि यही हुनुहुन्छ । अनि, तिमीचाहि कता नि ?” उसले सोधी । 
“हस्पिटल ।” 
“किन नि ?” 
“तिम्री हजुरआमा भेट्न ।” मैले भने ।
सायद यो कन्डिसनमा मैले जोक गर्नु हुन्थेन । बट् उसले हाँस्न खोजेजस्तै गरेर भनी “तिम्रो यो जिस्किने बानी कहिल्यै गएन है । अनि भनन तिमी कता थियौ ? आई मिस्ड यु सो मच ड्याट आई कान्ट डिस्क्राईब यु एट दिस मोमेन्ट ।” 
फिस्स हाँस्दै बहाना बनाईदिए “घुम्न गा’को थे बाजुरातिर, दशै अगाडी मात्र आ’को । आई लस्ट माई सेलफोन, यु नो π अनि फर्किएर आएपछि तिमीलाई भेट्न खोजेको थिए, तिमी घरमा रैनछौ । अनि दशैमा घर गएर जस्ट हिजो त फर्किएको ।”
यस्तै झिनामसिना खत्राकखुत्रुक कुराहरु हस्पिटल परिसरमै भए । केही आपत्तिहरु म हराएकोमा, थोरै रिस अनि धेरै माया दर्शाई उसले । छुट्टिने बेलामा मसँग मेरो नं. लिई । सोधी “अब कहिले भेट्छौ त ?” मैले आशाको किरण देखाए “फोन गर न भेट भईहाल्छ नि !” स्वरुपा रुन रुन आँटेजस्तै भएकी थिई । म चुपचाप हिडिदिए । सि मस्ट नो द्याट आई वाज ईग्नोरिंग हर । ईन्फ्याक्ट म उसको बचपना देखि आजित भईसकेको थिए । म चाहन्थे कि उसले बुझोस् म अब उसँग खुसी हुन सक्तिन भनेर । आई होप उसले ढिलोचाँडो उसले यो कुरा बुझ्नेछे ।
धन्न फेरी उसले म हस्पिटल किन आएको भनेर सोधिन । सोधेकी भए ढाँट्नको लागि अर्को कहानी रच्नुपथ्र्यो मैले । रक्षाको दिदिलाई भेट्न गएको थिए म त्यहाँ । शिक्षा दी यही हस्पिटलमा नर्स हुनुहुन्छ भनेकी थिई रक्षाले एकदिन । रिसेप्सनमा सोध्दाखेरी उहाँको त नाईट ड्युटी भन्ने थाहापाए अनि एउटा सानो चिट लेखेर उहाँको नाममा छोडिदिए ।
——
अब म फेरी ललितपुरको एमेरिकन लाईफ ईन्सुरेन्स कम्पनी (एलिको) पुग्नुथियो । टेम्पुमा चढे । पापी आँखा । नजर नलाउ भनेपनि केटीतर्फ नजर गईहाल्ने । अम्ब्रेला टाईपको गुलाबी चुरीदार कुर्तामा सजिएकी उसले नोकियाको म्युजिक एक्सप्रेस बोकेकी रहिछ । आजकालको एकदमै सस्तो कसम खाएर ऊ भन्दैथिई, “तपाईको कसम म आउछु । बरु भन्नुस कहाँ कतिखेर आउ ?” ऊ बानेश्वरमा नै ओर्लिइ । 
——
बुद्धनगरबाट फेरी दुईजना केटीहरु चढे । म आफू उमेरको मान्छे । एउटा युवक । अरु को चढे चढेनन् वा झरे झरेनन् ख्याल किन राख्थे र ? सायद मेरा उमेरका अरुले पनि नराख्लान् । ती दुई नवयौवनाहरु मध्ये एक मेरै बगलमा र अर्की ठीक उसकै अगाडी बसी । सिखाको तिघ्राले मेरो तिघ्रामा हलुका स्पर्श गरिरहेथ्यो । उसको देब्रे हात मेरै तिघ्रामानै अडिएको थियो । टेम्पुको हल्लाई सँगै उसको हातको हलुका स्पर्शले मलाई अनौठो किसिमको काउकुतीको अनुभव भईरहेथ्यो । उसले नजानिदो तरिकाले मेरो तिघ्रा सुम्सुम्याईरहीथी । मलाई आनन्दको अनुभूति भईरहेथ्यो । कस्सम टेम्पुमा कोचिएर बस्नुको मजा नै बेग्लै । त्यति नै खेर मेरो फोनको घन्टी नबज्नुपथ्र्यो । म सिखा र उसकी साथीको कुरा सुनिरहेथे । मोबाईलको घन्टीले एकाग्रता भङ्ग गराउन खोज्यो । तर त्यो मिसकलमा मैले आफूलाई अड्याईन । टेम्पु बिजुलीबजार हुदै माईतीघर जादैथियो ।
——
सिखा बोली “त्यो त सब प्लास्टिकको हुदोरहेछ नि ! हार्ड प्लास्टिक ।” पारदर्शी कालो टि–सर्ट, जिन्स घुडाँसम्म पट्याएकी, मेरी हजुरआमाले बोक्ने थैलीजत्रो कालै ब्याग बोकेकी, कालै बर्णकी तर साह्रै हिस्सि परेकी अर्कि केटीले भनी “तर लास्ट मज्जा आउने बुझिस् ?” 
उनीहरुको कुराको छेउ सुनिन । यो मध्ये भाग मात्रै सुनेर प्रष्ट हुन पनि गाह्रो । मैले आफ्नो ध्यान उनीहरुकै कुरामा अड्याउने कोशिस गरे । 
“चढ्नलाई त मजै हुने तर माईलेज भने कम दिन्छ रे ।” 
“देख्दा चै दाम्मीे है !” कालै वर्णकी केटीले आफ्नो कुरामा समर्थन खोजेझै गरी । 
‘देख्दा चै दाम्मीे है !’ यही शब्द टिपेर उनीहरुको अनुहार देखि सम्पूर्णतामा आँखा क्रमशः डुलाए । 
सिखाले फ्रक जस्तो स्कट लगाएकी थिई अनि सेतो मोजा ठ्याक्कै घुडाँसम्मको । सेतो मोजा र स्कट बिचको भाग खाली थियो र त्यही भागले चै ज्यादा घर्षण गराईरहेथ्यो । बाफ्रे ! अनि टि – सर्ट मात्र कुमसम्मको । धन्न सिखाको टि–सर्ट पारदर्शी रहेनछ । सिखा समय समयमा कपाल सुम्सुम्याईरहन्थी । मेरो नाकको टुप्पो अनि कानको लोती भन्दा नि कोमल तिनीहरुको औला र पाखुरा देखेर मलाई ती दुईसँग भन्दा पनि तिनको अभिभावकसँग साह्रो रिस उठ्यो । भात खान चामलका सिता समाउदा पनि बिझाउला कि जस्तो लाग्ने ती औलाहरु भाँडा माझ्न त के उचाल्न पनि सक्थेनन् होला कि ?। झन् तिनीहरुको पहिरन त जस्तो पायो त्यस्तै ठाउँमा आफ्नो इच्छा अनुरुप बस्न दिनेखालको पनि थिएन । तर उनीहरुको निर्धक्कता र त्यो आँखिभौ थ्रेडिङ गरिएको आँखामा झल्किएको सौन्दर्यताको घमन्डीपनले मलाई भने किन किन रिस उठिरहेथ्यो ।  
——
डा. गोबिन्दराज भट्टराई सम्झिए । सम्झिए उनको उपन्यास सुकरातका पाईलाहरु । त्यतै कतै हाम्रा पुराणहरुमा लेखिएको भनेर पढेथे सायद “पुरुष भनेका वृक्ष हुन र त्यसमा बेरिने लहरा नारी ।” त्यसबखत चाहि म सुकरातका पाईलाहरुको सुकरात सँग चुपचाप सहमत भए । साँच्चै आजकालका केटीहरु म वृक्ष रहु भन्ने नै सोच्दारहेछन्, नत्र त यो भड्किलो पहिरन के का लागि ? सम्भोगको समयमा दरिलो समाउन खोज्दा कड्याककुडुक पर्ने, लल्याकलुलुक होलाझै कि लाग्ने यो शरीर कुन शानको लागि ? 
——
आ..... होस् । यसै सम्झेर मैले आफ्नो कानलाई त्यतै तर्फ बिसाए । सिखाकी साथीको अर्धपारदर्शी टि – सर्टको ठाउँ ठाउँमा रहेको टल्कने सिताराले मेरो आँखामा घामको परावर्तन दिईरहेथ्यो । नजानिदो तवरले मेरो आँखा त्यतै आकर्षित भईरहेथ्यो । उसले टेम्पुको सिसाभित्रैबाट चोर औलो तेस्र्याउदै भनी  “सिखा ऊ त्यो बुटिकबाट पर्सी एउटा साडी किनेर ड्याडममको एनिभर्सरीमा मामुलाई दिनुपर्छ । हेर्न जाम है एकदिन ।” मैले देखे त्यो मेरी आमाले छड्के आँखाले पनि हेर्न नसक्ने स्तरीय बुटिक थियो । सिखाले भने हुन्छ सूचक टाउको हल्लाई । 
मेरो मोवाईलमा अल्बाट्रसको ‘खसेको तारा गन्दै’ रिङटोन बज्यो । आफै रोकियो । अनि त्यसलगत्तै मेसेज टोन पनि बज्यो । मैले मोवाईल झिक्ने हुदाँ जिउ चल्मलाएकोले होला, सिखाले आफ्नो हात मेरो तिघ्राबाट हटाई । मलाई नरमाईलो लाग्यो  । 
रक्षाको मेसेज रहेछ । मिस्कल पनि उसैको थियो । लेखेकी थिई ‘यदि तिमीलाई माया गर्नु पाप हो भने नर्क मेरो घर हो । मैले देखेको सबै सपना तिमी नै हौ । फोन किन नउठाएको ? सायद बिजी छौ होला । म तिमीलाई डिस्टर्ब गर्न चाहन्न । तर एउटा कुरा याद राख तिमीलाई मैले प्रेम गर्नु भनेको सास फेरे जस्तै हो जुनकुरा म चाहेर पनि रोक्न सक्तिन ।’ मलाई मिस्रित खुसी लाग्यो त्यससमय । रै पनि सोचिरहे, रक्षा अनि यस्तो मेसेज π म आफै खै के हो सम्झेर फिस्स हाँसे । भलै मैले आफ्नो ध्यान रक्षातर्फ लामो समय केन्द्रित गरिन । मेरो ध्यान सिखाको टाउको देखि ढाड आईपुग्दा बाक्लो भएर पातलिएको (भि आकारको) कपालले तानिसकेको थियो । मैले मोबाईल गोजीमा राखे । यसो गर्दा सिखाको पाखुरासँग मेरो पाखुराले स्पर्श ग¥यो । एक्कैछिन त म झनन्न भए ।
——
त्यतिखेर तिनीहरु फिल्मको कुरा गदैथिए । 
“तैले द्रोणा हेरिस् ?” 
“अँ हेरे, तर त्यसमा अभिषेक बच्चनको ड्रेस अप नै मनपरेन मलाई त । कस्तो आउट डेटेड ड्रेस अप क्या ।” सिखा बोली ।
“त्यै भन्या टोटल्ली आउट अफ फेसन है ।” हो मा हो मिलाई काली केटीले ।
“त्यै नि सुपरहिट भा’को रे त !” यसो भन्दै सिखाले ओठ लेब्र्याई । त्यो तल्लो ओठको बीच भागको कोठी देख्दा मुखभरि रस भरिएर आयो मेरो । खै किन हो कुन्नि पिच्च झ्यालबाट बाहिर थुकिदिए ।
“कहाँ हुनु नि सुपरहिट ? बक्स अफिसमा त टिक्न सकेन ।” काली केटीले यति भनिसकेपछि सिखाले उसलाई जिस्क्याए झै गरेर भनी “अनि तेरो र रुस्तमको त खुब चल्या’छ रे । अस्ति पनि फिल्म हेर्न जाने भनेर कलेज बङ्क गरेर गएपछि तिमीहरु क्याफे तिर थिईस रे !”
“ह्या त्यो दिनको कुरै नगर । त्यो जस्तो बोरिङ डे त कहिल्यै भएन । झन् कत्ति न राम्रो होला भनेर नेपाली फिल्म हेर्न गा’को, मलाई त लास्टै झुर लागेर आयो । अनि बाहिर आएर एक्लै कफी पिउदैथिए धन्न रुस्तम आईपुग्यो, कम्पनी दिन । उसलाई पनि लास्ट ह्याङ लाग्यो रे !”
“भनेपछि तिमेरुको जोडी जम्याछ ? जेहोस् ह्यान्सी छ है रुस्तम ।” 
“त्यस्तो केही हैन क्या, साथी मात्र हो । म तलाई पनि भन्दिन होला त ।” यसो भन्दै त्यो काली केटीले बाहिर हेरी, प्रसुति गृहतर्फ । टेम्पु घ्याच्च रोकिएको थियो । हामी त्यतिखेर थापाथलीको रेड लाईटमा रोकिएका थियौ । त्यसपछि त्यो विष्णुमति पुलमाथिको चक्काजाम त बाँकी नै छदैथियो ।
टेम्पु अगाडी बढ्यो । हलुका आएको हावाले काली केटीको केश लहरायो । सिखा एक्कासी चिच्याई “वाउ, क्या दामी ईयर पर्ल ! कहिले किनेकी ?”
“दामी छ है ! कहाँ मैले किन्नु नि । अस्ति हामी पोखरा गा’को थियौ नि टुरमा, हो त्यतिखेर मैले त्यो महेन्द्र पुल छेउको कम्प्लेक्समा दामी लागेर हेरेकी थिए । रुस्तमले मलाई थाहै नदिई किनेछ अनि फर्किसकेपछि अस्तिको दिन मेरो बर्थडे मा मलाई सरप्राइज गिफ्ट दिएको ।” 
“ओ, ड्याट मिन्स हियर कम्स दि त्रुथ । भनेपछि त्यसो ।” फेरी जिस्काउन थाली सिखा ।
“हि इज जस्ट अ गुड फ्रेन्ड । धेरै नजिस्का है मोरी मलाई ।” यसो भन्दै ऊ थोरै रिसाएर धेरै लजाएझै गरी । सिखा मुसुक्क मुस्काई । आफ्नो आँखाअगाडी आएको कपाल देब्रे हातको चोरी औलाले कानपछाडी लगी । अनि कपालको लामो भाग ढाडपछाडीबाट अगाडी ल्याएर साहिली र कान्छी औलाको चेपले सुम्सुम्याउदै भनी, “जेहोस् कटिङ चै राम्रो गरिदियो । हेरन कन्डिसनिङ गरेको, कपाल त अझै चिसै छ भन्या ।” काली केटीले कपाल छामिदिदै भनी “तर त्यहाँ राम्रो गर्दोरै’छ बुझिस् । म पनि अब त्यही जान्छु सधै ।” 
——
टेम्पु घ्याच्च रोकियो । “ल रविभवन झर्नोस है”, ड्राईभर करायो । काली केटी ओर्लिई । सिखा ओर्लिन के खोज्दैथिई मेरो काखमाथि पो थ्याच्चै बसी । टेम्पुभित्र हाँसोको लामो फोहरा छुट्यो । सिखाको झिलझिले बेल्ट मेरो प्यान्टको बेल्ट बकलमा अड्किएको रहेछ । म हाँस्न सकिन । लाजले रातो भएको थिए । उ झनै लजाएकी थिई । मेरो तिघ्रा र उसको हिप एक्कैठाम् टाँस्सिएको थियो । मभित्र करेन्ट झन्झनाईरहेथ्यो । उसले बेल्ट फुस्काउने यत्न गर्दै गर्दा मेरो तिघ्रामा घर्षण भईरहेथ्यो । ऊ गोरी मान्छे, लाजले रगतै चुहिएला कि जस्तो राती भएकी थिई । म चुपचाप लाटो भएको थिए । अक्क न बक्क । 
——
ड्राईभरले दोश्रो चोटी ‘पुल्चोक’ भनेपछि पो म झसङ्ग भए । सिखा र उसकी साथी ओर्लिसकेछन् । लजाउदै म पनि ओर्लिए । एलिको पुगे । त्यहाँ जम्मा गर्नुपर्ने पैसा जम्मा गरिदिएर म त्यो अफिसबाट निस्कनै के आँटेको थिए, फेरी उही टोन बज्यो मेरो मोबाईलमा । रक्षाको रहेछ । मैले उठाउन नपाउदै ऊ एकोहोरो झर्किई । “हैन केहो ? नो कल, नो मेसेज । अझ मेरो मेसेजको रिप्लाई पनि छैन, के भयो तिमीलाई ? आज भेट्ने भनेको बिस्र्यौ ?” 
साँच्चै भन्दा त सिखासँगको स्पर्शपछि त झन्डै–झन्डै मैले आफैलाई पनि बिर्सिसकेको थिए । “कहाँ बिर्सनु नि, म त्यतै त आउदैछु ।” मैले उसलाई सजिलै टार्न खोजे । 
“कतिखेर आईपुग्छौ ?”
“मे बि विथ इन फिफ्टिन मिनट्स ।”
“अनि कहाँ भेट्छौ त ?”
अल्मल्लिए । भनिदिए “तिमी नै भनन, कहाँ भेट्ने ?”
“ओके देन, उसले एकछिन सोचझै गरेर भनी “आई विल बि एट नाङ्लो, टेबल नं. सेभेन्टिन । चाँडो आउ है ।” 
“हुन्छ ।” भनेर मैले फोन राखिदिए । अनि हिड्न थाले, आखिर जावलाखेलको नाङ्लो कत्तिनै टाढा हो र ?    
——
रक्षा करिब एक बर्ष जति भयो होला हाम्रो फोनमा कुराकानी हुन थालेको । मैले मेरो साथी दिनेशलाई फोन गर्न खोज्दा रङ नं. डायल भएर राईट ठाउँमा अर्थात रक्षाकोमा पुगेथ्यो त्यसबेला । मैले फ्लर्ट गर्न खोजेको थिए । तर मलाई के थाहा सम्बन्ध यसरी लामो हुन्छ भनेर । मैले उसलाई कहिल्यै देखिन, उसले पनि त मलाई देखेकी थिईन । सायद यो उमेर थियो जसले हामीलाई नजिक बनायो । भेट्ने भनेर कुरा धेरैचोटी भएपनि कहिले उसको त कहिले मेरो लास्ट आवरमा के मिल्दैनथ्यो के ! जेहोस् आज हामी भेट्दैथियौ । म मनमनै उसको चित्र बुन्न व्यस्त हुन थाले । लामो कपाल, काला गाजले आँखा, मिलेको जिउडाल । ग्रिन कलरको ड्रेस लगा’की छु भन्दैथी, सायद हरियो कुर्ता सलवार लगाएकी हुदी हो । सोझी । राम्री होली रक्षा । एउटा युग जित्न सक्ने साहसिली र पक्कै उत्तिकै फरासिली होली रक्षा । कोमल मनकी धनी रक्षा । म मनमा उसको तस्वीर नियाल्दै फुरुङ्ग परिरहेथे । तरङ्ग दौडिरहेथ्यो मनभित्र कताकता । पाईला हतारिएर वेग हुन खोज्दैथियो ।
——
जावलाखेल पुगेपछि म एकछिन रोकिए । जावलाखेलको बिचमा वरिपरि घुमेको सडक हेरेर लामो स्वास फाले । के सोचेर हो कुन्नि मैले मोवाईल साईलेन्ट मोडमा राखिदिए । बिहान भर्खर बहिनीले स्पाईडर वेभ आईरन गरिदिएकी सर्ट ठाउँठाउँमा कुच्चिसकेको थियो । तन्काईवरी मिलाएझै गरे । क्याप लगाएको थिए, नत्र कपाल मिलाउथे होला । देब्रे खुट्टाको पछाडी दाहिने र दाहिने खुट्टाको पछाडी देब्रे जुत्ताको अग्रभाग पुछेजस्तै गरे । अनि भित्र छिरे, नाङलो द बेकरी क्याफे ।
——
भित्र एसी चलिरहेथ्यो । जेम्स ब्लन्टको ‘यु आर ब्युटिफुल ....’ बजिरहेथ्यो । मन ढक्क फुलेर आयो । सायद बढ्यो धड्कनको गति पनि ।
तर यो के अचम्म, टेबल नं. सत्र मा त तीनजना केटीहरु पो थिए । झन् अर्को अचम्म त म सिखा र उसकी साथीलाई त्यो टेबलमा देख्दा पो भए । म झुक्किए कि भनेर वरिपरि हेरे । सिसाको बाहिर पट्टि भित्रबाट मैले उल्टो अक्षरमा नाङलो द बेकरी क्याफे लेखेको देखेपछि भने म ढुक्क भए । सायद अर्की केटी रक्षा थिई होला, मैले अनुमान गरे । 
ठूला ठूला इयर रिङ, काला आँखा, आँखाको कुनाभन्दा पर लगेर टुङ्ग्याईएको गाजलको चुच्चो रेखा । गहुगोरी काली । हरियो कलरको टि – सर्ट । ठाउँठाउँमा ग्रन्ज गरिएको नीलो चुज प्यान्ट । प्यान्टको मोता, तलको भित्री भाग भने ठूलो खैरो जम्बो आकारको बुटभित्र कोचिएको । म त देखेर रन्थन्निए पो π सिखा र उसकी साथीले मलाई देखे । काली केटीले सिखालाई जिस्काउदै कुइनाले ढेस्सा दिई । म फिस्स हाँसेझै गरे । सिखाले लाजले मुन्टो निहुराई । काली केटीले रक्षालाई खै के भनी कुन्नि, उनीहरु मजाले हाँसे । त्यसपछि सिखाले उनीहरुलाई आँखा तर्न लागी । ऊ ठुस्किएर रिसाई । 
मलाई त्यहाँ गईहाल्न मन लागेन । कालो कफी को अर्डर गरेर म तिनीहरुको नजिकैको अर्को टेबलमा गएर बसे । 
——
“कतिखेर आईपुग्छ हौ तेरो सौरभ ?” काली केटीले रक्षातर्फ हेरेर सोधी । 
“खै आउदैहोला ।” रक्षा बोली । 
“साँच्चै कस्तो छ है सौरभ ? भन्न हामीलाई नि ।” जिस्काउने पालो अब सिखाको रहेछ ।
“ह्यान्सी छ होला नि, जस्तो पायो त्यस्तोलाई के हेर्थी यसले ?” काली केटीले सिखालाई भनेझै गर्दै आँखाले भने मतर्फ ईसारा गरिरहीथी । 
“हुनत हो है । ” म तर्फ ध्यान नदिएझै सिखा बोली अनि फेरी सोधी “भन्न कस्तो छ तेरो सौरभ ?” 
लाजले मुस्कुराउदै रक्षा बोली, “खै मलाई के थाहा ? मैले देखेकी नै छैन ।” रक्षाको यो उत्तरले बाँकी दुबैको अनुहारलार्ई विस्मयादिबोदक चिन्हले वाण हानेझै भयो । सिखा आँ............ गरेर मुख बाएको बायै भई । 
काली केटीले सोधी “अनि उसले चाहि तलाई देखेको छ त ?” 
“छैन ।” 
“लौ अनि अब कसरी चिन्छ त ?” सिखाले अचम्मित हुदै सोधी । 
“मैले यहाँको फुल एड्रेस दिएको छु । यही आउछ अनि चिनीहाल्छ नि ।” मैले देखिरहेथे, रक्षालाई मलाई भेट्ने बेचैनी बढिरहेथ्यो । उसको हात फोन गर्न मै ब्यस्त थियो, सायद दिमाग पनि । लामो सुस्केरा हाल्दै निरास भएर भनी “हेर न सिखा फोन नै उठाउदैन ।” 
“बाईकमा थाहा भएन होला नि । चिन्ता नगर न ।” जिस्काउदै बोली सिखा अनि दुई वटा भेनिला र एउटा स्ट्रबेरी आईसक्रिमको अर्डर गरी । म भने सिखाको प्रेडिक्सन सुनेर खोकेजसरी हाँसे । सिगरेट मगाए अनि कफी पिउन थाले । 
“ओके देन लेट्स मेक अ गेस । तेरो बिचारमा सौरभ कस्तो छ होला ? ”
“अँ, साच्ची कस्तो छ होला है ?” सिखाले काली केटीको प्रश्नलाई अझ स्ट्रेस गरिदिई । 
“खै मलाई के थाहा ?” च्याठ्ठिएझै गरी लजाई रक्षा । 
“जस्ट मेक अ गेस यार” हठ छोडिन काली केटीले । 
“अभियोस्ली यु मस्ट ह्याभ प्रेडिक्ट समलाईक .....” सिखाले सही थपी ।
“प्लिज यार, लेट अस नो योर ड्रिमब्याई । भन त सही, तेरो बिचारमा कस्तो चै होला तेरो सौरभ ?”  
दुईटीको जिद्दीको अगाडी जोर नचलेपछि लजाउदै शिर झुकाएर रक्षा बोली “अग्लो शरीर, चौडा छाती, ह्यान्सी होला । हेल्मेट टेबलमा राख्दै मे आई जोईन विथ यु भन्दै आईपुग्ला सायद ।” 
मलाई कफी सर्किएछ । बेस्सरी खोकी लाग्यो, आँसु नै आउला जसरी । तर यसो भनिरहँदा रक्षा अलिक खुसी भएकी थिई, एकैछिन मात्र भए पनि फोन डायल गर्न बिर्सिएकी थिई सायद । म खोकेपछि भने रक्षाले ओठ चोसो पारेर रिसाउदै मलाई हेरी । आँखा ठूलो पारेर तर्दाखेरी उसले मस्कारा पोतेर माथि उचालेकी परेला अझै माथि आकाशतर्फ उचालिएथ्यो । चोसो परेको उसको ओठ भने लिपिस्टिकले टम्माएको थियो । म एकोहोरो चुरोट पिउन थाले । रक्षाले एकदिन फोनमा भनेकी थिई ‘आई हेट स्मोकर्स’, तर मलाई त्यसबखत चुरोट पिउदा छुट्टै आनन्द आईरहेथ्यो । 
मैले एस्ट्रे छेउको कपबाट टिस्स्यु पेपर उठाए अनि लेख्न थाले :
‘सरी रक्षा !
आई डन्ट नो, तिमीले मलाई के सोच्छौ ? किन किन मलाई तिम्रो अगाडी पर्नै मन लागेन । मे बि ड्याट आई एम ईन्टायर्ली डिफरेन्ट फ्रम ह्वाट यु थिङ्क अफ मि । मे बि डिफरेन्ट फ्रम योर ईम्याजिनेसन टु । सायद परिवर्तन आवश्यक छ, कि तिमीमा कि ममा । हुनत फेरी पनि हामी दुवै परिवर्तन हुने छैनौ किनकी हामी दुवै सोच्छौ कि ह्वाट वी आर द्याट ईज द बेस्ट वी कुड बि ! सपना र यथार्थहरु प्राय उस्तै बिरलै हुन्छन् । सायद त्यसैले पनि यहाँ आएर तिमीलाई नभेटी फर्किए । आई डु होप यु विल एस्क्युज मी । नभेटी गएकोमा माफी चाहन्छु । लास्ट्ली, आई एम सो सरी टु मेक यु अवेट सो लङ्ग । 
सौरभ ।’ 
थोरै नेपाली, अनि धेरै अङ्ग्रेजी लेखेर पत्र टुङ्ग्याए । त्यो पहेलो टिस्स्यु पेपरमा त्यो भन्दा बढी अट्दोहो त म अझै बढी लेख्थे होला । त्यसपछि मैले चुरोट एस्ट्रेमा निभाउदै विलको अर्डर गरे । रु ५५ को विल माथि मैले रु १०० को नोट राखिदिए अनि त्यो वेटरलाई खुसुक्क भने, “यो पेपर त्यो ग्रन्ज प्यान्टमाथि हरियो टि – सर्ट लगाउने केटीलाई उनीहरु जानेबेलामा दिनु अनि मैले दिएको चै नभन्नु नि फेरी । बाँकी पैसा तिमीलाई टिप्स भयो ।” खुसी हुदै र अलि बढी अचम्मित हुदै उसले हुन्छ सुचकको टाउको हल्लायो । म निस्किने बेला बब मार्ली रेगे म्युजिकमा ‘नो वुमन नो क्राई’ चिच्याउदै थिए । म पनि लय मिलाउदै त्यही गीत मधुरो स्वरमा गुन्गाउन थाले । 
——
सडकपेटीमा निस्किएर घडी हेरे । पाँच बज्न पाँचै मिनेट मात्र बाँकी थियो । स्कूल कलेजबाट फर्कनेहरुको, जागिर खाएर घर फिरेकाहरुको, नाईट ड्युटीका मा जानेहरुको, तरकारी बेच्नेहरुको अनि तरकारी किन्नेहरुको घुईचो लागिसकेको थियो । घाम डाँडापारी छिमल्लिसकेको थियो । म हतारहतार एउटा गाडीमा चढे । चढे पनि के भन्नु ? झुन्डिए । पातलो मान्छे, बल्ल तल्ल अलि भित्र छिरे अनि कोच्चिएर उभिईरहे । खुट्टो राख्ने ठाउँ पनि मुस्किलले पाएको थिए । त्यतिखेर मोवाईल साईलेन्ट मोडबाट हटाउन मन त लागेको थियो तर त्यो भीडमा चट्पटाउन पनि नसकेकाले त्यतातर्फ ध्यान नै दिन मन लागेन । सायद त्यतिखेरै मैले एउटा अनिश्चित निर्णय गरे ‘आजै गएर बा’लाई भन्नुपर्ला । साँच्चै एउटा बाईक त चाहिन्छ क्यारे ।’  


No comments:

Post a Comment