Sunday, October 1, 2023

तीन फरक डाक्टर र एमआरआई

 एउटालाई जाँच गराएको ५७५ रुपैयाँ, अर्कोको  ८२५ रुपैयाँ र अर्कोको  १००० रुपैयाँ ! उनीहरुले बताउने समाधान फरक-फरक र एमआरआईको धन्दा !

डाक्टर १ :
पहिलो डाक्टरले मलाई एमआरआई गराउनको लागि छुटसहित रु ६००० मा एमआरआई स्क्रिनिङ  गराइदिनुभयो।  भन्नुभयो - 'नशामा केही समस्या छैन। एक्सरसाइज गर्नुहोस्। बिस्तारै ठीक हुन्छ।'

तर, दुखाइ कम भएन। दोश्रोपटक उहाँसँगै सल्लाह गरेँ। 'खास समस्या छैन, दुईवटा औषधि खानुस्, ठीक हुन्छ' भन्नुभयो। औषधि लेखिदिनुभयो। तर दुखाई २० को १९ भएन। 
डाक्टर २ :
त्यसपछि डाक्टर परिवर्तन गरौँ कि भन्ने लाग्यो, अर्को डाक्टरकोमा गएँ। उहाँलाई त नमस्ते गर्नै ८२५ रुपैयाँ लाग्यो। १५ मिनेटजति समय दिएर कुरा गर्नुभयो। टाउको दुईचार ठाउँ घुमाउनुभयो, कता-कता दुख्छ सोध्नुभयो। एमआरआई हेर्नुभयो र भन्नुभयो - 'यो एमआरआईको काम नै छैन। तपाईंको सतप्रतिशत नशा च्यापिएको छ। तीन ठाँउमा भन्दा बढी नशा च्यापिएको छ, अर्को एमआरआई गर्नुस्। बरु म तपाईंलाई छुट गराइदिन्छु।' 

उहाँले २५ प्रतिशत छुटसहित रु ९००० मा एमआरआई  गरिदिनुभयो। नयाँ एमआरआई नहेरी उपचार नै नथाल्ने पनि भनिदिनुभयो।

डाक्टर ३ :
मलाई एमआरआईको धन्दा बारे थोरबहुत त थाहा थियो तर यतिसम्म थाहा थिएन। मलाई तत्काल एमआरआई गराइहालम् जस्तो लागेन। साथीहरु र चिनजानका डाक्टरसँग कन्सल्ट गर्दै अब अर्को डाक्टर खोज्नतिर लागेँ। बानेश्वरको अर्को हस्पिटल पुगेँ। 

डाक्टर २५ मिनेट ढिलो आइपुग्नुभयो। पहिल्यै समय लिएको थिएँ। उहाँलाई नमस्ते गर्न १००० रुपैयाँ लाग्यो। डाक्टर मेरो नाम लिँदै प्रतिक्षालयमै आउनुभयो। ४५ मिनेट लगभग कुरा गर्नुभयो। चेकजाँच गर्नुभयो। मेरो समस्याबारे कम्प्युटर खोलेर त्यहाँबाट देखाउँदै/पढाउँदै बताउनुभयो। धेरै कुरा तपाईंको रोगबारे यो साइटमा भेटिन्छ भनेर साइट पनि देखाउनुभयो। पढ्न भन्नुभयो । 

पुरानो एमआरआई हेर्नुभयो। र 'सी फाइभ नशा च्यापिएको जस्तो देखिन्छ, डराउनुपर्दैन थप केही औषधि लेखिदिन्छु' भन्नुभयो। तीनवटा औषधि थपिदिनुभयो र  फिजोयोथेरापी गर्न सुझाउभयो। मलाई पायक पर्ने स्थान छेउकै अस्पतालमध्येमा यो  अलिक ठीक छ, त्यहाँ जानु भन्नुभयो। केही अप्ठ्यारो परे फोन गर्नु भनेर व्यक्तिगत नम्बर नै दिनुभयो। 

मैले फिजियोथेरापी गराउने निर्णय गरेँ। बेलुकी फिजियोथेरापीमा जाँदा पनि सबै रिपोर्ट लिएर गएँ। फिजियोथेरापीमा हुने डाक्टर भन्नुहुन्छ,  'अर्को एमआरआई गर्नुपर्ने जरुरत छैन। तपाईंले ठीक ठाँउमा राम्रो एमआरआई गर्नुभएको छ। केही दिन फिजियो गरिहेरम्, अनि अपरेसन गर्ने नगर्ने वा के गर्ने भन्ने बारे बिचार गरौँला।'

अब मेरो कुरा,

१. मेडिकल माफिया को हो बताउन सक्दिनँ। तर सबैका एक से एक धन्दा छन्।

२. एमआरआईको नाममा आफूले भनेकै ठाँउमात्र ठीक हुने, अर्को ठाउँ ठीक नहुने भन्ने खालको सोचाई माफियातन्त्रले नै जेलिएको कुरा हो। सरकारले यसबारे स्पष्ट नीति दिनुपर्छ। 

३. ट्रमामा एमआरआई गराउन समय पर्खनुपर्छ। सिभिलको एमआरआईको भर पर्न हुँदैन भनेर धेरै डाक्टरले भनेको सुनेको छु। उसो त सिभिलको एमआरआई बिग्रेकै १ हप्ता धेरै भयो। सरकारीको बिग्रिरहने, निजीको चुस्त दुरुस्त भइरहने, यो कसरी सम्भव हुन्छ? नियमन हुनुपर्छ।

४. छुटमा एमआरआई गराउन मिल्छ भने त्यही रेट मा सबैको लागि एमआरआई किन उपलब्ध हुँदैन? एमआरआई गरिने सबैतिरको दर एउटै बनाइनुपर्छ। सबैतिरको एमआरआई मेसिन समयअनुसार उच्चस्तरीय छ वा  छैन नियमन गरिनुपर्छ।

५. कति डाक्टरले त एमआरआई गराईने ठाँउमा चिनेजानेको कोही छ भने सित्तैमा पनि गरिदिन्छन्, कोसिस गर्नुस् नेको पनि सुन्छु। यसो भनिरहँदा दिमागमा आएको एउटै सोचाई - खास एमआरआई गरिदा पर्ने रकम कति हो? कति चाहिँ बिरामीलाई मार नपर्ने  दर हो? 

६. कतिपय स्थान त एमआरआईको एउटै मेसिन मात्र राखेर एमआरआईकै धन्दा गरिबसेका हुँदा रहेछन्। सोच्नुस्, एउटा एमआरआई मेसिन किनेर, एउटा फ्ल्याट वा घर भाडामा लिएर यिनिहरुले धानेको धन्दामा कतिसम्म घोटाला छ होला? अझ जसले प्रेस्काइब गरिदिएको छ, त्यो डाक्टरलाई पनि कम/बढी त हातमा हाल्नैपर्छ होला। अनि ती काम गर्नेहरु लाई दिईने तलब, घरभाडा ... अनि हुने नाफा ... त्यो पनि जम्मा एउटा मेसिनबाट हुने आम्दानी।

र अन्तिममा,
७. म यसपटकको भोट बुँदागत रुपमा यो-यो तरिकाले शिक्षा/स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछु, शिक्षा/स्वास्थ्य निशुल्क गराउछु र शिक्षा/स्वास्थ्यक्षेत्रको निजिकरणमाथी धावा बोल्छु र यसमा रहेको माफियातन्त्र हटाउँछु भन्नेलाई। घोषणापत्र त जरुर पढ्छु नै।

Link : https://swasthyakhabar.com/story/47778

No comments:

Post a Comment