तिम्रो हातमा छ लाठी ।
कम्मरमा छ बन्दुक ।
खुट्टामा छ बुटजुत्ता ।
त्यही जुत्ताको तलुवामुनि
सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व ।
लाठी तिम्रै,
बन्दुक तिम्रै,
हतकडी तिम्रै,
न्यायलय तिम्रो,
सत्ता पनि तिम्रै,
म त केवल एक भोट न हुंँ ।
म त केवल एक सास न हुंँ ।
मलाई थाहा छ
मेरो सास जत्तिखेरै जान सक्छ ।
म कतै झडपहरूमा मारिन सक्छु ।
ग्याङ लिडर बताइन सक्छु ।
वा ड्रग डिलर ।
वा कुनै आतंककारी ।
म, जत्तिबेलै मारिन सक्छु ।
मेरो सास - तिम्रो लागि - मात्र एक गोली न हो ।
धन्न हावाको रंग हुँदैन र मात्रै,
नत्र त तिमीले मेरो सासको रंग पनि कालै देख्थ्यौ होला ।
हेर त :
कालै छ - सडकको रङ पनि ।
र अहिले त्यो सडकभरि छन् कालै खुट्टाहरू ।
उचालिरहेछन् आफ्ना कालै मुठ्ठीहरू ।
ईन्कलाव - जिन्दावाद ।
#ICantBreathe
Published on : https://nepalmag.com.np/literature/2020/06/05/1591344079
No comments:
Post a Comment