किन मेरो मात्रै हातको घडीमा
उल्टो उल्टो चलिरहन्छ जिन्दगीको समय ?
कसैले त भनोस् मलाई
कि कस्तो हुन्छ समयको रंग ?
उड्दैउड्दै बिद्यालय गएका चराजस्ता नानीहरु
फर्कि आउँछन् उदासउदास अनुहार लिएर
कस्तो हुन्छ होला तिनीहरुले हरेक दिन
स्कूलबाट झोलाभरिभरि बोकेर फर्कने कखराको रंग ?
कस्तो हुन्छ उमेरको रंग ?
उमेरसँगै बिलाईगएका
कल्कलाउदा बैशका रहरहरुको रंग पो कस्तो हुन्छ ?
आनो हराईरहेको छोरो फर्किआउने गोरेटोमा
आँखा बिछ्याईरहेका
बृद्ध बाको आँखामुनिको छालाकोरंग के हो ?
उसो त लालीगुँरासको पो रंग कस्तो हुन्छ होला ?
त्यै गुँरास शिरमा सिउरेकी
नवयौवनाको गालाको रंग चैकस्तो हुन्छ ?
कस्तो हुन्छ सिन्दुर उजाडिएकी
विधवाको कलेटी ओठहरुले
गाउने गीतको रंग ?
अनि हामीले हर दिन देख्ने गरेको सपनाको रंग चै?
कोही त भनिदेउ मलाई कि कस्तो छ हाम्रो हृदयको रंग ?
भर्खरै ढुन्मुनिदै भट्टीबाट निस्किएका
एक हुल नेताजीहरुको आँखाको रंग चै कस्तो छ ?
किन कसैले मलाई उत्तर दिँदैन हँ ?
कि कस्तो हुन्छ
हराएका सपनाहरुको रंग ?
धन्य, हामी सबैलाई थाहा छ,
हाम्रो देशको झण्डाको
भित्ताभरि पोतिएको रंग रातो छ
र नीलो छ
हाम्रो झण्डाको किनार ।
This poem was used in Drama "Aadha Satya", A theatrical play based on Disappeared During People's Revolution.
You can find the Full Script over Here :
https://ia802807.us.archive.org/28/items/reflectionweb/Aadha%20Satya%20Nepali.pdf
No comments:
Post a Comment